After SEE Portal

उपकुलपति छनोटको पहिलो विज्ञापनदेखि सर्टलिष्टसम्म चौतर्फी विरोध

Bridge Course

त्रिभुवन विश्वविद्यालयको गत कार्तिक १६ गतेदेखि रिक्त रहेको उपकुलपति नियुक्तिका लागि छनोट समितिले गरेको विज्ञापन सुरुदेखि नै विवादको केन्द्रविन्दुमा पर्यो । पहिलो सार्वजनिक गरिएको विज्ञापनको सर्तमा उल्लेख गरिएको वुँदा नं. ङ को ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यहोरा खुलेको विवरण तथा प्रमाणित प्रतिलिपि’ हुनु पर्ने प्रावधानको विरोध भएपछि कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि पुस २० गते गरिएको विज्ञापन पुस २१ गते रद्द गर्दै पुनः २३ गते दोस्रो विज्ञापन गर्यो । सर्च कमिटिले नयाँ कार्यविधि सहित नयाँ सूचना जारी गर्यो ।

नयाँ सूचनाको निर्धारित समयमा ४३ जनाले आवेदन  दिए   । आवेदन दिनेमा पूर्व उपकुलपति, निमित्त उपकुलपति, अन्य विश्वविद्यालयका उपकुलपति, डिन लगायतले आवेदन दिए ।

आवेदन दिएको एक महिनापछि सर्च कमिटिले सर्टलिष्ट सार्वजनिक गर्यो । समितिले सर्टलिष्टमा कुशुम शाक्य, केशरजङ्ग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद वेलबासे, प्रकाश घिमिरेको नाम सार्वजनिक गरिएको छ । त्यस्तै भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापाको नाम सार्वजनिक गरिएको छ ।

संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट समितिका संयोजकसंग आज ११ बजे छलफल गर्ने भएको छ । समितिले उपकुलपति नियुक्ति प्रक्रियालगायतका विषयमा शिक्षा,विज्ञान तथा प्रविधि  मन्त्रालयसंग  छलफल गर्ने भएको छ ।

को छन् ? सर्टलिष्टमा परेका !

सर्टलिष्टमा छानिएका त्रिविका पूर्व उपकुलपति प्रा. तीर्थ खनियाँलाई पहिलो पटक उपकुलपति बन्दाखेरी नै बौद्धिक चोरीको आरोप लागेको थियो । खनियाँले २००४ मा इन्टरनेट टीएइसएल जर्नलमा लेखेको ‘इएफएल कक्षा कोठामा प्रामाणिक सामग्रीको प्रयोग’ शीर्षकको लेखको अन्तिम भागमा फेरिट किलिक्कियाको लेखबाट हुबहु कपी पेस्ट गरेको आरोप लागेको थियो ।

उक्त विषयमा आरोप प्रमाणित नभएको भन्दै उनी पन्छिदै आएका छन् । खनियाँ बौद्धिक चोरीमा मात्र होइन अर्काको भाषणा सारेर पढ्नमा पनि चर्चित मानिन्छन् । उनले ४३ औं दीक्षान्त समारोहमा समेत पूर्व उपकुलपतिको भाषणा हुबहु पढेर सुनाएको प्राध्यापकहरू बताउँछन् ।

खनियाँ २०७२ भदौमा उपकुलपतिका रुपमा नियुक्त भएर २०७६ भदौ सम्म काम गरेका थिए । तत्कालीन प्रधानमन्त्री तथा कुलपति सुशील कोइरालाले काङ्ग्रेस कोटाबाट उपकुलपतिमा नियुक्त गरेका थिए ।  उनी काङ्ग्रेसको महासमिति सदस्य र चितवनबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका लागि सिफारिसमा परेका व्यक्ति पनि हुन् । सर्टलिस्टमा परेकामध्ये ६–६ जना काङ्ग्रेस र माओवादी तथा एक–एक जना एकीकृत समाजवादी र एमाले निकट रहेको चर्चा सामाजिक सञ्जालमा तीव्र रुपमा चलिरहेको छ । काङ्ग्रेसका खनियालाई उपकुलपति नियुक्त गर्न नसकिएका माओवादी निकट बनाउन 

उनले आफ्नो कार्यकालमा दिएका कलेजको सम्बन्धन र विषय थप तथा कार्यक्रम विस्तार पनि विवादित नै छ ।

खनियाँका विषयमा प्रतिनिधि सभाको शिक्षा समिति तथा राष्ट्रिय सभाका सदस्यले सदनमा चर्को विरोध गरिरहेका छन् ।

छनोट समितिले सार्वजनिक गरेको सर्टलिष्टमा मानविकी संकायकी डिन कुशुम शाक्य, शिक्षा शास्त्र संकायकाडिन चित्रबहादुर बुढाथोकी पनि रहेका छन् । त्यस्तै त्रिवि इतिहासका प्राध्यापक ज्ञानेन्द्र प्रसाद पौड्याल,कीर्तिपुर क्याम्पसका पूर्व प्रमुख गोविन्द सुवेदी, पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति केशरजंग बराल रहेका छन् ।

उनीहरूले पनि आफ्नो कार्यकालमा उल्लेखनीय कार्य गर्न नसकेको आवाज सामाजिक सञ्जालमा चर्को रुपमा उठिरहेको छ ।

त्यसैगरी छनोटमा परेका वर्तमान निमित्त उपकुलपति पनि विवादबाट अछुतो हुन सकेका छैनन् । उनलाई शिक्षाध्यक्ष भएको समयमा २०७७ मंसिरको तेस्रो हप्ता राष्ट्रिय सूचना आयोगले सूचना लुकाउने कार्यमा संलग्न भएको पुष्टी गर्दै पाँचहजार जरिमाना तोकेको थियो भने । अहिलो आफ्नो निमित्त कार्यकालमा समेत उनी विवादमा मुछिएका छन् । उनले दलको भागबण्डामा पदाधिकारी समेत नियुक्त गरेका छन् ।

छनोट समितिले सार्वजनिक गरेको सर्टलिष्टमा परेका अधिकांश प्राध्यापकहरू मुख्य राजनैतिक दलको जिम्मेबार पदमा कार्यरतरहेका छन् । छनोट सम्बन्धी कार्यविधिले उपकुलपति हुन दलको सदस्य त्याग्नु पर्ने प्रँवधान राखेको छ ।

पूर्व उपकुलपति खनियाँलाई स्थानीय तहको निर्वाचनमा आफ्नै दलको उम्मेदवारलाई हराएको भन्दै काङ्ग्रेस केन्द्रीय समितिमा उजुरी परेको थियो । समितिले सार्वजनिक गरेको सर्टलिस्टमा रसायन शास्त्र विभागका पूर्व प्रमुख रामचन्द्र बस्नेत, माइक्रोबाइलोजी विभागका पूर्वप्रमुख प्रकाश घिमिरे, व्यवस्थापन विभागका पूर्व प्रमुख भोजराज अर्याल, केन्द्रीय गणित विभागका प्रमुख टंकनाथ धमला, पूर्व सह परीक्षा नियन्त्रक नारायण प्रसाद वेलवासे, जनसङ्ख्या विषयका प्राध्यापक महेन्द्र प्रसाद शर्मा रहेका छन् । अर्थशास्त्रका प्राध्यापक सूर्यबहादुर थापा उपकुलपति प्रतिस्पर्धाको सर्ट लिस्टमा छन् ।

A Levels MA
Thuprai - Books and E-books