कक्षा ११, १२ मा गणित अनिवार्य, कक्षा ६ –८ को पाठ्यक्रम २०७८ देखि कार्यान्वयन हुने (साप्ताहिक शैक्षिक गतिविधि माघ १६ – २३)

नेपालीमा एउटा चर्चित उखान छ, ‘आफ्नै हात जगन्नाथ’ । यही उखानलाई तरितार्थ गर्दै विद्यालयले कक्षा १२ को आन्तरिक तथा बाह्य मूल्याङ्कन गरेको समाचारले नेपालको भावी शिक्षा प्रणाली तथा गुणस्तरमा प्रश्न चिह्न उब्जाएको समाचार यो हप्ता सञ्चार माध्यमले प्राथमिकताका साथ छापे ।

गत मंसिरको ८ गते देखि १६ गते सम्म सञ्चालन गरिएको सो परीक्षामा ३० पूर्णाङ्कमा प्राप्ताङ्क चाहिँ ६० दिएको, नेपाली, अङ्ग्रेजी जस्ता भाषामा पनि सतप्रतिशत नम्बर विद्यालयले दिएको समाचार बाहिरियो ।

राष्ट्रिय परीक्षा बोर्डले यसै हप्ता कक्षा १२ को  नतिजा सार्वजनिक गर्यो । नियमित र आंशिक गरी कक्षा १२ मा कुल चार लाख ३३ हजार २७१ परीक्षार्थी सो परीक्षामा सामेल थिए । कक्षा १२ को नतिजा कै इतिहासमा पहिलो पटक ४७ जना विद्यार्थीले जीपीए ४ मा ४ नै ल्याए । सो नतिजा अनुसार जीपीए ३.६१ देखि ४.० ल्याउनेहरु छ हजार ९१६ जना रहेका छन् । त्यस्तै जीपीए ३.२१ देखि ३.६० सम्म ३८ हजार ४८० जनाले, जीपीए २.८१ देखि ३.२० सम्म ७६ हजार ८४१ जनाले, जीपीए २.४१ देखि २.८० सम्म एक लाख ९३ हजार १२ जनाले नतिजा प्राप्त गरेका छन् ।

यसैगरी जीपीए २.०१ देखि २.४० सम्म ५२ हजार ४२७ जनाले, जीपीए १.६१ देखि २.०० सम्म सात हजार १६४ जनाले, जीपीए १.२१ देखि १.६० सम्म ३३३ जनाले, जीपीए ०.८१ देखि १.२० सम्म चार जनाले र जीपीए शून्यदेखि ०.८० सम्म १८ हजार ८३९ जनाले नतिजा प्राप्त गरेका छन् ।

सैद्धान्तिक विषयमा इ ग्रेड ल्याएका विद्यार्थीलाई समेत प्रयोगात्मकमा विद्यालयले पूर्णाङ्कको सतप्रतिशत नम्बर दिएको विषयले शिक्षाको गुणस्तरमा पार्ने दुरगामी असरका विषयमा यो हप्ता भरिनै बहस चल्यो ।

यो हप्ता भरी नै नतिजा सहजरुपले हेर्न नपाएपछि परीक्षार्थी, अभिभावक र विद्यालयले आपूलाई तनाव भएको समाचार सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट पोखि नै रहे ।

त्रिविको शैक्षिक सत्र परिवर्तन

कोरोना संक्रमणको त्रासका कारण नेपालको शैक्षिक क्षेत्रलाई प्रतिकूल प्रभाव पार्यो । यसको प्रभाव स्वरुप त्रिभुवन विश्वविद्यालयले आफ्नो स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक सत्रमा परिवर्तन गर्ने निष्कर्षमा पुगेको छ ।

विश्वविद्यालय स्नातक तहको शैक्षिकसत्र फागुन देखि र स्नातकोत्तर तहको नयाँ शैक्षिकसत्र वैशाख देखि सुरु गर्ने तयारीम जुटेको छ । कोरोनाका कारण विश्वविद्यालयले १० महिनाभन्दा बढी समय भौतिक कक्षा, परीक्षा सञ्चालन गर्न नसकेपछि विश्वविद्यालय शैक्षिक सत्र परिवर्तन गर्ने तयारीमा जुटेको हो ।

विश्वविद्यालयका अनुसार अब स्नातक तहको शैक्षिक सत्र फागुन महिनाबाट सुरु गरिने छ । यसअघि मङ्सिर महिनाबाट स्नातक तहको पठनपाठन सुरु गर्ने विश्वविद्यालयको नियम रहे पनि तीन महिनापछाडि सार्नुपर्ने अवस्था देखिएको विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा।डा। शिवलाल भुसालले बताए ।

विश्वविद्यालय मातहतका अध्ययन संस्थान तथा सङ्कायहरूले फागुनलाई नै आधार मानेर विद्यार्थी भर्ना कार्यक्रम प्रकाशित गरिरहेका छन् । नियमित कक्षा १० महिना सकेर १२ महिना भित्र ववार्षिक परीक्षा सक्ने विश्वविद्यालयको तयारी रहेको छ।

विद्यालयको हरीविजोक

गत भदौ १७ गते बाढीसंगै बगेर गएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुप्राङस्थित जनचेतना आधारभूत विद्यालयमा बालबालिका धुलो र खाली चउर तथा बाँजो खेतमा बसेर पढ्दै गरेको समाचार बाहिरिएको छ । विद्यालय भवन नबन्दा आधी, हुरी, बतास सहति आफ्नो स्वास्थ्यलाई नै चुनौती दिँदै बालविकास देखि कक्षा तीन सम्म १५० जना बालबालिकालाई पढाउँदै आएको विद्यालयले जानकारी दियो ।

गणित अनिवार्य

लामो समय विद्यालय तथा बालबालिकालाई मानसिक रुपमा तनाव दिँदै आएको कक्षा ११–१२ को अनिवार्य विषयको रुपमा गणितलाई राख्नुपर्छ कि पर्दैन भन्ने विवादलाई राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले यो हप्ता नै निवारण गरिदिएको छ ।

अब कक्षा ११ र १२ मा बालबालिकाले गणितलाई पनि अनिवार्य विषयका रुपमा पढ्न पाउने भएका छन् । बालबालिकाले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितमध्ये कुनै एउटा विषय छनोट गर्न पाउने गरी परिषद्ले गरेको निर्णयलाई मन्त्री परिषद्ले बुधबार लामोहोर लगाइ दिएको छ ।

मन्त्री परिषद्ले यसका साथै विद्यार्थीले आफ्नो सिकाइको अवसर वृद्धि गर्ने उद्देश्यले थप अध्ययन गर्न चाहेमा ऐच्छिक विषय नलिएको समूहबाट थप ऐच्छिक विषय अध्ययन गर्न सक्ने छ तर त्यस्तो विषय अतिरिक्त क्रेडिट विषयका रूपमा रहने निर्णय गरेको छ ।

सातै प्रदेशका २८ ओटा विद्यालयमा परीक्षण

सातै प्रदेशका २८ ओटा विद्यालयमा कक्षा ६—८ का पाठ्त्रयम परीक्षण गरिने भएको छ ।

शैक्षिक वर्ष २०७६ मा परीक्षणका लागि स्वीकृत भएका कक्षा ६—८ का पाठ्यक्रम शैक्षिक वर्ष २०७७ मा सातै प्रदेशका २८ ओटा विद्यालयमा परीक्षण प्रयोग गरिने मन्त्रीपरिषदेले यो हप्ता निर्णय गरेको छ ।

सरोकारवालाहरूबाट प्राप्त सुझावहरू समेतलाई समेटेर आधारभूत शिक्षा (कक्षा ६—८) पाठ्क्रम, २०७७ स्वीकृत गरी शैक्षिक वर्ष २०७८ बाट क्रमशः देशभर लागु गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दियो ।

परिषदले बालविकास तथा शिक्षाको पाठ्त्रयम (२०७७) लाई  भाषिक तथा प्राविधिक सम्पादन गर्ने गरी स्वीकृत गर्ने  निर्णय गरेको हो ।

Thuprai - Books and E-books