पूर्णाङ्क ३० प्राप्ताङ्क ६०, विद्यालयको भद्रगोल विवरण

गत मंसिर ९ गतेदेखि १६ गते सम्म विद्यालयले होम सेन्टरमा सञ्चालन गरेको कक्षा १२ को प्राप्ताङ्क विवरणमा विद्यालयले गम्भीर त्रुटि गरेको फेला परेको छ । गत वर्ष सम्म राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्दै आएको कक्षा  १२ को परीक्षा  यो वर्ष कोरोनाका कारण विद्यालयलाई नै सञ्चालन तथा उत्तरपुस्तिका  परीक्षण  गर्ने जिम्मेबारी दिएको थियो । विद्यालयले आफैले सञ्चालन गरेको परीक्षाको नतिजा विवरण बोर्डमा  पठाउँदा  गम्भीर त्रुटि गरेका  हुन् ।

अधिकांश विषयमा शिक्षकहरुले पूर्णाङ्क भन्दा प्राप्ताङ्क बढी दिएको तथ्य फेला परेको छ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को विद्यार्थी मूल्याङ्कन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरणसम्बन्धी कार्यविधि, २०७७ ले व्यवस्था गरे अनुसार सय पूर्णाङ्कलाई कक्षा ११ को परीक्षामा प्राप्त गरेको अङ्क, विद्यालयद्वारा कक्षा १२ मा गरिएको आन्तरिक मूल्याङ्कनको अङ्क, बोर्डद्वारा विद्यालय मार्फत लिइने कक्षा १२ को परीक्षामा प्राप्त अङ्क तथा प्रयोगात्मक परीक्षा हुने विषयको हकमा सो समेतलाई समावेश गरी सतप्रतिशत बनाई परीक्षा सञ्चालन गरेको थियो ।

विषय अनुसार ४० प्रतिशत विद्यालयले सञ्चालन गरेको परीक्षामा ३० पूर्णाङ्कको परीक्षामा ६० नम्बर प्राप्ताङ्क दिएर विद्यालयले विवरण पठाएको बोर्डले जानकारी दियो । कतिपय विद्यालयले शतप्रतिशत प्राप्ताङ्क दिएको र कतिले पूर्णाङ्क भन्दा दोब्बर नम्बर दिएको फेला परेको हुँदा ती विषय शिक्षकलाई बोर्डमा नै झिकाइ नतिजा सञ्याउनु पर्दा नतिजा प्रकाशनमा ढिलाई भएको बोर्डले जानकारी दियो ।अङ्ग्रेजी, नेपालीमा पनि विद्यालयले शतप्रतिशत नम्बर दिएको बोर्डले जानकारी दियो । उत्तरपुस्तिकामा दिएको अंक र मार्क्स फाइलमा चढाएको अंक नमिल्दो विद्यालय पठाए ।

विद्यालयले पठाएको सबै त्रुटिलाई सच्याएर डाटा इन्ट्रीको काम सकिएको र केही विवरणको रुजु गर्ने काम बाँकी रहेको हुँदा अबको एक हप्ता भित्रै नतिजा प्रकाशन गरिने बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बताए ।

विवरण सही नहुँदा एक जना प्राविधिकले दैनिक १० हजारभन्दा बढी डाटा इन्ट्री गर्न नसकेका कारण नतिजा अपेक्षित समयमा प्रकाशन गर्न नसकिएको हो ।

बोर्डले गत पुसको १५ गतेभित्र नतिजा सार्वजनिक गर्नेगरी काम थालेको भएपनि विद्यालयको लापरबाहीका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्डले जानकारी दियो । विश्वविद्यालयको वार्षिक क्यालेण्डरलाई मध्यनजर गर्दै बोर्डले निर्धारित समयमा नतिजा प्रकाशन गर्ने गरी काम थालेको थियो । विद्यालयले जथाभावी उत्तरपुस्तिका र अङ्क विवरण पठाइदिँदा ढिला हुन गएको छ । “विद्यालयले उत्तरपुस्तिका परीक्षण गरेर क्रमवद्धरुपमा पठाएनन्” अध्यक्ष पौडेलले भने, “जथाभावी रुपमा मार्क इन्ट्री गरेर पठाए ,भद्रगोल गरेर पठाए । केन्द्राध्यक्षहरुको कमनसेन्स पनि देखिएन । हातैले मार्क इन्ट्री गरेर मनपर्दीढँगमा पठाए । जबकी उनीहरुलाई हामीले तालिम दिएका थियौँ र यस बारेमा वेबसाइटमा पनि जानकारी राखेका छौँ ।”

यो वर्ष नियमित र आंशिक गरी कुल ४ लाख ३ हजार १८० जना विद्यार्थी सो परीक्षामा सम्मिलित थिए । देशभरिका ४ हजार १०५ विद्यालयलाई नै परीक्षा केन्द्र (होम सेन्टर)  तोकिएको थियो । १७ हजार ९०८ विद्यार्थीले आफूले अध्ययन गरेको विद्यालय भन्दा फरक जिल्लाका आफ्नो पायक पर्ने विद्यालयबाट परीक्षा दिएका थिए ।

बोर्डले साविकको कक्षा १२ को विशिष्टीकरण तालिकालाई निष्कृय राखी कार्यविधि अनुसार सैद्धान्तिकतर्फको अङ्कभारलाई सत प्रतिशत मानी सोको ४० प्रतिशत कायम गरेर परीक्षा सञ्चालन गरेको थियो । सो परीक्षामा ४० प्रतिशत अंंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने व्यवस्था कार्यविधिले गरेको छ ।

Thuprai - Books and E-books