A Levels MA

छैन भवन, खेतमै बसेर पढ्छन् बालबालिका

बस्तीदेखि केही तलको फाँटमा रंगीन बगौचा जस्तै थियो । ग्रामीण क्षेत्रका ससाना नानीबाबुहरु दिउसो पढ्न आउँथे । विद्यार्थी खचाखच थिए । कोही गाउँ कै थिए । कोही आसपासका गाउँबाट आधा घण्टा त कोही एक घण्टा हिडेर विद्यालयमा आउथे तर अहिले विद्यालय भवन छैन । कोरोना संक्रमणको त्रासका कारण लामो समय विद्यालय बन्द रह्यो । अहिले खुलेको छ । भवन छैन । गत भदौ १७ गते मध्यरातमा आएको बाढीले विद्यालयाको अवशेष पनि बाँकी राखेन । नत हिजोका विद्यालयका गतिविधिको अभिलेख नै बाँकी राख्यो । अहिले खेतमा राखेर ससाना नानीबाबुहरुलाई पढाउन बाध्य छ ।

यो कथा हो बागलुङको ढोरपाटन नगरपालिका–९ सुप्राङस्थित जनचेतना आधारभूत विद्यालयको । बालविकासदेखि कक्षा तीनसम्म पठनपाठन हुने सो विद्यालयमा अहिले १५० जना विद्यार्थी अध्ययनरत छन् । तर भवन, फनिर्चर, रजिस्टर केही नभएका कारण पुनः रेकर्ड बनाएर खेतमा पठनपाठन गराउँदै आएको प्रधानाध्यापक रामबहादुर घर्तीमगरले बताए । ‘भदौ १७ गते आएको बाढीले विद्यालयलाई बगरमा रुपान्तरण गर्यो, अवशेष पनि बाँकि राखेन, दुई जना हाम्रा बालबालिकालाई पनि बगाएर लग्यो’ उनले भने ।

May be an image of one or more people and outdoors
फोटोः रामबहादुर थापामगर

कोरोना संक्रमणको त्रासका कारण लामो विद्यालय बन्द रह्यो । त्यो समयमा भवन बन्न सकेन । सरकारको निर्देशन अनुरुप सबै विद्यालय खुले । त्यही क्रममा जनचेतना पनि खुल्यो । बालबालिका पनि विद्यालय आए । बस्ने फर्निचर तथा कक्षाकोठा नभएका कारण स्थानीय खाली खेतमा पढाउन बाध्य भएको प्रधानाध्यापक मगरले बताए ।

तत्कालीन अवस्थामा विद्यालयका दुई कोठे चारओटा भवन थिए । विद्यार्थीलाई बस्न पुग्ने यथेष्ट फर्निचर थिए । स्थानीय भूजीखोलामा आएको बाढीले विद्यालय भएको ठाउँलाई बगरमा रुपान्तरण गरिदियो । भदौमा बगाएको विद्यालय भवन तत्काल सञ्चालन गर्नका लागि छाप्रो समेत बनाउन नसक्दा धुलो र भुइँमा बसेर पढ्न बाध्य छन् बालबालिका ।

फोटोः रामबहादुर थापामगर

विद्यालयको नाममा जग्गा नभएका कारण विद्यालयलाई भवन बनाउन सहज थिएन । पूर्व स्थानीय गैर आवासी नेपालीहरु करबहादुर मगर , जीवन भट्ट चन्द लगायतका शिक्षाप्रेमीहरुले तीन महिना अघि स्थानीय गाउँमा नै रु. ३० लाखको लागतमा तीन रोपनी जग्गा दानस्वरुप पाएपछि जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) बागलुङले दुई महिना अघिदेखि दुईकोठे भवन निर्माण गरिरहेको छ । इकाईले बनाएको सो दुई कोठे भवन निर्माण सम्पन्न भएपछि पनि सबै विद्यार्थीलाई कक्षाकोठामा राखेर पढाउन नसकिने विद्यालयले जानकारी दियो ।

अहिले विद्यालय परिवार स्थानीय सरकार, प्रदेश सरकार लगायत विभिन्न संघसंस्थालाई भवन निर्माणका लागि गुहार मागी रहेको भए पनि कसैले भवन निर्माणका लागि तत्परता देखाएका छैनन् ।

स्थानीय अमेरिका निवासी केही युवाले भवन निर्माणका लागि चासो देखाएको प्रधानाध्यापक मगरले बताए । विद्यालयको आफ्नै सम्पत्ति नहुँदा भवन निर्माणमा समस्या भएको विद्यालयले जानकारी दियो ।

Thuprai - Books and E-books