A Levels MA

प्रयोगात्मकको वैशाखीले नतिजामा सुधार

स्वास्थ्य तथा जनसंख्यामा ९ हजार गुणा बढीको सैद्धान्तिक भन्दा प्रयोगात्मक नम्बरमा ए प्लस

कक्षा १२ को नतिजामा यो वर्ष पनि विगतका वर्षमा जस्तै सैद्धान्तिक भन्दा प्रयोगात्मक विषयमा सतप्रतिशत विद्यार्थीको ग्रेड सुधार भएको देखिएको छ । अधिकांश विषयमा सैद्धान्तिकमा न्यून विद्यार्थीको ग्रेड राम्रो देखिए पनि प्रयोगात्मकमा सतप्रतिशत विद्यार्थीले माथिल्लो ग्रेड प्राप्त गरेका छन् ।

सैद्धान्तिकमा तीन जना विद्यार्थीले मात्र ए प्लस ग्रेड हासिल गरे पनि प्रयोगात्मकमा यसको फड्को गुणात्मक रुपमा सयौं गुणा बढी देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो सार्वजनिक गरेको नतिजा अनुसार स्वास्थ्य तथा जनसंख्यामा विषयमा ९३ हजार १४७ जना विद्यार्थी सामेल छन् । सो विषयको सैद्धान्तिकमा जम्मा तीन जनाले मात्र एप्लस ग्रेड हासिल गरेका छन् तर प्रयोगात्मकमा भने २६ हजार ९९८ जनाले एप्लस ल्याएका छन् । यसलाई गुणात्मक रुपमा हेर्दा करिब ९ हजार गुणा बढी विद्यार्थील प्रयोगात्मक विषयको नतिजामा सुधार गरेको देखिएको छ । सोही विषयका अन्य ग्रेडमा सुधार हुँदै गएर पछिल्लो ग्रेडमा प्रयोगात्मकमा क्रमशः घट्दै गएको छ भने सैद्धान्तिकमा विद्यार्थीको संख्या बढेको देखिएको छ ।

त्यस्तै जनसंख्या शिक्षामा १५ जनाले सैद्धान्तिकमा ए प्लस ल्याएका छन् भने प्रयोगात्मकमा ३१ हजार ४५६ जनाले ए प्लस ग्रेड ल्याएका छन् । त्यस्तै ह्युमन भ्यालु एजुकेसनको सैद्धान्तिकमा शून्यले ए प्लस ग्रेड ल्याएका छन् भने प्रयोगात्मकमा १२५ विद्यार्थीको ग्रेड ए प्लस रहेको छ । त्यस्तै ग्रामीण विकासको सैद्धान्तिकमा शून्य विद्यार्थीको ग्रेड ए प्लस छ भने ५ हजार ४४ जनाले सैद्धान्तिकमा ए प्लस ल्याएका छन् ।

पाठ्यक्रम विकास परिषदद्वारा पास गरिएका सबै विषयको नतिजा हेर्दा सैद्धान्तिकमा क्रमशः माथिल्लो ग्रेडको विद्यार्थी संख्या कम हुँदै हुँदै सी प्लस र डी सम्म धेरै विद्यार्थी संख्या छ भने सैद्धान्तिकमा ठिक यसको उल्टो देखिएको छ ।

अनिवार्य र ऐच्छिक गरी कक्षा १२ मा १५७ विषयको परीक्षामा प्रयोगात्मक नम्बर दिइने सबै विषयमा विद्यार्थीले प्रयोगात्मकमा सतप्रतिशत र सैद्धान्तिक न्यून नतिजा हालि गरेका छन् ।

४७ जनाको जीपीए ४

गत वर्ष कक्षा १२ मा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या शून्य थियो । यो संख्या यो वर्ष बढेर ४७ मा पुगेको छ । यस वर्ष अहिलेसम्मकै धेरै विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका छन् । आन्तरिक मूल्यांकन, होम सेन्टरलगायतका कारण विद्यार्थीको समग्र नतिजामा धेरै सुधार देखिएको बोर्डले दाबी गरेको छ । 

अङ्ग्रेजीमा कमजोर विद्यार्थी,सी ग्रेड ल्याउने धेरै

हिजो प्रकाशन गरिएको  कक्षा १२ को नतिजामा अनिवार्य अङ्ग्रेजी विद्यार्थी कमजोर देखिएका छन् । नियमित, ग्रेडवृद्धि, आशिक गरी अनिवार्य अंग्रेजीमा ३ लाख ६६ हजार १०१ विद्यार्थीले परीक्षा दिएका थिए । १२ कक्षाको नतिजा होम सेन्टरमा गरिएको हुनाले सुधार भयो भनेर सरोकारवालाले दाबी गरिरहेको समयमा अङ्ग्रेजीमा सबैभन्दा धेरै विद्यार्थीले सी र दोस्रो स्थानमा सी प्लस ल्याउने विदार्थी रहेका छन् ।

सो विषयमा ६३७ जना विद्यार्थीले मात्र सो विषयमा ए प्लस ग्रेड हासिल गर्न सफल भएका छन् । त्यसैगरी २२ हजार ६८२ ले ए , ४७ हजार ६८९ जनाले बी प्लस र ५८ हजार ११५ जनाले बी ग्रेड हासिल गर्न सफल भएका छन् ।

त्यस्तैगरी ८२ हजार ७९३ जनाले सी प्लस र ८९ हजार ६३४ जनाले सी ग्रेड हासिल गरेका छन् । त्यस्तै ४० हजार ६९३ जनाले डी प्लस । ८ हजार ९९ जनाले डी ग्रेड हासिल गरेका छन् ।

त्यस्तै ३१४ जना विद्यार्थीले ई ग्रेड हासिल गरेका छन् भने यो विषयमा १२ हजार ३३ जना विद्यार्थी परीक्षामा अनुपस्थित रहेका छन् भने, ३ हजार ४१२ जना विद्यार्थीको नतिजा राष्ट्रिय परीक्षा बोर्डले रद्द गरेको छ ।

यो विषयमा धेरै विद्यार्थीले सी ग्रेड हासिल गरेका छन् । सी ग्रेड ल्याउनेमा ८९ हजार ६३४ जना रहेका छन् । त्यस्तै गरी ४० हजार ६९३ ले डि प्लस, ३१४ जनाले ई र सो परीक्षामा १२ हजार ३३ जना अनुपस्थित रहेको नतिजा सार्वजनिक गरेको छ । सो विषयमा ३ हजार ४१२ जना विद्यार्थीको नतिजा रद्द गरिएको छ ।

माप दण्डका आधारमा मात्र प्रयोगात्मक नम्बर दिइनु पर्ने

 आन्तरिकमा २५ र बाह्य मूल्यांकनमा ५ गरी ३० अंक ल्याउनेको ग्रेड समग्रमा डी प्लस हुन्छ । डी प्लस ल्याउने विद्यार्थीले विश्वविद्यालयमा भर्ना पाउँछ ।त्यसैले विद्यालयले बद्मासी गरेको विज्ञको ठहर छ । विद्यालयलाई प्रयोगात्मक विषयमा आफूखुसी नम्बर दिने स्वतन्त्रता हुँदा यस्ता नतिजा आउने शिक्षाविद्हरुले प्रतिक्रिया दिएका छन् ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार एक जनाको परीक्षा रद्द गरिएको छ भने ११ हजार ४९० जनाको परीक्षा स्थगित गरिएको छ ।

नतिजाअनुसार जीपीए ३.६१ देखि ४.० ल्याउनेहरु छ हजार ९१६ जना रहेका छन् । त्यस्तै जीपीए ३.२१ देखि ३.६० सम्म ३८ हजार ४८० जनाले, जीपीए २.८१ देखि ३.२० सम्म ७६ हजार ८४१ जनाले, जीपीए २.४१ देखि २.८० सम्म एक लाख ९३ हजार १२ जनाले नतिजा प्राप्त गरेका छन् ।

यसैगरी जीपीए २.०१ देखि २.४० सम्म ५२ हजार ४२७ जनाले, जीपीए १.६१ देखि २.०० सम्म सात हजार १६४ जनाले, जीपीए १.२१ देखि १.६० सम्म ३३३ जनाले, जीपीए ०.८१ देखि १.२० सम्म चार जनाले र जीपीए शून्यदेखि ०.८० सम्म १८ हजार ८३९ जनाले नतिजा प्राप्त गरेका छन् ।

कुल परीक्षार्थी चार लाख ३३ हजार २७१ थिए । परीक्षा गत मङ्सिर १६ गते सकिएको थियो । बोर्डले ४० अङ्कको मात्र लिखित परीक्षा सञ्चालन गरेको थियो । बाँकी कक्षा ११ को र आन्तरिक मूल्याङ्कनका आधारमा अङ्क गणना गरिनेछ । देशभरि चार हजार १०५ वटा परीक्षा केन्द्र कायम गरिएको थियो ।

त बैशाख ८ गते देखि सञ्चालन हुनु पर्ने कक्षा १२ को परीक्षा कोरोना भाईरस कोभिड १९ का कारण पूर्णांक घटाएर गत मंसिर ९ गते देखि सञ्चालन गरिएको थियो । कक्षा १२ लाई को परीक्षा ४० प्रतिशत पूर्णांकको मात्र थियो । बाँकी ६० प्रतिशत मध्ये ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनका आधारमा गरिएको थियो । 

Thuprai - Books and E-books