शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्तिमा पुनः चलखेल (साप्ताहिक शैक्षिक गतिविधि साउन ९–१५)

करिब एक वर्ष अगाडिदेखि पदाधिकारी विहीन भएको शिक्षक सेवा आयोगमा यो हप्ता पनि पदाधिकारी नियुक्त हुन सकेनन् । पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पालामा सिफारिस भएका तीनै जना पदाधिकारी वर्तमान सत्ता गठबन्धन सम्बद्ध भएपनि मन्त्री परिषद्ले नियुक्त गरेन ।

निहीत स्वार्थ र आफ्नै गोजीका मान्छे नियुक्त हुनुपर्ने विकृत मानसिकताले गर्दा सरकारले नै शिक्षाको गुणस्तरमा बारम्बार खलल पुर्याउने गरेको शिक्षक संघका लुम्बनी प्रदेशका एक सदस्यले बताए । ‘नाम खोल्यो भने बाँच्न मुस्किल पार्छन् तर कुरा त्यही सत्ता नेतृत्वका परिवारको एक जना सदस्य हुनुपर्ने अडानका कारण मन्त्री परिषद्ले पदाधिकारी नियुक्त गरेन ।’ उनले भने, ‘पदाधिकारी नियुक्त नहुँदा शिक्षकको बढुवा हुन सकेन, सबै काम रोकिए शिक्षकको पेसागत हित गर्छु भनेर खोलिएका संघसंगठनले लेबी मात्र उठाए विदेश घुमेर उडाएँ हाम्रो हितमा काम गरेनन्, सरकारले मनपरि गर्न पायो ।’

भौतिक रुपमा पठनपाठन गराउने विद्यालयलाई कारबाहीको चेतावनी

कोहलपुर नगरपालिकाले भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने विद्यालयलाई कारवाही गर्ने भएको छ ।

नगरपालिकाले आकस्मिक रूपमा अनुगमन गर्दा कोहलपुरको मिसन पब्लिक स्कुल, पञ्चमुखी इङ्लिस स्कुल, दीपज्योति विद्याश्रम र निम्बल एकेडेमीले भौतिक रूपमा कक्षा सञ्चालन गरिरहेको भेट्टाएपछि कारबाही गर्ने भएके हो ।

नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख अनन्तकुमार पौड्यालले भौतिक रूपमा कक्षा सञ्चालन गरिएको फेला परेका विद्यालयहरूलाई आइन्दा कक्षा सञ्चालन गरे कानुनबमोजिम कारवाही गर्ने सर्तमा एक पटकका लागि सचेत गराउने निर्णय गरिएको जानकारी दिए ।

परीक्षा अघि विद्यार्थीलाई खोप

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ का सबै परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।

कोरोना संक्रमणको उच्च जोखिम बिचमै भौतिक उपस्थितिमा साउन ३१ देखि भदौ ९ गतेसम्म हुन लागेको १२ को परीक्षाका विद्यार्थीलाई खोप दिलाउन बुधबार बसेको समितिको बैठकले सुझाव दिएको हो।

‘परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न, हात धुने व्यवस्था मिलाउन, सुरक्षाका अन्य मापदण्ड अपनाउन र ‘सकेसम्म परीक्षा शुरु हुनु अगावै खोप लगाउन व्यवस्था मिलाउन पनि सरकारलाई सुझाव दिएको घर्तीले जानकारी दिइन् ।

शिक्षा तथा स्वास्थ्य समितिले परीक्षा दिनुअघि कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए दोस्रो चरणमा दिन पाउने व्यवस्था मिलाउन समेत सरकारलाई निर्देशन गरेको छ ।

कक्षा १२ मा करिब पौने पाँच लाख विद्यार्थीको सहभागिता हुने भएकाले बढीभन्दा बढी परीक्षा केन्द्र बनाउन र स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न गराउन समितिले सरकारलाई निर्देशन दिएको हो।

दुर्गमका परीक्षा केन्द्रमा हार्ड कापी प्रश्नपत्र नै पठाइने व्यवस्था बोर्डले गरेको छ। कोभिडका कारण परीक्षा दिन नसक्ने विद्यार्थीलाई प्रमाणको आधारमा पुनः परीक्षाको व्यवस्था गरिएको छ । कोभिड संक्रमित विद्यार्थीले परीक्षा दिन चाहेमा छुट्टै कोठाको समेत व्यवस्था गरिएको बोर्डले जनाएको छ।

पुलको डिजाइन सम्बन्धी पढाइ हुने

नेपाल इन्जिनियरिङ कलेज (नेक) ले पुलको डिजाइन सम्बन्धी पाठ्यक्रम निर्माण गर्ने भएको छ । स्नातक तहमा सो विषयको पाठ्यक्रम निर्माण गरिने भएको हो ।

यसका लागि कलेज र स्थानीय सडक पुल एकाईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा नेकको तर्फबाट कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठ र स्थानीय सडक पुल एकाइको तर्फबाट एकाईका टिम लिडर इन्जिनियर सकिल मानन्धरले हस्ताक्षर गरेका छन्।

समझादरी पत्रमा नेपालका स्थानीय सडक दीर्घकालसम्म टिकाउन के कस्ता प्राविधिक पक्षमा ध्यान दिने, कसरी दिगो टिकाउँ हुने गरीका पुलको डिजाइन गर्ने जस्ता पक्ष समेटेर पाठ्यक्रम निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ र साथै सो सम्झौता पत्रमा स्नातक तहका इन्जिनियरिङ विद्यार्थीहरूले प्रोजेक्ट गर्न चाहेमा तथ्याङ्क तथा फिल्डमा जाने बस्ने खर्चसमेत उपलब्ध गराउने उल्लेख गरिएको कलेजका स्नातकोत्तर कार्यक्रमका निर्देशक डा।तुसिताचाँदनी शाहीले जानकारी दिए ।

आफ्नै चक्रब्युहुँमा फसे उपकुलपति सिंह

रानैतिक प्रभावमा नियुक्त भएका विश्वविद्यालयका पदाधिकारीहरु सरकार परिवर्तन हुने बितिकै विभिन्न खालका विवादमा मुछिने गरेका उदाहरण नयाँ होइनन् । यस्तै विवादमा अहिले मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंह मुछिएका छन् ।

केही दिन अघि नेकपा एमालेको केपी शर्मा ओली गुट निकट विद्यार्थीको कार्यक्रममा दिएको भनिएको मन्तव्यको अडियो रेकर्डले अहिले उनलाई तनाबमा पारेको छ ।

उनले सो अडियो रेकर्डमा आफू एमाले पार्टी, केपी ओली र जनताको बहुदलीय जनवादको पक्षधर भएकाले प्रधानमन्त्री तथा विश्वविद्यालयका उपकुलपति शेरबहादुर देउवालाई ‘संसदीय भाषामा मात्रै’ कुलपति मान्ने भन्नेअभिव्यक्ति दिएको सुन्न पाइन्छ ।

सो अडियोमा उनले,‘संसदीय भाषामा भन्दा शेरबहादुर देउवालाई कुलपति भनौंला तर, मेरो कुलपति केपी ओली हो । उनले आफ्ना लागि एमाले पार्टी, केपी ओली र जनताको बहुदलीय जनवाद महत्वपूर्ण भएको दावी गरेका छन्। उनले केपी ओलीले लिएको तीन वर्षको राष्ट्रवादी आन्दोलन, त्यसको एकीकृत मनोभावनालाई लिएर जनताको बीचमा जानु आवश्यक रहेको बताएका छन्।

उनको यो अडियो बाहिरिएसंगै बर्तमान सत्ता गठबन्धनका विद्यार्थी तथा शिक्षक कर्मचारी तोडफोडको आन्दोलनमा उत्रिएका छन् । अडियो सार्वजनिक भएपछि उपकुलपति सिंहले बिहीबार पत्रकार सम्मेलन गरी उक्त अडियोको भिडियो सार्वजनिक गर्न चुनौती दिएका छन्। उनले पत्रकार सम्मेलनमा सो अडियोलाई ‘एनिमेटेड’ भनेका छन् । ‘सम्माननीय प्रधानमन्त्री एवम् मध्यपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाज्यूप्रति अपमान हुने गरी विश्वविद्यालयलाई ध्वस्त पार्ने एउटा गिरोहले फेरि कब्जा गरी मोज गर्न सकिन्छ कि भन्ने गलत उद्देश्यले प्रधानमन्त्री एवम् कुलपतिज्यूको सम्मानमा आँच आउने गरी बनाइएको एनिमेटेड अडियोप्रति घोर भत्सर्ना गर्दछु,’ उनले भने, ‘त्यसमा संलग्नहरुलाई सशक्त कारबाहीको पनि माग गर्दछु, मुद्दा दायर गर्छु।’

Thuprai - Books and E-books