कक्षा १२ को परीक्षा केन्द्रमा स्वास्थ्य कर्मी राख्न शिक्षा तथा स्वास्थ समितिको निर्देशन

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ समितिले आगामी ३१ गतेदेखि हुने कक्षा १२ को परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा परीक्षाका सन्दर्भमा शिक्षा मन्त्रालयका अधिकारीहरुसंग छलफलपछि समितिले सरकारलाई यस्तो निर्देश्न दिएको हो ।

समिति सभापति जयपुरी घर्तीले कोरोना संक्रमणलाई ध्यानमा राखेर सबै परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड अपनाउन र स्वास्थ्यकर्मी राख्न निर्देशन दिएको जानकारी दिइन् ।

‘परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न, हात धुने व्यवस्था मिलाउन, सुरक्षाका अन्य मापदण्ड अपनाउन र ‘सकेसम्म परीक्षा शुरु हुनु अगावै खोप लगाउन व्यवस्था मिलाउन पनि सरकारलाई सुझाव दिएको घर्तीले जानकारी दिइन् ।

शिक्षा तथा स्वास्थ्य समितिले परीक्षा दिनुअघि कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए दोस्रो चरणमा दिन पाउने व्यवस्था मिलाउन समेत सरकारलाई निर्देशन गरेको छ ।

बढी विद्यार्थी भएका विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न कठिनाइ हुन सक्ने भन्दै समितिले बढी केन्द्र बनाएर परीक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होम सेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।

Thuprai - Books and E-books