A Levels MA

के हो सिम्याट ? व्यावसायिक भएकाले नै व्यवस्थापनमा विद्यार्थीको चाप

व्यवस्थापन संकायको स्नातक तहमा भर्ना हुन चाहने विद्यार्थीका लागि लिइने प्रवेश परीक्षा हो सिम्याट । यो परीक्षा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यलयले हरेक वर्ष लिँदै आएको छ । सिम्याट परीक्षाका लागि आवेदन दिन ११ कक्षा रेगुलर पास भई १२ कक्षाको परीक्षा दिएका वा १२ कक्षा पास भइसकेकाले फर्म भर्न पाउछन् । त्रिविले विगत २३ वर्षदेखि सिम्याट परीक्षा लिँदै आएको हो ।

त्रिविको व्यवस्थापन संकाय अन्तर्गत डीन कार्यलयले अहिले स्नातकमा आठ ओटा कार्यक्रम सञ्चालन गर्दै आएको छ । व्यवस्थापनको बीबीए, बीबीएम, बीआईएम, बीपीए, बीएचएम, बीटीटीएम, बीबीए फाइन्यानस, बीएमएस कार्यक्रममा भर्नाका लागि सिम्याट परीक्षा लिइन्छ । यी सबै कार्यक्रममा विद्यार्थीको चाप बढी छ। विद्यार्थी आकर्षण राम्रो भएपछि ती विद्यार्थी मध्ये पनि अझै राम्रा विद्यार्थीले प्रवेश पाउन भन्ने लक्ष्यले सिम्याट परीक्षा लिने गरिएको व्यवस्थापन संकायका डीन प्राडा डिल्लीराज शर्माले बताए । ‘त्रिविको डीन कार्यालय अन्तर्गत स्नातक तहमा आठओटा कार्यक्रम सञ्चालनमा छन्,सबै कार्यक्रममा विद्यार्थीको चाप बढी छ त्यसैले उत्कृष्ट विद्यार्थी छनोट गरी उच्च शिक्षा प्रदान गर्न सिम्याट लिने गरिएको हो ।’ उनले भने, ‘अन्तर्राष्ट्रिय अभ्यासमा जसरी जीम्याटको महत्त्व छ त्यसरी नै व्यवस्थापन संकायको स्नातक भर्नाका लागि सिम्याट महत्त्वपूर्ण परीक्षा हो ।’

परीक्षा चार क्लष्टरमा

सिम्याट परीक्षा चारओटा क्लष्टरमा विभाजन गरेर सञ्चालन गरिदै आएको छ । इङ्लिस, म्यानेजमेन्ट, म्याथ र जनरल नलेजका २५–२५ पूर्णाङ्क गरेर जम्मा १०० पूर्णाङ्कका प्रश्न सोधिने पूर्व सहायक डीन नवराज अधिकारीले जानकारी दिए । सिम्याटा चार क्लष्टरमा विभाजन गरेर सञ्चालन गरिन्छ, हरेक क्लष्टरबाट २५–२५ नम्बरका १०० ओटा बहुबैकल्पिक प्रश्न सोधिन्छ । यसको उत्तीर्णाङ्क ४० हो । ४० भन्दा तल अंक ल्याउने विद्यार्थीले व्यवस्थापन संकायका कुनै पनि कार्यक्रममा भर्ना पाउँदैनन् । ‘यो स्नातक भर्नाको मानक परीक्षा हो ।’ उनले भने, ‘ यसमा १०० ओटै बहुबैकल्पिक प्रश्न मात्र सोधिन्छ, यसको समायावधि १ घण्टा ३० मिनेटको हुने छ ।’

सबै समूहबाट कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले सिम्याटका लागि आवेदन दिन सक्छन् । डीन कार्यालयले देशै भरिका ३७ ओटा परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गर्दै आएको छ ।

म्याचिङ कलेज नै गर्ने

भर्नाका लागि लिइने मानक परीक्षा भएका कारण यो परीक्षा दिन जुनसुकै समूह र विषय पढेका विद्यार्थीले पाउँछन् । तर भर्ना प्रक्रियाका लागि ४० नम्बर भने ल्याएकै हुनुपर्छ । सिम्याट परीक्षामा ४० नम्बर ल्याएर मात्र व्यवस्थापन संकायका कार्यक्रममा विद्यार्थीले भर्ना हुन भने पाउँदैनन् । विद्यार्थीले कक्षा ११ मा हासिल गरेको प्राप्ताङ्क, सिम्याटको प्राप्ताङ्क र सम्बन्धित कलेजले लिएको अन्तर्वार्ताको प्राप्ताङ्कलाई जोडेर कलेजमा भर्ना हुन जाने विद्यार्थीको सम्बनन्धित क्यामपसले नै मयाचिङ् गर्ने गरेको डीन प्राडा शर्माले जानकारी दिए ।

सिम्याट परीक्षा दिने विद्यार्थी हरेक वर्ष १३ हजार देखि २१ हजार सम्म हुने गरेका छन् ।’ डीन प्राडा शर्माले भने, ‘१३ हजार माथिले परीक्षा दिँदा वार्षिक ११ हजार माथि विद्यार्थी उत्तीर्ण हुन्छन् ती सबै विद्यार्थीलाई त्रिविले भर्ना लिएर पढाउन सक्ने क्षमता छैन । त्रिविको डीन कार्यलयले सञ्चालन गर्ने कार्यक्रममा ४ हजारमात्र सिट भएको डीन प्राडा शर्माले बताए ।

त्यसैले भर्ना हुन जाने विद्यार्थीलाई सिम्याट, कक्षा १२ को प्राप्ताङ्क र कलेजले लिने अन्तर्वार्ताको नम्बरलाई जोडेर कलेजले नै म्याचिङ गर्दै आएको छ । सिम्याट पछि स्नातकका बीबीए, बीबीएम, बीपीएबीबीए फाइन्यानस कार्यक्रमको लागि सिम्याटको प्राप्ताङ्गलाई ६० प्रतिशतल दश जोड २ वा सो सरह उत्तीर्ण प्राप्ताङ्कलाई ३० प्रतिशत र अन्तर्वार्तालाई १० प्रतिशत अंक प्रदान गरी कलेजनै म्याचिङ गर्दै आएका छ ।

त्यस्तै बीएचएम, बीटीटीएम, बीएमएस सिम्याट प्राप्ताङ्कको ५० प्रतिशत, दश जोड २ वा सो सरह उत्तीर्ण प्राप्ताङ्क प्रतिशतको ३० प्रतिशत, समूह छलफल १० प्रतिशत र अन्तर्वार्ता १० प्रतिशत अंङ्कन गरेर म्याचिङ गर्दै आएको डीन शर्माले जानकारी दिए ।

यो वर्ष भदौ २५ गते परीक्षा

यो परीक्षामा सहभागी हुनका लागि कक्षा ११ र १२ मा प्रत्येक विषयमा डी प्लस वा १।८ सीजीपीए ल्याएका विद्यार्थीले सिम्याटको परीक्षा दिन सक्नेछन् वा प्लस टु वा पीसीएलमा दोस्रो श्रेणीमा उत्तीर्ण विद्यार्थीले सिम्याट दिन पाउनेछन् ।

गत वर्ष २० हजारभन्दा बढी विद्यार्थीले आवेदन दिएका थिए । यो वर्ष पनि कम्तीमा १५ हजार विद्यार्थीले सिम्याटको परीक्षा दिने डीन कार्यलयले अपेक्षा गरेको छ । ‘गत वर्ष पनि सिम्याटका लागि २० हजार माथिले अनलाइन आवेदन दिएका थिए ।’ डीन शर्माले भने, ‘यो वर्ष पनि कम्तीमा १५ हजार विद्यार्थी सिम्याटमा सहभागी हुने देखिएको छ, अहिले डीन कार्यालय आंशिक रुपमा बन्दीमा परेको छ त्यसैले पुरै विवरण हेर्न सकिएको छैन तर पनि अहिलेसम्म लगभग १० हजारको हाराहारीमा आवेदन दिइसकेका छन् यो वर्ष १५ हजार विद्यार्थी सहभागी हुने संकेत देखिएको छ ।’

 व्यवस्थापन संकायमा विद्यार्थी आकर्षण

त्रिविले सिंगो उच्च शिक्षाको ७८ प्रतिशत भार थेगेको महालेखा परीक्षकको ५९ औं बार्षिक प्रतिवेदनमा उल्लेख छ । सिंगो उच्च शिक्षाको ७८ प्रतिशत भार बोक्ने यो संकायका कार्यक्रममा विदार्थीको चाप बढी छ । सबै क्षेत्रमा कुशल व्यवस्थापकको माग हुन थालेपछि व्यवस्थापनमा विद्यार्थीको आकर्षण बढेको हो। व्यवस्थापन संकायमा उच्च शिक्षा हासिल गरेपछि स्वरोजगार विद्यार्थी उत्पादन हुन्छन् । आफैं व्यवसाय सञ्चालन गरेर कमाउन सक्ने भएकाले पनि विद्यार्थीको आकर्षण धेरै छ ।

एक दशक यता हरेक क्षेत्रमा कुशल व्यवस्थापकको आवश्यकता महसुस भएकै कारण व्यवस्थापन पढ्ने विद्यार्थी बढेको डीन प्राडा शर्माले बताए । उनका अनुसार त्रिवि व्यवस्थापन संकायले स्नातक र स्नातकोत्तर तहमा कुल २४ विषय पठनपाठन गराउँदै आएको छ। ‘हाम्रो संकायमा बिबिए सबाहेक सबै विषय सेमेस्टर प्रणालीमा छ।चुस्त परीक्षा प्रणाली र ७०–७५ प्रतिशत नतिजाले पनि विद्यार्थी आकर्षण बढेको छ,’ उनले भने, ‘समयको मागअनुसार विश्वबजार र स्वदेशमा समेत खपत हुने दक्ष जनशक्ति उत्पादन हुन्छ। व्यवहारिक विषयहरुले विद्यार्थीलाई दक्ष र क्षमतावान् बनाएको छ ।’

व्यवस्थापन संकाय ग्लोबल ट्रेन्डको विषय भएको हुँदा कक्षा १२ को नतिजा आउनु अगावै सिम्याटको परीक्षा तयारी गर्दै गरेको सिम्याट तयारी गर्दै गरेका विदार्थी प्रज्वल सुवेदले बताए । उनले भने, ‘उच्च शिक्षा अध्ययन गर्दै गर्दा नै दाजु दिदीहरूले बैङ्क तथा वित्तीय संस्था, मार्केटिङ लगायतका क्षेत्रमा रोजगारी पाएको देखे त्यसैले सजिलै काम पाउने आशाका साथ सिम्याट तयारी गरेको हुँ ।’ उनले भने, ‘बीएचएम पढ्ने सोतले सिम्याट तयारी गरिरहेको छु, पूर्व ज्ञानभन्दा पनि सबै विषयको जानकारी लिएको हुनु पर्ने रहेछ त्यसैले पुतलिसडकमा कोचिङ क्लास लिइरहेको छु ।’

नेपाली समाजमा व्यवस्थापक आवश्यकता बढ्दै गएकाले यो संकायको आकर्षण पनि बढ्दै गएको जनमैत्री कलेजमा व्यवस्थापन पढाउँदै आएका शिक्षक सन्दिप बराइली बताउँछन् । ‘संस्थालाई नाफामा लैजान पनि व्यवस्थापककको आवश्यकता पर्छ’, उनले भने, ‘यस विषयले समग्र व्यवस्थापकीय पाटोबारे जानकार गराउँछ । हाम्रोमा अहिले संस्थाहरू खुल्ने क्रम तीव्र छ । यसले रोजगारीको बाटो पनि दिन्छ ।’

सिम्याट पछि त्रिविका सम्बन्धन प्राप्त, आङ्गिक र निजी कलेजमा त्रिवि अन्तर्गतको व्यवस्थापन संकायका कार्यक्रम अध्ययन गर्न पाइन्छ ।

त्रिविले केही समय यता सामुदायिक कलेज र निजीलाई व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्न अनुमति नदिएको भए पनि आफ्नै आङ्गिक क्यामपसलाई भने नयाँ कार्यक्रम सञ्चालन गर्न दिएको छ । त्रिविले यो वर्ष देखि इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा बीबीए कार्यक्रम सञ्चालनमा ल्याएको डीन प्राडा शर्माले जानकारी दिए ।

Thuprai - Books and E-books