
सातौं कक्षामा हामीले दोलखाको छोरोल्पा हिमतालबारे एउटा पाठ पढेका थियौं, हिमताल के हो, किन खतरनाक हुन्छ, त्यसबाट कस्तो बाढी आउन सक्छ भन्ने। हामीले घोक्यौं, परीक्षामा लेख्यौं, नम्बर पायौं, तर त्यो ताल हाम्रा लागि टाढाको, नचिनेको नाम मात्र रह्यो। कुनै दिन त्यस्तै हिमताल फुटेर हजारौं जीवन जोखिममा पर्न सक्छ भन्ने महसुसै भएन। पाठ "पास" गर्यौं, तर मनन गर्न चुक्यौं।
गएको बुधबार, १० भदौमा चीनको सिमानाबाट रसुवाको भोटेकोशी नदी हुँदै आएको बाढीले नुवाकोट र धादिङसम्म ठूलो क्षति पुर्यायो। यो देखेपछि त्यही सातौं कक्षाको पाठ फेरि सम्झना आयो, तर यसपटक फरक ढंगले किताबको पानामा सीमित रहेको कुरा आँखैअगाडि साँचो भएर देखा पर्यो। मेरो घर त्रिशूलीनजिकैको धादिङबेंसीबाट धेरै टाढा छैन, त्यसैले यो खबर मेरा लागि सामान्य समाचार मात्र रहेन, आफ्नै छिमेकको पीडा भयो।
हाम्रा पुर्खा भन्थे, "बेंसीमा खेती, डाँडामा घर।" खेतीका लागि समथर ठाउँ, बस्तीका लागि अलि उचाइको सुरक्षित ठाउँ भन्ने सोझो अर्थ हो। यो उखान सधैं सही नहोला, ठाउँअनुसार माटो र भूगोल फरक हुन्छ, र आज जग्गाको अभावले धेरैलाई जोखिमपूर्ण ठाउँमै बस्न बाध्य पारेको छ। तर यसले एउटा कुरा देखाउँछ, नदी र भिरालोसँगै बाँचेका हाम्रा पुर्खाले आफ्नै अनुभवबाट जोखिम चिन्ने समझ बनाएका थिए, जुन कुनै किताबबाट सिकेका थिएनन्। प्रश्न हो, वैज्ञानिक कुरा सिक्दै जाँदा के हामीले पुर्खाले बाँचेर बुझेको त्यो गहिरो समझ बिर्सिसक्यौं?
हामीलाई तीन किसिमको ज्ञान चाहिन्छ; किताबी ज्ञान, पुर्ख्यौली ज्ञान, र आफैं भोगेको अनुभव। नेपालले यीमध्ये एउटालाई मात्र रोज्ने ठाउँ छैन। हिमताल कसरी बन्छ, कहिले फुट्न सक्छ भन्ने वैज्ञानिक बुझाइ चाहिन्छ; कुन ठाउँ सुरक्षित छ, नदीको बहाव कहिले बदलिन्छ भन्ने स्थानीय ज्ञान चाहिन्छ; र व्यावहारिक तयारी पनि उत्तिकै चाहिन्छ। समस्या ज्ञानको अभाव मात्र होइन, यी फरक-फरक ज्ञानलाई जोड्न र व्यवहारमा उतार्न नसक्नु हो।
यहीँनेर शिक्षाको प्रश्न आउँछ। हाम्रा विद्यार्थीले विपद्को बारेमा पढ्छन्, तर विपद् आइपर्दा के गर्ने भन्ने थाहा पाउँछन् त? हाम्रा स्कुलमा साँच्चै अभ्यास गरिएको उद्धार-योजना छ त? विद्यार्थीले चेतावनीको सङ्केत चिन्न, सुरक्षित ठाउँ पहिचान गर्न सिकेका छन् त? विपद्पछि विद्यार्थीलाई मानसिक सहयोग दिन शिक्षक तयार छन् त? विपद् बारे पढ्नु र विपद्सँगै सुरक्षित बाँच्न सिक्नु दुई फरक कुरा हुन्, र हामीले लामो समयदेखि पहिलो कुरामा मात्र जोड दिँदै आयौं।
१० भदौको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्यायो। युनिसेफका अनुसार यसले करिब १७ हजार बालबालिकालाई प्रत्यक्ष असर पारेको छ, र मृतकमध्ये कम्तीमा १४00 जना बालबालिका छन्। युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुङ्गाका अनुसार, रसुवा र धादिङका बालबालिकाले आफ्नो घर, कक्षाकोठा र स्वास्थ्य चौकी आँखै अगाडि बगेको देखे। अठार वटा विद्यालय पूर्ण रूपमा भत्किए, थप बीस वटामा क्षति पुग्यो; बालबालिकाले सिक्ने र खेल्ने ठाउँ नै गुमे। रसुवाकै टिमुरे सामुदायिक विद्यालय लगायत गोसाईकुण्ड गाउँपालिकाका स्कुलहरूमा सबैभन्दा बढी क्षति पुगेको छ।
बाढीको ठ्याक्कै कारण अझै पूरा स्पष्ट भइसकेको छैन। ICIMOD र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको प्रारम्भिक विश्लेषणले हिमपहिरोबाट लेन्दे खोला थुनिएको हुनसक्ने देखाउँछ, तर अन्तिम निष्कर्ष अझै अनुसन्धानकै विषय हो। जे भए पनि यो घटना हिमालको छिटो बदलिँदो हिउँ, बरफ र अस्थिर भू-भागसँग जोडिएको छ भन्ने भने स्पष्ट छ।
छोरोल्पा हिमताल लुकेको खतरा थिएन। सन् १९९७ मै सरकारले यसलाई प्राथमिकतामा राखेको थियो, र सन् २००० मा तालको पानी घटाउने काम पनि भएको थियो। त्यसैले प्रश्न "हामीलाई थाहा थिएन" भन्ने होइन, "थाहा पाएर हामीले के गर्यौं" भन्ने हो। यो प्रश्न शिक्षा, बस्ती-योजना र पूर्वाधार निर्माणसँग जोडिन्छ।
२०७२ सालको भूकम्पले नेपालका झन्डै नौ हजार विद्यालय भवनमा असर पुर्यायो, र लाखौं विद्यार्थी लामो समय स्कुलबाट टाढा रहे। त्यसपछि भूकम्पप्रतिरोधी भवन, नियमित अभ्यास र आपत्कालीन योजनाजस्ता राम्रा कदम पनि चालियो, तर पाँच वर्षपछि नै विज्ञहरूले भन्नुपर्यो, नियमित अभ्यास सुस्त भइसकेको छ, धेरै विद्यालयको सुदृढीकरण अझै अधुरो छ। यसले सिकाउने पाठ के हो भने पुनर्निर्माण एकपटकको काम होइन, निरन्तर सजग रहने बानी हो।
विपद्पछि हामी सामान्यतया सडक, पुल, विद्युत् आयोजना र स्कुल फेरि उठाउने कुरा गर्छौं। यी सबै जरुरी छन्। तर प्रश्न हो, पुनर्निर्माण गर्दा हामी ढलेको संरचना जस्ताको तस्तै दोहोर्याउँछौं, कि फरक ढंगले सोच्छौं? स्कुल फेरि खुल्दा उही पुरानो पाठ्यक्रम दोहोर्याउँछौं, कि हिमाली वातावरण फेरिँदै गएको यथार्थमा बालबालिकालाई साँच्चै के चाहिन्छ भनेर पुनर्विचार गर्छौं?
अब बाटोमा तीनवटा कुरालाई प्राथमिकता दिन सकिन्छ। पहिलो, नयाँ स्कुल बनाउँदा वा पुनर्निर्माण गर्दा नदी, भिरालो र हिमताल जस्ता स्थानीय खतराको वैज्ञानिक जाँच अनिवार्य बनाउने। दोस्रो, पढाइमा आफ्नै समुदायको वास्तविक भौगोलिक जोखिम समावेश गर्ने र विपद्सम्बन्धी पाठलाई घोकाउने काम मात्र नबनाई निर्णय लिने क्षमतासँग जोड्ने, साथै उद्धार र प्राथमिक उपचार अभ्यास नियमित बनाउने। तेस्रो, "बेंसीमा खेती, डाँडामा घर" जस्ता पुर्ख्यौली समझलाई दस्तावेजीकरण गरी आधुनिक विज्ञानसँग जाँचेर मिलाउने, र शिक्षकलाई विपद्को बेला बालबालिकालाई सहयोग गर्न सक्ने गरी तालिम दिने। यी सुझाव नेपालको संघीय संरचना र सामुदायिक विद्यालयको वास्तविकतासँग मिल्ने खालका हुन् र स्थानीय तहबाटै लागू हुन सक्छन्।
म फेरि त्यही सातौं कक्षाको कक्षाकोठामा फर्कन्छु, जहाँ हामीले छोरोल्पाबारे पढेका थियौं। त्यो बेला कसैले भनेको भए, "यो पाठ केवल परीक्षाका लागि मात्र होइन, तिम्रो जीवनका लागि हो," हामीले फरक तरिकाले सुन्थ्यौं होला। आज त्यो जवाफ भोलिका विद्यार्थीका लागि हामीले नै दिनुपर्छ। रसुवाको पीडा ठूलो छ, र त्यसलाई बिर्सनु हुँदैन। तर त्यसैसँगै यो पनि सत्य हो, हरेक विपद्ले हामीलाई सिक्ने र सुधार्ने अर्को मौका पनि दिन्छ। हाम्रो शिक्षा प्रणालीमाथिको भरोसा गुमाउनु पर्दैन, बरु त्यसलाई अझ जिम्मेवार र व्यावहारिक बनाउने अवसरका रूपमा हेर्नुपर्छ। किताबले हिमालमा के भयो भनेर मात्र सुनाउनु पर्दैन, हिमालमा कसरी जिम्मेवारीपूर्वक बाँच्ने भनेर सिकाउनु पनि पर्छ।




