After SEE Portal

बीबीए किन र कहाँ पढ्ने ?

Bridge Course

 

कक्षा १२ को नतिजाको पर्खाइमा करिब तीन लाख ८६ हजार विद्यार्थी छन्। सबै विद्यार्थीलाई अहिले कुन विषय पढ्ने भन्ने कौतुहलता जाग्नु स्वभाविक नै हो । कतिपय विद्यार्थीले विभिन्न संकायका विषय छनोट गरिसकेका छन् भने कति विद्यार्थी कुन संकायको कुन विषय पढ्ने भन्ने विषयमा अन्योलमा आफू रहेको बताउँदै आएका छन् । कक्षा १२ पछि के पढ्ने ? कहाँ पढ्ने ? कुन कलेजको सेवा सुविधा कस्तो छ भनेर बुझ्नका लागि इडियु सञ्जाल भरपर्दो माध्यमका रुपमा परिचित छ । 

अहिले विद्यार्थीले आफूले कक्षा १२ मा हासिल गरेको जीपीएका आधारमा विषय छनोट गर्ने गरेका छन् । माथिल्लो जीपीए ल्याउने विद्यार्थीको रोजाइमा साइन्स, इन्जिनियरिङ र व्यवस्थापनका विभिन्न विषय रोजाइमा  पर्ने गरेका छन् । प्रविधिको तीव्र विकाससंगै विद्यार्थीहरुले विश्वबजारमा बढेको मागका आधारमा आफ्नो भविष्यको परिकल्पना सहित विषय छान्ने गरेका छन् ।

स्नातक तहमा व्यवस्थापन संकाय अन्तर्गत अधिकांश विद्यार्थीको पहिलो रोजाइमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) पर्ने गरेको छ । यो चार वर्षे सेमेष्टर प्रणालीबाट पढाई हुने कार्यक्रम हो । यो विषयको अध्ययन पछि विद्यार्थीले सैद्धान्तिक ज्ञान पाउनुका साथै कुलस व्यवस्थापकको रुपमा आफूलाई स्थापित गर्न सक्छन् । धेरै विद्यार्थीको रोजाईमा पर्ने यो विषयलाई विश्व मान्यता बोकेको विषयका रुपमा हेरिने विज्ञहरु बताउँछन् ।

व्यवस्थापनमा आधारित यस विषयले विद्यार्थीलाई उद्यमी बन्न सिकाँउछ । सैद्धान्तिक र प्रयोगात्मक दुवै हिसाबले यसमा प्रभावकारी सिकाइ हुने भएकाले बजारमा सिधै काम गर्न सक्ने जनशक्ति तयार हुने त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन नवराज अधिकारी बताउँछन् ।

बीबीए अध्ययनले विद्यार्थीमा नेतृत्वदायी क्षमताको साथै व्यवस्थापकीय कौशलताको विकास हुने उनको दाबी छ ।

त्रिविमा व्यवस्थापन संकाय

व्यवस्थापन संकायको स्नातक तहको सेमेस्टर प्रणाली अन्तर्गतका विषयहरु विद्यार्थीको प्रमुख रोजाइमा पर्ने गरेका छन् । पुराना तथा परम्परागत शैलिका पाठ्यक्रममा विद्यार्थीको रुचि घट्दै गएपछि विकल्पका रुपमा प्रयोगमा ल्याइएका विषयमा विद्यार्थीको चाप थामिनसक्नु देखिएको छ । यसै मध्येको विद्यार्थीको प्रमुख रोजाइको विषय हो व्यवस्थापन संकाय । व्यवस्थापन संकायमा पनि विद्यार्थीको प्रमुख रोजाइमा बीबीए पर्ने गरेको छ ।

त्रिविले स्नातक तहको सेमेस्टर प्रणालीमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीएएफ), ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट (बीआईएम), ब्याचलर अफ ट्राभल एण्ड टुयुरिजम म्यानेजमेन्ट (बीटीटीएम), ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम), ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम), ब्याचलर अफ पब्लिक एडमिनिस्ट्रेसन (बीपीए), ब्याचलर अफ माउन्टेनरिङ स्टडिज (बीएमएस) र पोष्ट ग्राय्जुएड इन पुलिस साइन्स ( पीजीडीपीएस) का कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यी कार्यक्रम मध्ये पनि बीबीए विद्यार्थीको पहिलो रोजाइमा पर्ने गरेको छ । त्रिविका विभिन्न ३७ कलेजमा बीबीएको पठनपाठन हुँदै आएको छ ।

पोखरा विश्वविद्यालयमा

त्यसैगरी पोखरा विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहमा विभिन्न ६ ओटा कार्यक्रम सञ्चालनमा ल्याएको छ । यो विश्वविद्यालयले ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन –बैंकिङ र बीमा, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन ( ट्राभल एण्ड टुयुरिजम), ब्याचलर अफ कम्प्युटर इन्फर्मेसन सिस्टम, ब्याचलर अफ होटल म्यानेजमेन्ट, ब्याचलर अफ हेल्थ केयर म्यानेजमेन्टका कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी काठमाडौं विश्वद्यालयको स्कुल अफ म्यानेजमेन्टले बीबीए (हन्स)/ बीबीए (इम्फासेज) का कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

 

बीबीए कहाँ कहाँ पढाइ हुन्छ ?

नेपालका ८ ओटा विश्वविद्यालयमा बीबीए पढाइ हुन्छ । त्रिभुवन विश्वविद्याालयका ३७ पोखरा विश्वविद्यालयका ४६ ओटा कलेजले बीबीए प्रोग्राम सञ्चालनमा ल्याएका छन् । भने, पूर्वाञ्चल विश्वविद्यालयका ३१ कलेजमा बीबीए प्रोग्रम सञ्चालन हुँदै आएको छ । त्यस्तै काठमाडौं विश्वविद्यालयको स्कुल्स अफ म्याजमेन्टले पनि बीबए कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी, विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त करिब ३० ओटा कलेजमा यो विषय अध्ययन हुन्छ । त्यसैगरी सुदुरपश्चिम विश्वविद्यालयको कैलाली बहुमुखी क्याम्पसमा  पनि यो कार्यक्रम  सञ्चालनमा ल्याइएको छ । त्यस्तै यो विषयको पठनपाठन खुला विश्वविद्यालयमा पनि सञ्चालन गरिँदै आएको छ ।

पाठ्यक्रम

बीबीए सेमेष्टर प्रणाली अन्तर्गत पढाई हुने चार वर्षे कार्यक्रम हो । नेपालमा लगभग सबै विश्वविद्यालयमा सेमेष्टर प्रणाली अन्तर्गत पढाई हुने यो कार्यक्रमको अध्ययनको समयावधि र क्रेडिट आवर १२० तय गरेका छन् । यो कोर्ष त्रिभुवन विश्वविद्यालयको हरेक सेमेष्टरमा १५ क्रेडिट आवर पढ्नु पर्छ । त्यस्तै सबै सेमेष्टरमा गरी त्रिविले यसलाई १२० क्रेडिट आवर अध्ययन गर्नुपर्ने गरी कोर्स तयार गरेको छ ।

त्यसैगरि पोखरा विश्वविद्यालयमा विद्यार्थीले ८ औं सेमेष्टर सम्म १२० क्रेडिट आवर पढ्नु पर्छ । काठमाडौं विश्वविद्यालयमा र पूर्वाञ्चल विश्वविद्यालयमा पनि विद्यार्थीले १२० क्रेडिट आवर पढ्नु पर्ने हुन्छ ।

बीबीएमा अध्ययन गर्नुपर्ने मूख्य विषयहरुमा एकाउटिङ, फाइनेन्सीयल म्यानेजमेण्ट, मार्केटिङ, क्वान्टिटेटिभ टेक्निक्स, बिज्नेश ल एण्ड इथिक्स, हिउमन रिर्सोस म्यानेजमेण्ट, ओपरेसन म्यानेजमेण्ट, इकोनोमिक्स, म्यानेजमेण्ट इन्र्फोमेसन सिस्टम जस्ता विषय रहेका छन् ।

भर्नाका आधार

बीबीए अध्ययन गर्ने विद्यार्थीहरुले प्लस टुमा साईन्स वा म्यानेजेमेण्ट अध्ययन गरेको हुनुपर्छ भने परीक्षामा अनिवार्य १.८ जिपिए ल्याएको हुनुपर्दछ । त्रिवि अन्तर्गतको कलेजहरुमा भर्ना हुनका लागि विद्यार्थीले सीम्याटको प्रवेश परीक्षामा सामिल भई उत्तीर्ण हुनैपर्ने व्यवस्था छ ।

त्यसैगरी, काठमाडौं विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीले अनिवार्य रुपमा क्युम्याटको प्रवेश परीक्षामा उत्तीर्ण हुनुपर्ने नियम बनाएको छ ।

बीबीए पछिको अवसर

व्यवस्थापन पढेका जनशक्तिले कर्पोरेट हाउस, बैंक, फाइनान्स, इन्स्योरेन्स, शिक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठन, सरकारी तथा गैरसरकारी क्षेत्र लगायतमा सम्मानित रोजगारी पाउने गरेका छन् । बीबीए पढेको विद्यार्थीले आफूले नै व्यवसाय सञ्चालन गर्न पनि सक्षम हुन्छन् । व्यवस्थापनका जुनसुकै विषय पढेका विद्यार्थीले रोजगारीका लागि गल्लीगल्ली भौतारिनु पर्ने अवस्था नभएका कारण जुनसुकै कलेजमा पनि यो समूहका विषयमा विद्यार्थीको आकर्षण धेरै भएको सहायक डीन अधिकारी बताउँछन् । ‘पढेर विद्यार्थीले जागरिको लागि भौतारिनु पर्ने अवस्था आउँदैन यसको स्कोप वृहत छ ।’ उनी भन्छन्, ‘यसका लागि विद्यार्थीमा मेहनत गर्ने बानी र पढाइमा लगनसील हुनुपर्यो ।’

बैंक, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, प्रशासक लगायत क्षेत्रमा उत्कृष्ट अवसर पाउने भएपछि विद्यार्थीले व्यवस्थापन विषय पढ्न थालेका छन् । सैद्धान्तिक र व्यावहारिक दुवै विषय पढाइ हुने भएको कारण बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्छ । त्यसैले पनि यसको आकर्षण बढ्दो छ ।

बीबीए अध्ययन शुल्क

बीबीए अध्ययन गर्नका लागि हरेक कलेजमा शुल्क फरक फरक छ । कलेजले प्रदान गर्ने सेवा र सुविधाको आधारमा मूल्य तोकिएको हुन्छ । चार वर्षे बीबीएको लागि विद्यार्थीले करिब ४ लाख देखि १५ लाख रुपियाँ सम्म खर्च गर्नुपर्ने हुन्छ ।

A Levels MA
Thuprai - Books and E-books