
१६ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शिक्षाध्यक्षमा प्रा. डा. अञ्जना सिंह र रजिस्ट्रारमा प्रा. डा. रवीन्द्र शिवाकोटी नियुक्त भएका छन्।
उपकुलपतिको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री बालेन्द्र शाहले सिंहलाई शिक्षाध्यक्ष र शिवाकोटीलाई रजिस्ट्रारमा नियुक्त गरेका हुन्।
शिक्षा मन्त्रालयका अनुसार नवनियुक्त शिक्षाध्यक्ष सिंह र रजिस्ट्रार शिवाकोटीले आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिनेछन्।
शिवाकोटी त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायका प्राध्यापक हुन् भने सिंह विज्ञान संकायअन्तर्गत केन्द्रीय सूक्ष्मजीव विज्ञान विभागकी प्राध्यापक हुन्।
सरकारले गत वैशाखमा अध्यादेशमार्फत त्रिभुवन विश्वविद्यालयका तत्कालीन पदाधिकारीहरूलाई पदमुक्त गरेको थियो। त्यसपछि गत असारमा उपकुलपति नियुक्त भए पनि शिक्षाध्यक्ष र रजिस्ट्रारको नियुक्ति भने हुन सकेको थिएन।




