शिक्षा मन्त्रालयको प्रस्ताव अर्थ मन्त्रालयद्वारा ठाडै अस्वीकार

निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ लाई कार्यान्वयन गर्ने सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ९ मा रजिष्ट्रेसन शुल्क नलिने भनी गरेको प्रस्ताव ठाडै अस्वीकृत भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थ मन्त्रालयमा यसखाले प्रस्ताव लिएर गएको थियो । तर अर्थ मन्त्रालयले सो सम्भव नभएको प्रष्ट गरेको छ ।

विद्यालय तहमा हाल कक्षा ९ र कक्षा ११ मा दोहोरो रजिष्ट्रेसन गर्ने गरिएको छ । एउटै विद्यार्थीको दोहोरो रजिष्ट्रेसन गर्दा आर्थिक भार पर्ने भन्दै राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरुले गत वर्ष नै कक्षा ११ मा रजिष्ट्रेसन गर्नु नपर्ने घोषणा गरेको थिए । तर त्यसको पनि कार्यान्वयन भएको छैन ।

शिक्षा मन्त्रालय उच्च सूत्रका अनुसार कक्षा ९ मा गरिने रजिष्ट्रेसन मिनाहाका बारेमा शिक्षामन्त्री विद्या भट्टराईले अर्थमन्त्रीसँग कुराकानी पनि गरेकी थिइन् । तर अर्थमन्त्रीले अहिले राजस्वमा आएको कमीले गर्दा यसतर्फ सोच्न नसकिने जनाउ दिएका थिए । शिक्षा सचिवले अर्थ सचिवसँग पनि यसै मामिलामा कुरा गरेका थिए । तर अर्थ सचिवबाट पनि यस्तै जवाफ पाएपछि शिक्षा सचिव निरास भएर फर्किएका थिए ।

शिक्षा मन्त्रालय उच्च सूत्रका अनुसार हाललाई कक्षा ९ मा रजिष्ट्रेसन वापतको शुल्क उठाउने मामिलामा असफलता हात परे पनि कक्षा ११ मा पनि रजिष्ट्रेसन गर्नुपर्ने वाध्यतालाई अन्त्य गर्ने निर्णयको तयारी गरिएको छ ।

कक्षा ९ मा रजिष्ट्रेसन गर्दा प्रतिविद्यार्थी तीन सय रुपियाँ लिने गरिएको छ । बर्सेनि सरदर पाँच लाख विद्यार्थीले कक्षा ९ मा रजिष्ट्रेसन फाराम भर्ने गरेका छन् । यसै महिनाभित्र कक्षा ९ को रजिट्रेसन फाराम खुला हुने बताइएको छ । यसपटकबाट कक्षा ९ को रजिष्ट्रेसन फाराम अनलाइन विधिबाट भर्ने सुविधा दिइने भएको छ ।

यसैबीच राष्ट्रिय परीक्षा बोर्डले मंसिर मसान्तभित्र कक्षा ११ का विद्यार्थीको विषय दर्ता गराउन भनेको छ । बोर्डले सुरुमा शुल्क उठाउन खोजेकोमा शिक्षा मन्त्रालयले रोकेपछि बोर्डले विषय दर्ता गराउन मात्र भनेको हो । यस विषयमा निर्णय हुन बाँकी नै छ ।