बाढी प्रभावितका लागि प्याब्सनको २० करोड ८९ लाख रुपैयाँभन्दा बढी राहत सहयोग

निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) ले रसुवामा आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिक तथा विद्यालयका लागि २० करोड ८९ लाख २ हजार ९७० रुपैयाँ भन्दा बढीराहत सहयोग उपलब्ध तथा विनियोजन गरेको छ।

भदौ १०, २०८३ मा भएको उक्त विपद्पछि प्याब्सनले प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले भदौ ११ गतेदेखि देशव्यापी राहत संकलन अभियान सञ्चालन गरेको थियो।

प्याब्सनका अनुसार असोज ७, २०८३ सम्म राहत प्रयोजनका लागि कुल रु. २०,८९,०२,९७० विनियोजन गरिएको छ। उक्त रकम देशभरका सदस्य विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूबाट प्राप्त योगदानमार्फत संकलन गरिएको हो।

कुल राहत सहयोगमध्ये रु. १२ करोड भदौ २६ गते अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको थियो। त्यस्तै, रु. ३,३९,०२,९७० असोज ७ गते शिक्षामन्त्री सस्मित पोखरेलमार्फत उक्त कोषमा हस्तान्तरण गरिएको छ।

प्याब्सनले बाढी प्रभावित क्षेत्रमा पूर्ण रूपमा क्षतिग्रस्त तीन विद्यालय र आंशिक रूपमा क्षतिग्रस्त दुई विद्यालयका लागि रु. २ करोड विनियोजन गरेको छ। यसैगरी, PABSON का सदस्य विद्यालयहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रत्यक्ष रूपमा रु. ३ करोड ५० लाख जम्मा गरेका छन्। यसरी राहत तथा पुनःस्थापना प्रयासका लागि संगठनले कुल रु. २०,८९,०२,९७० संकलन वा विनियोजन गरेको जनाएको छ।

प्याब्सनका प्रमुख सल्लाहकार डी.के. ढुंगानाले बाढी प्रभावित क्षेत्रमा शिक्षाको निरन्तरता सुनिश्चित गर्न आर्थिक सहयोगबाहेक थप सहयोग गर्न संगठन तयार रहेको बताएका छन्।

उनले भने, “शिक्षकको अभावलाई अस्थायी रूपमा सम्बोधन गर्न आवश्यक परेमा हामी प्रभावित विद्यालयमा कम्तीमा एक जना शिक्षक १० देखि १५ दिनसम्म परिचालन गर्न सक्छौँ। हाम्रो विपद् राहत समितिसँग प्रभावित क्षेत्रमा शिक्षा पुनःस्थापनाका लागि दीर्घकालीन सहयोगको योजना पनि छ। हामीले विद्यालयहरूलाई आवश्यक सहयोगको पहिचान गरी माग पठाउन आग्रह गरेका छौँ। विद्यालयहरूबाट मागको सूची प्राप्त भएपछि सोहीअनुसार सहयोग उपलब्ध गराउनेछौँ।”

प्याब्सनले  राष्ट्रिय विपद् तथा संकटका समयमा राज्य र नागरिकलाई सहयोग गर्दै आएको र शिक्षा क्षेत्रको विकासमा समेत योगदान पुर्‍याउँदै आएको जनाएको छ।

राहत संकलन अभियानमा स्वेच्छिक रूपमा योगदान गर्ने सदस्य विद्यालय तथा अभिभावकप्रति आभार व्यक्त गर्दै प्याब्सनले  बाढी प्रभावित क्षेत्रमा नियमित पठनपाठनबाट वञ्चित भएका बालबालिकालाई आवश्यक शैक्षिक सहयोग उपलब्ध गराई शिक्षाको निरन्तरता सुनिश्चित गर्न प्रतिबद्ध रहेको जनाएको छ।

Degrees offered in nepal
Counseling