त्रिवि प्राज्ञिक परिषद्को पूर्ण बैठक सम्पन्न, विभिन्न शैक्षिक निर्णय अनुमोदन

त्रिभुवन विश्वविद्यालय (त्रिवि) प्राज्ञिक परिषद्को पूर्ण बैठकले विभिन्न शैक्षिक कार्यक्रमका पाठ्यक्रम स्वीकृति, ट्रान्सक्रिप्टको नमुना, मौका परीक्षा, नयाँ शैक्षिक उपाधि स्थापना, विषय थप तथा विद्यार्थी भर्ना र कोटा निर्धारणसम्बन्धी निर्णयहरू अनुमोदन गरेको छ।

प्राज्ञिक परिषद्को स्थायी समितिले आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा गरेका विभिन्न शैक्षिक निर्णयहरू पूर्ण बैठकमा प्रस्तुत गरी अनुमोदन गरिएको हो।

त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार विभिन्न अध्ययन संस्थान तथा संकायका विद्यापरिषद्, परीक्षा नियन्त्रण कार्यालयअन्तर्गतको केन्द्रीय परीक्षा समिति लगायतबाट प्राप्त प्रस्तावमा प्राज्ञिक परिषद्को स्थायी समितिले निर्णय गर्ने र ती निर्णयलाई पूर्ण बैठकले अनुमोदन गर्ने व्यवस्था छ।

बैठकलाई सम्बोधन गर्दै त्रिविका उपकुलपति तथा प्राज्ञिक परिषद्का अध्यक्ष प्रा. डा. भोला थापाले विश्वविद्यालयका पाठ्यक्रमलाई समयसापेक्ष, बजारकेन्द्रित र राज्यको नीतिसँग समन्वय हुने गरी प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

उनले त्रिविको शैक्षिक गुणस्तर तथा अन्तर्राष्ट्रियकरणमा जोड दिँदै विदेशी विद्यार्थी आकर्षित गर्ने र गुणस्तरीय शिक्षाका लागि नेपाली विद्यार्थी विदेश पलायन हुने अवस्था न्यूनीकरण गर्नुपर्ने बताए।

त्रिविका शिक्षाध्यक्ष प्रा. डा. अञ्जना सिंहले विश्वविद्यालयलाई उत्कृष्ट प्राज्ञिक संस्थाका रूपमा विकास गर्न नवप्रवर्तन र अनुसन्धानमा काम भइरहेको बताइन्। विश्वविद्यालयका शैक्षिक नीति, कार्यक्रम तथा योजना निर्माणमा प्राज्ञिक व्यक्तित्वहरूको सुझाव समेटिने उनको भनाइ थियो।

बैठकमा रजिस्ट्रार डा. रविन्द्र शिवाकोटीले पाठ्यक्रम, ट्रान्सक्रिप्टको नमुना तथा मौका परीक्षासम्बन्धी निर्णय अनुमोदनका लागि प्रस्तुत गरेका थिए। शिक्षाध्यक्ष सिंहले शैक्षिक उपाधि स्थापना, शैक्षिक कार्यक्रम, विषय थप तथा विद्यार्थी कोटा थपसम्बन्धी निर्णय प्रस्तुत गरेकी थिइन्।

त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अनुसार प्राज्ञिक परिषद्मा अध्यक्षसहित ५० जना सदस्य रहने व्यवस्था छ।

Degrees offered in nepal
Counseling