After SEE Portal

एसईई नियमित प्रक्रिया नै होः अध्यक्ष शर्मा (लेटरग्रडिङ निर्देशिका र सहयोगी पुस्तिका सहित)

Bridge Course

माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुन दुई दिन मात्र बाँकी छ ।  यो वर्ष  माध्यमिक शिक्षा पाठ्यक्रम २०७८ अनुसार  पहिलो पटक एसईई परीक्षा सञ्चालन हुँदै छ ।

परीक्षा जटिल हुन्छ भनेर बालबालिकामा एक खालको मनोवैज्ञानिक त्रास उत्पन्न गराइएको भए पनि परीक्षा नियमित प्रक्रिया जस्तै सहज र सरल हुने हुँदा नआत्तिकन परीक्षामा सहभागी हुन बोर्डले आग्रह गरेको छ ।    बोध तहका प्रश्नपत्र बढी सोधिने हुँनाले परीक्षा सरल हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । ‘सबै प्रश्न बोधतहबाट सोधिएको छ, सरलबाट सुरु भएर स्तर अनुसार केही जटिल प्रश्न छन् ।’ उनले भने,‘विद्यार्थीले आफ्नो ज्ञान, बोध, र संज्ञानात्मक ज्ञानका आधारमा नै उत्तर दिन सक्छन् परीक्षा सजिलो छ ।आत्तिनु पर्दैन राम्ररी बुझेर परीक्षा दिए हुन्छ ।’

त्यसैगरी  बोर्डका अध्यक्ष डा महाश्रम शर्माले परीक्षा एउटा नियमित प्रक्रिया भएको र विद्यार्थीहरू यस प्रकारका धेरै परीक्षाहरूमा सहभागी भई यहाँसम्म आइपुगेको हुँदा सदा जस्तै यो पटक पनि परीक्षा सहज रुपमा सम्पन्न हुने कुरामा राष्ट्रिय परीक्षा बोर्ड विश्वस्त भएको धारणा व्यक्त गरे ।

बोर्डद्वारा सञ्चालन हुने उक्त परीक्षालाई स्वच्छ, व्यवस्थित, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न गराउन परीक्षासँग प्रत्यक्ष र परोक्ष रुपमा संलग्न सबै सरोकारवालाहरूबाट भएको समन्वयात्मक प्रयासहरूप्रति हार्दिक आभार व्यक्त गर्दै परीक्षा सम्पन्न नहुँदासम्म आवश्यक सहयोग र समन्वयका लागि  उनले अपिल समेत गरे ।

 कसरी मूल्याङ्कन हुन्छ !

बालबालिकामा ३५ प्रतिशत भन्दा कम अङ्क ल्याउनेलाई अवर्गीकृत ग्रेडमा पर्ने भन्ने चिन्ता छ । तर  यो चिन्ता लिन आवश्यक नरहेको नियन्त्रक पौडेल बताउँछन् । प्रश्नमा नै समस्या खोजेर पत्ता लगाउन सक्ने सरल खालका भएको हुँदा संयमित भएर बुझेर प्रश्नको समाधान गरे कोही आत्तिनु नपर्ने उनको बुझाइ छ ।

सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा कम आएमा, आन्तरिक मूल्याङ्कनमा ४० प्रतिशतभन्दा कम आएमा ग्रेड सिटमा नट ग्रेडेड लेखिने छ । उक्त एनजी आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउँदैनन ।

सैद्धान्तिक परीक्षामा ३५ भन्दा कम प्रतिशत अङ्कभार र आन्तरिक मूल्याङ्कनमा ४० भन्दा कम प्रतिशत अङ्कभार आएमा ग्रेड सिटमा * स्टार दिइने छ ।  दुई विषयसम्म एनजी ल्याएका वा दुई विषयमा अनुपस्थित भई अन्य सबै विषयमा ३५ र सोभन्दा बढी प्रतिशत ल्याएका विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् भने दुईभन्दा बढी विषयमा एनजी प्राप्त गरेका वा अनुपस्थित विद्यार्थीले पुनः सोही कक्षाको नियमित पठनपाठन व्रिmयाकलापमा सहभागी हुनुपर्ने निर्देशिकाले व्यवस्था गरेको छ ।

आन्तरिक÷प्रयोगात्मक परीक्षामा कम्तीमा सी ग्रेड र सैद्धान्तिक परीक्षामा कम्तीमा डी ग्रेड ल्याएमा मात्र स्तरीकृत अङ्क औसत एभरेज जीपीएसहितको ग्रेड सिट दिइने छ ।

आन्तरिक मूल्याङ्कनका आधार

आन्तरिक मूल्याङ्कनअन्तर्गत सहभागिताबापत ३, प्रयोगात्मक तथा परियोजना कार्यबापत १६ र त्रैमासिक परीक्षाबाट प्राप्त ६ अङ्कभारमा विद्यार्थीले पाएको अङ्कभार प्रदान गरिने निर्देशिकामा उल्लेख छ ।

त्रैमासिक परीक्षाका लागि ७५ प्रतिशत अङ्कभारमा परीक्षा सञ्ंचालन गरी ६ अङ्कभारमा रूपान्तरण गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

वर्षभरिको सहभागिताबापतको ३ अङ्कमा विद्यार्थीले पाएको अङ्कभार राख्ने, वर्षभरिको प्रयोगात्मक तथा परियोजना कार्यबापतको १६ अङ्कमा विद्यार्थीले पाएको अङ्कभार राख्ने र वर्षभरिको त्रैमासिक परीक्षाबापतको ६ अङ्कभारका लागि दुईओटा त्रैमासिक परीक्षामा पाएको ६–६ अङ्कभारलाई ३–३अङ्कभारमा रूपान्तरण गरी विद्यार्थीले पाएको जम्मा अङ्कभार दिइन्छ ।

चैत १५ गते बिहीबारदेखि शुरु हुने २०८० सालको एसईईमा सामुदायिक र संस्थागत गरी जम्मा १० हजार ८०६ ओटा विद्यालयहरूबाट जम्मा ५, लाख ४ हजार ,४१४ (छात्रा २,५०,७७२ र छात्र २,५३,६२७, अन्य १५)  परीक्षार्थीहरू २०६४ परीक्षा केन्द्रबाट परीक्षामा  दिँदैछन् ।

कुल परीक्षार्थीहरूमध्ये ५०६ विद्यालयका १५ हजार ,७४९ जना परीक्षार्थीहरू प्राविधिक धार तर्फका छन् । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक–सहयोगी कर्मचारी र सुरक्षाकर्मी समेत गरी जम्मा ७७ हजार ,५०५जना जनशक्ति प्रत्यक्ष रुपमा परीक्षा केन्द्रमा खटिनेछन् ।

एसईईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सातओटै प्रदेशका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको समन्वयमा ७७ ओटै जिल्ला परीक्षा समन्वय समितिहरूबाट परीक्षामा खटिने केन्द्राध्यक्ष लगायतका जनशक्तिलाई अभिमुखीकरण गर्ने कार्य सम्पन्न  राष्ट्रिय परीक्षा बोर्डले गरिसकेको छ ।

प्रश्नपत्र, उत्तरपुस्तिका लगायत परीक्षासँग सम्बन्धित सामग्रीहरू नजिकैको सुरक्षा निकाय र परीक्षा केन्द्रमा पुऱ्याउने जस्ता तयारी सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न भइसकेको बोर्डले जनाएको छ ।

लेटर ग्रेडिङ निर्देशिका

लेटर ग्रेडिङ पद्धति: सहयोगी पुस्तिका

A Levels MA
Thuprai - Books and E-books