After SEE Portal

पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौं दीक्षान्त समारोह सम्पन्न, सात हजारभन्दा बढी विद्यार्थी दीक्षित

Bridge Course

पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौँ दीक्षान्त समारोह आज सम्पन्न भएको छ । दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने सात हजार ८५६ विद्यार्थी दीक्षित भएका छन् ।

आज आयोजित दीक्षान्त समारोहमा नारायण ढुङ्गानालाई  ‘गोल्ड मेडल’ प्रदान गरिएको छ । विश्वविद्यालयका कूलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आमसञ्चार तथा पत्रकारिताअन्तर्गत स्नातकोत्तर तहमा विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याउन सफल ढुङ्गानालाई उक्त पदक प्रदान गरेका हुन् ।

कान्तिपुर सिटी कलेजको ‘ब्याच २०२०’का छात्र ढुङ्गानाले सिजिपिए तीन दशमलव ७५ ल्याएर उत्कृष्ट भएका थिए ।

त्यसैगरी सो समारोहमा कला सङ्कायमा स्नातक तहमा ८२ र स्नातकोत्तर तहतर्फ ७६ जनालाई दीक्षान्त उपाधि प्रदान गरिएको छ । कानुन सङ्कायमा स्नातकतर्फ २६४ र स्नातकोत्तर १०७, शिक्षाशास्त्र सङ्कायतर्फ स्नातक तहमा ६३६ र स्नातकोत्तरतर्फ १६७, व्यवस्थापन सङ्कायमा स्नातक तहतर्फ एक हजार ५४२, स्नातकोत्तरतर्फ ७६० र एमफिल तहका तीन जनालाई उपाधि प्रदान गरिएको छ ।

विश्वविद्यालयका अनुसार विज्ञान तथा प्रविधि सङ्काय स्नातकतर्फ६३४, स्नाकोत्तरतर्फ ५२ जना विद्यार्थीलाई दीक्षित गरिएको छ । साथै इञ्जिनियरिङ सङ्काय स्नातकतर्फ ८९२, स्नातकोत्तरतर्फ १०८ जनालाई दीक्षित गरिएको छ ।

चिकित्साशास्त्र सङ्काय स्नातकतर्फ दुई हजार ४६३, स्नातकोत्तर तहमा १५ जना गरी जम्मा दुई हजार ४७८ जनालाई उपाधि प्रदान गरिएको छ।

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्कृष्ट विद्यार्थीलाई उपाधि प्रदान गरेका थिए । प्रधानमन्त्री दाहालले भने, “विश्वविद्यालयको हित र उन्नतिका लागि नेपाल सरकारबाट सधैँ साथ सहयोग रहने छ, आगामी दिनमा गुणस्तरीय शिक्षाका लागि थप प्रेरणा प्राप्त होस् ।” 

प्रधानमन्त्री दाहालले आजै एमविविएस शैक्षिक कार्यक्रम सञ्चालनका लागि नवनिर्मित भवन पनि उद्घाटन गरेका थिए।

समारोहमा प्रमुख अतिथि एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति, शिक्षाविद् तथा पूर्वराजदूत केदारभक्त माथेमाको सहभागिता रहेको थियो ।

पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा विश्वविद्यालयका उपकुलपति डा शैलेषमणि पोखरेलले समुदायको आवश्यकता र प्राथमिकताका आधारमा विश्वविद्यालयको अध्ययन, अनुसन्धानको दायरा क्रमशः विस्तार गर्दै लैजाने नीति लिइएको बताए ।

‘पूर्वाञ्चल विश्वविद्यालय समुदाय’मा भन्ने नाराका साथ स्थानीय सरकारद्वारा सञ्चालित केही सामुदायिक शैक्षिक संस्थालाई शैक्षिक कार्यक्रम सञ्चालनको स्वीकृति प्रदान गर्नुका साथै प्रदेश, स्थानीय सरकार तथा समुदायको आवश्यकता र प्राथमिकताका आधारमा विश्वविद्यालयको अध्ययन, अनुसन्धानको दायरा क्रमशः विस्तार गर्दै लैजाने नीति लिइएको उनले बताए  ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा विसं २०५२ मा विश्वविद्यालय स्थापना भएको हो । विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा नर्सिङ, पब्लिक हेल्थ, फार्मेसी, कृषि, वनविज्ञानलगायतका कोर्सको अध्यापन भइरहेको छ ।

A Levels MA