After SEE Portal

कोहलपुर नगरपालिकामा कक्षा ८ को नतिजा प्रकाशनमा अनियमितता ठहर

Bridge Course

कक्षा ८ को नतिजा प्रकाशनका सम्बन्धमा व्यापक अनियमिता गरेको आरोपमा बाँकेको कोहलपुर नगरपालिकाको शिक्षा शाखाका कर्मचारीहरु कारवाहीमा परेका छन् । यो घटना देशभरिका पालिकामध्ये सबैभन्दा चर्चित बन्न पुगेको छ । 

नतिजा प्रकाशनमा अनियमितता भएको उजुरी परेपछि पालिकाले गत चैत २५ गते कार्यपालिका सदस्य वीरेन्द्रकुमार शाहको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिका सदस्यहरुमा रामप्रसाद चापागाई (नेपाल शिक्षक महासङ्घ, कोहलपुर), बीएल भारती (क्रिसा कोहलपुर), सुमित्रा न्यौपाने (प्रअ जनज्योति मावि चपरगौडी) रहेका थिए भने सदस्यसचिवका रुपमा नगर प्रहरी प्रमुख वीरबहादुर थापालाई तोकिएको थियो ।

छानविनपछि प्रतिवेदन सार्वजनिक गरिएको छ । सोआधारमा कोहलपुर नगरपालिकाको शिक्षा शाखा प्रमुख रामबहादुर हमाललाई काज फिर्ता गर्ने, शिक्षा शाखा अधिकृत सातौँ रवीलाल मिजारलाई निलम्बन गर्ने, शिक्षा शाखा सहायक पाँचौँ बलबहादुर नेपालीलाई विभागीय कारवाही गर्ने र कार्यालय सहयोगी भरत थारुलाई पनि कारवाही गर्ने भएको छ । 

गत चैत २ देखि ९ गतेसम्म सञ्चालित कक्षा ८ को परीक्षामा ५२ विद्यालयका दुई हजार ८११ जना परीक्षामा सम्मिलित भएका थिए । तीमध्ये संस्थागततर्फ ६९.८७ प्रतिशत र सामुदायिक तर्फ १४.८० प्रतिशत अर्थात् समग्रमा ३८.३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । बढी विद्यार्थी अनुत्तीर्ण भएका पाइएपछि अनियमितताको बीउ रोपिएको पाइएको छ ।

छानविनका क्रममा विभिन्न विद्यालयका परीक्षकले आफ्ना विद्यार्थीको उत्तरपुस्तिका आफैँले जाँच गरेको पाइएको, परीक्षणका लागि उत्तरपुस्तिका बुझ्दा फरक विद्यालयको बुझे पनि पछि उत्तरपुस्तिका साटेर आआफ्नो विद्यालयको परीक्षण गरेको, विद्यार्थीको प्राप्ताङ्कभन्दा बढी अङ्क कम्प्युटरमा इन्ट्री भएको, शाखा अधिकृतको कार्यकक्षमा बसेर शिक्षण सिकाइ सहजकर्ता रोमिना खत्रीले नयाँ कपी थप गरी प्रश्न हल गरेको, कतिपयको बाहिरी र भित्री पाना साटिएको लगायतका बदमाशी फेला परेको थियो ।

एउटा प्रश्नको दुई ठाउँमा अङ्क प्रदान गरेको, विद्यार्थीको प्राप्ताङ्कलाई केरमेट गरिएको, लापरवाही तरिकाले उत्तरपुस्तिका परीक्षण गरेको पनि फेला परेको थियो ।

प्रतिवेदनमा उल्लेख गरिएको छ, “कोहलपुर नगरपालिकाको आधारभूत तहको परीक्षाको उत्तरपुस्तिका परीक्षणका क्रममा पन्चमुखी मिडियम स्कुल कोहलपुरकी शिक्षक आशा देवकोटा, सोही विद्यालयका शिक्षक रविन बमलाई छानविनका क्रममा सोधपुछका लागि सम्पर्क गर्दा निज सम्पर्कविहीन भई नआएको, कोहलपुर सिटी स्कुलका शिक्षक डम्बरबहादुर खत्री, ब्राइट लाइट एकेडेमी स्कुलका शिक्षक कुबेर ढकाल, वेस्टर्न इङ्लिस मिडियम सेकेन्डरी स्कुलका शिक्षक रमेशकुमार थारु, कोहलपुर सिटी एकेडेमी स्कुलका शिक्षक उमेश केसी समेतले परीक्षाको मर्यादा विपरीत अनुत्तीर्णलाई नम्बर बढाइ उत्तीर्ण बनाएको, कम प्राप्ताङ्कलाई वृद्धि गरी बढी बनाएको, नमिलेको उत्तरमा समेत अङ्क दिएको, कुल प्राप्ताङ्कलाई केरमेट गरी सच्याई अङ्क बढाएको समेतको कार्य गरी लापरवाहीपूर्वक उत्तरपुस्तिका परीक्षण गरेको प्रष्ट देखिएकोले प्रचलित कानुन, ऐन नियम आकर्षित हुने गरी दोषी देखिन्छन् ।”

प्रतिवेदनले कोहलपुर सिटी एकेडेमीका सञ्चालक प्रशान्त रिजालले निर्देशन र नगरपालिकाको परीक्षा शाखा प्रमुखसँगको मिलेमतोमा नगर शिक्षा शाखाबाट आफ्नो विद्यालयका चार जना विद्यार्थीको छ थान उत्तरपुस्तिका लिएर उक्त सक्कल उत्तरपुस्तिका हटाइ अर्काे नक्कली उत्तरपुस्तिका तयार पार्ने क्रममा उत्तरपुस्तिका लेखनमा सहयोग गर्ने रोमिना खत्री र लेखन तथा ओसारपासारमा समेत सहयोग गर्ने व्यक्तिलाई पुनः सोधपुछका लागि बोलाउँदा समेत उपस्थित नहुने कोहलपुर सिटी एकेडेमीका आभासविक्रम क्षेत्री र सञ्चालक प्रशान्त रिजाल दोषी देखिएको ठहर गरेको छ ।

कोहलपुर सिटी एकेडेमीका महिला शिक्षक हीरा केसीले सोधपुछका क्रममा आफूले विद्यार्थीको उत्तरपुस्तिका आफैँ लेखेको बताएको र कम्प्युटरमा समेत गलत नम्बर इन्ट्री गराएको स्वीकार गरी जवाफ लेखाएकोले निज केसी दोषी रहेको छानविन प्रतिवेदनले ठहर्याएको छ ।

शिक्षक सहजकर्ता रोमिना खत्रीले उत्तरपुस्तिका परीक्षणपछि कपी थप गरी अनुत्तीर्ण भएकोलाई उत्तीर्ण हुने गरी कम्प्युटरमा गलत नम्बर चढाइ कसुर गरेको र बाल विकास शिक्षिका राधिका मल्लले पनि खत्रीलाई सघाएर मिलेमतो गरेकोले दोषी ठह¥याएको छ ।

कोहलपुर नगरपालिका नगर कार्यपालिकाको हिजो सोमबार बसेको बैठकले दोषी देखिएकाहरुलाई कारवाही गर्ने निर्णय गरेको थियो ।

नगरप्रमुख पूर्ण आचार्यले प्रतिवेदन सार्वजनिक गर्दै दोषी ठहर भएकाहरुलाई हदैसम्मको कारवाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

 

A Levels MA