After SEE Portal

आजदेखि कार्तिक मसान्तभित्र एसईईको रजिष्ट्रेसन फाराम भरिसक्नु पर्ने (साप्ताहिक शैक्षिक गतिविधि असोज असोज ९–१५)

Bridge Course

 

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को रजिष्ट्रेसन र आवेदन फाराम आजदेखि कार्तिक मसान्तभित्र भरिसक्नु पर्ने भएको छ । बोर्डले २०७९ सालको एसईईका लागि रजिष्ट्रेसन फाराम र २०७८ को एसईई आवेदन फारम खुला गरेको हो ।

बोर्डका अनुसार एसईईमा आवेदन फाराम भर्न साधारण र प्राविधिक धारतर्फका विद्यार्थीको उमेर १४ वर्ष पूरा भएको अर्थात २०६४ साल चैत मसान्तसम्मको जन्म मिति भएको हुनुपर्ने सूचनामा स्पष्ट गरिएको छ । आवेदन फाराम भर्न प्रतिविद्यार्थी पाँच सय रुपियाँ कायम गरिएको छ ।

शिक्षक सेवा आयोगलाई शिक्षक नियुक्तिको सिफारिस गर्न १७ हजार बढी दरबन्दी प्रदान तर मुलबाटो बन्द

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई खुला तर्फ १७ हजार ४७ जना शिक्षक छनोटगरी नियुक्तिका लागि सिफारिस गर्न विवरण प्रदान गरेको छ । त्यसैगरी आन्तरिकतर्फ प्राथमिक तहमा प्रथम श्रेणीमा ४५२, द्वतीय श्रेणीमा १ हजार ६९३, निमाविमा प्रथम श्रेणीमा ७८, द्वतीय श्रेणीमा ४७८ र मावितर्फ प्रथम श्रेणीमा १२४ र द्वतीय श्रेणीमा ४८४ जनालाई सिफारिस गर्न अनुमति दिएको छ । तर शिक्षक सेवा आयोग आफ्नो नियमावली संशोधन नगरी केही गर्न नसक्ने अवस्थामा रहेको छ ।

पुरानो सरकारकै पालामा नियमावली संशोधनका लागि मन्त्रीपरिषद्मा पठाएको प्रस्ताव छलफलमा नै नलगिएपछि आयोगलाई विज्ञापन गर्ने मुलबाटो बन्द नै छ । आयोग अहिले फर्ख र हेरको अवस्थामा पुगेको छ । यससंगै केन्द्रले जिल्लान्तर शिक्षक सरुवा रोक्का गरेको छ ।

शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि जिल्लान्तर शिक्षक सरुवा रोक्का गरिएको केन्द्रले जनाएको छ । केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले आयोगमा विज्ञापनका लागि रिक्त पद सङ्ख्या पठाइसकिएकाले सरुवा रोक्का गर्नुपरेको बताए ।

प्रस्तावका आधारमा प्रधानाध्यापक छनोट

कोहलपुर नगरपालिकाले विद्यालय विकास प्रस्तावका आधारमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया अगाडि बढाएको छ । विद्यालयका योग्यता पुगेका सबै शिक्षक प्रस्तुत गरेको प्रस्तावका आधारमा प्रधानाध्यापक बन्न पाउने नगरपालिकाले बाटा खुला गरेको हो ।

कोहलपुर नगरपालिकाका शिक्षा प्रमुख अनन्तकुमार पौड्यालले शिक्षा नियमावलीमा भएका व्यवस्थाअनुसार प्रधानाध्यापक नियुक्ति प्रक्रिया थालिएको बताउँदै भने, “योग्य प्रधानाध्यापक छनोट गर्न यस्तो विधि अगाडि बढाएका हौँ ।”

शिक्षा नियमावली, २०५९ को नियमावलीमा विद्यालयको सम्बन्धित तहमा कार्यरत स्थायी शिक्षकहरुमध्येबाट दरखास्त आह्वान गर्नसकिने व्यवस्था छ । जुन तहका विद्यालय हो सोही तहका शिक्षकले विद्यालय व्यवस्थापन समितिसमक्ष विद्यालय विकास प्रस्ताव पेश गर्न पाउने स्पष्ट व्यवस्था छ ।

शिक्षक दरबन्दी मिलान माग गर्दै शिक्षाशाखामा ताला

शिक्षक दरबन्दी मिलानको माग गर्दै रसुवाको कालिका गाउँपालिकाको शिक्षा शाखामा स्थानीयले तालाबन्दी गरिदिएका छन् ।कालिका गाउँपालिका–१ स्थित ग्राङ आधारभूत विद्यालयमा शिक्षक दरबन्दी मिलान नगरिएको भन्दै शिक्षा शाखामा तालाबन्दी गरिएको हो।  

बिहीबार विद्यालय व्यवस्थापन समिति र अभिभावकहरू गाउँपालिकाको शिक्षा शाखामा गई तालाबन्दी गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुप्साङ तामाङले बताए।

कक्षा ११ का ९८ जना विद्यार्थीलाई छात्रवृत्ति

शैक्षिक सत्र २०७८–७९ का लागि भक्तपुर नगरपालिकाले ९८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ।नगरपालिकाले नगरपालिका क्षेत्रभित्र सञ्चालित कलेजहरुमा कक्षा ११ मा अध्ययन गर्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

नगरपालिकाभित्रका ख्वप मावि, बागीश्वरी मावि, बासु मावि, श्री पद्म मावि, आदर्शआजाद, शारदा मावि र शारदा क्याम्पसका व्यवस्थापन विषयका ४८ जना, विज्ञान विषयका ३५ जना, शिक्षा विषयका ६, मानविकी विषयका ५ र कानुन विषयका ४, जना र जना गरी ९८ जना विद्यार्थीहरुलाई नगरपालिकाले बिहीबार छात्रवृत्ति प्रदान गरेको प्रमुख एवम् छात्रवृत्ति छनोट समितिका अध्यक्ष सुनिल प्रजापतिले जानकारी दिए ।

नगरपालिकाले छात्रवृत्ति वितरण कार्यविधि २०७४ अनुसार शैक्षिक सत्र २०७८–७९ मा छात्रवृत्ति कोटामा छनोट भएका विद्यार्थीहरुलाई एक समारोहबीच छात्रवृत्ति छनोट सिफारिस पत्र प्रदान गरेका हुन् ।

चिकित्सा शिक्षाको छात्रवृत्तिका लागि संसद्मा दुईधार

चिकित्सा शिक्षा अध्ययनमा चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिने वा नदिने भन्नेमा सत्ता पक्ष र प्रतिपक्षका सांसदको मत बाझेको छ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा आज ‘चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयवासीले पाउने आरक्षण सम्बन्धमा’ गरिएको छलफलमा समिति सदस्यबीच छात्रवृत्ति दिने वा नदिने भन्नेमा मत विभाजन भएको थियो ।

साक्षर बागमती प्रदेश

यो हप्ता बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मीे शाक्यले बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेकी हुन् । सामाजिक विकास मन्त्रालय बागमतीद्वारा आयोजित एक कार्यक्रमका विच मुख्यमन्त्री शाक्यले बागमतीलाई साक्षर प्रदेश घोषणा गरेकी हुन् ।

प्रयोगमा आएन त्रिविको ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’

त्रिविले विद्यार्थीलाई एकै दिनमा ट्रान्सक्रिप्ट उपलब्ध गराउने भनेर २०७५ जेठ १३ गते आइतवारदेखि ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ शुरु गरेको थियो । २०२० सम्ममा अनलाइन प्रणालीलाई व्यवस्थित गराइन भनिए पनि अहिलेसम्म त्रिविले पुरानै इतिहास दोर्होयाउँदै आएको छ । त्रिविले अहिलेसम्म सो प्रणालीलाई उपयोग गर्न सकेको छैन ।

परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली को प्रयोगबाट एक मिनेटमा ४५ वटा ट्रान्सक्रिप्ट छाप्न सकिन्छ । सोही प्रणालीमार्फत त्रिविले रजिष्ट्रेसन, परीक्षा फाराम, नतिजा प्रकाशन, लब्धाङ्क र प्रोभिजनल सर्टिफिकेट समेत वितरण गर्नेगरी सो प्रणालीको सुरु गरेको थियो । तर विद्यार्थी अझै पनि लामो समयसम्म कुरे मात्र ट्रान्सक्रिप्ट लिन पाउँछन् ।

इडियुसञ्जाल महिना व्यक्तित्वद्वारा उपकुलपति प्राडा सिंह सम्मानित

इडियुसञ्जाल महिना व्यक्तित्वद्वारा यो महिना मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंह सम्मानित भएका छन् । इडियुसञ्जालले प्रदान गर्दै आएको महिना व्यक्तित्व पुरस्कारबाट प्राडा सिंह सम्मानित भएका हुन् । इडियुसञ्जालले उपकुलपति प्राडा सिंहलाई शिक्षा क्षेत्रमा गरेको योगदानको कदर गर्दै एक कार्यक्रमका बिच केहिदिनमा सम्मान पत्र र चिनो हस्तान्तरण गर्ने घोषणा गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books