After SEE Portal

विचित्रको त्रिवि, अझै प्रविधिको उपयोग गर्न सकेन

Bridge Course

आइतबार, इडियुपत्र संवाददाता १० बजे बिहान त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यलय (पनिका) बल्खुको काखमा रहेको नेपाल बैङ्क र ग्लोबल आइएमई शाखामा पुग्दा धनकुटा बहुमुखी क्याम्पसबाट यो वर्ष स्नातक उत्तीर्ण गरेका नविन थापा बैङ्कको प्राङ्गणमा हातमा फाइल बोकेर लाइनमा बसेको भेटे । उनी बेलुका तीन बजेसम्म लाइनमा नै बसे तर उनको पालो आएन ।

सोमबार पनि सोही ठाउँमा संवाददाताले उनलाई भेटें । भोकले निलो अनुहार लगाएका उनले सोमबार तीन बजेतिर त्रिविको रजिष्ट्रेसन कार्डका लागि भरेको २०० रुपियाँको फर्म बुझाए । छाप लगाएको निवेदन पाए । भौचरको प्रतिलिपि लिएर पनिकाको कोठा नंं. ९ मा पुगे । रजिष्ट्रेसन कार्ड लिए । दुईदिन बिहान ९ बजेदेखि लाइनमा बसेर भौचर भरेका उनी कोठा नं. ९ मा पुग्ने बितिकै रजिष्ट्रेसन कार्ड पाए पछि दङ्ग पर्दै भने, ‘सबै कोठामा यस्तै छिटो काम भइदिए पो हुन्थ्यो, टाढाबाट (लब्धाङ्कपत्र) ट्रान्सक्रिप्ट लिन भनेर आएका विद्यार्थी भोकै तिर्खै बस्नु पर्दैन थियो ।’

ट्रान्सक्रिप्टका लागि भौचर जम्मा गर्न बसेका विद्यार्थी

उनको जस्तै कथा छ सुमित्रा भट्टको  । उनी बुटवलदेखि स्नातक तहको ट्रान्सक्रिप्ट लिन भनेर एक साताअघि काठमाडौं आइन् । उनको मार्कसिटमा स्पेलिङ बिग्रिएका कारण सबै प्रक्रिया पुर्याए पनि उनको ट्रान्सक्रिप्ट बनेन । पुनः स्पेलिङ बिग्रिएको सुधार गर्न १०० रुपियाँको भौचर भरेर बिहान ९ बजे देखि लाइन बसिन् । । ४ बजे भौचरमा छाप लाग्यो ट्रान्सक्रिप्टको फारम बुझाउन १४ नम्बर कोठमा जाँदा उनको मार्कलेजर भेटिएन । उनलाई गोप्य शाखामा पडठाइयो । गोप्य शाखाका कर्मचारीले पहिले उनलाई तथ्याङ्क विवरण उपलब्ध नभएको भनेर फर्काईदियो । उनले धेरै अनुनय विनय गरेपछि गोप्य शाखाका कर्मचारीले हातैले लेखेर मार्कलेजर दिए ।

त्यस्तै मोरङको स्नातकोत्तर क्याम्पसबाट स्नातकोत्तर गरेकी एक छात्रा ट्रान्सक्रिप्ट लिन भनेर पनिका पुगिन् । बैङ्कमा करिब ४ घण्टा लाइन बसेर भौचर बुझाइन् । रजिष्ट्रेसन कार्डका लागि भरेको २०० को भौचर र कार्ड माग गरिएको फर्ममा छाप लगाएर रुम नम्बर ९ मा गएर कार्ड लिइन् । ट्रान्सक्रिप्टको फर्म बुझाउन कोठा नम्बर ७ मा पुग्दा उनलाई थाहा भयो कि बर्सौं अघि बुझाइसकेको थेसिसको नम्बर सो कोठासम्म पुगेकै रहेछ । उनलाई त्रिविको एमए गोप्य शाखा पठाइयो । उनी गइन् । त्यहाँ पुग्दा त्यहाँका कर्मचारीले नम्बर नआएको जानकारी दिए । उनले धेरै अनुनय विनय गरेपछि ती कर्मचारीले पुरानो फाइल पल्टाएर उनको नम्बर ट्रान्सक्रिप्ट माग गरिएको फारमको बाहिरपट्टि नै लेखेर ७ नम्बरमा जान उनलाई सुझाए । त्यसपछि मात्र साझतिर उनले ७ नम्बर कोठामा गएर फर्म बुझाइन् । उनलाई एउटा फारम बुझाउन दुई दिन लाग्यो । ७ नम्बर कोठाबाट उनलाई ट्रान्सक्रिप्ट लिन दर्शैंपछि आउन सुझाइयो ।

यी त प्रतिनिधि विद्यार्थी मात्र हुन् । त्रिविका सम्बन्धन प्राप्त र आङ्गिक क्याम्पसबाट विभिन्न तहमा वार्षिक करिब ८० हजार विद्यार्थी उत्तीर्ण हुन्छन् । यी सबै विद्यार्थीले त्रिविको स्थापना कालदेखि अहिले सम्म यस्तै खालका समस्या झेल्दै आएका छन् ।  पनिकाको अन्य शाखामा काम द्रुत गतिमा हुन्छ । नेपाल  बैङ्क  र ग्लोबल आइएमई बैङ्क दुईटाबाट त्रिविको खातामा रकम जम्मा गर्न पाइने भएपनि ती बैङ्कमा  एक एक जना मात्र कर्मचारी छन् । पैसा पनि सोही शाखाबाट मात्र बुझाउन पाइने, रकम जम्मा गर्ने अनलाइन प्रणालीको व्यवस्था नहुँदा विद्यार्थीले वर्सौंदेखि सास्ती झेल्दै आएका छन् । सानो कामको व्यवस्थापन त्रिविले समयमा  नै नगर्दा विद्यार्थीले अनेकैं समस्या झेल्दै आएका हुन् ।

त्रिविमा वार्षिक करिब ४ लाख भन्दा बढी विभिन्न तहका विद्यार्थी परीक्षामा सामेल हुन्छन् । त्रिविबाट उत्तीर्ण सबै विद्यार्थीले एकै ठाउँमा मात्र भौचर बुझाउनु पर्ने समस्या हुँदा विद्यार्थीले वर्सौं देखि समस्या झेल्दै आएका छन् ।

कता पुग्यो त्रिविको ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ ?

त्रिविले विद्यार्थीलाई एकै दिनमा ट्रान्सक्रिप्ट उपलब्ध गराउने भनेर २०७५ जेठ १३ गते आइतवारदेखि ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ शुरु गरेको थियो । २०२० सम्ममा अनलाइन प्रणालीलाई व्यवस्थित गराइन भनिए पनि अहिलेसम्म त्रिविले पुरानै इतिहास दोर्होयाउँदै आएको छ । त्रिविले अहिलेसम्म सो प्रणालीलाई उपयोग गर्न सकेको छैन । अहिले पनि विद्यार्थीको सबै मार्कलेजर कम्प्युटराइज्ज गरिएको छैन । तत्कालीन त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाँले सो प्रणालीको उद्घाटनसत्रमा नै शिक्षाशास्त्र संकायका मनोजकुमार सिंहलाई उक्त प्रविधिबाट बनेको प्रमाणपत्र हस्तान्तरण गरेका थिए तर अहिले कसैले पनि यो प्रणालीबाट बनेको ट्रान्सक्रिप्ट लिन पाएका छैनन् ।

त्रिविले स्नातक तहको एकहप्तामा र स्नातकोत्तर तहको दुई हप्तापछि मात्र ट्रान्सक्रिप्ट दिँदै आएको विद्यार्थीहरु बताउँछन् ।  ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ को प्रयोगबाट एक मिनेटमा ४५ वटा ट्रान्सक्रिप्ट छाप्न सकिन्छ । सोही प्रणालीमार्फत त्रिविले रजिष्ट्रेसन, परीक्षा फाराम, नतिजा प्रकाशन, लब्धाङ्क र प्रोभिजनल सर्टिफिकेट समेत वितरण गर्नेगरी सो प्रणालीको सुरु गरेको थियो । तर विद्यार्थी अझै पनि लामो समयसम्म कुरे मात्र ट्रान्सक्रिप्ट लिन पाउँछन् ।

विद्यार्थीलाई सजिलोका लागि टोकन प्रणालीमार्फत एकै ठाउँमा शुल्क र फाराम बुझाएपछि सोही ठाउँबाट एकै दिनमा ट्रान्सक्रिप्ट उपलब्ध गराइने गरी सो प्रणालीको सुरुआत गरिएको भए पनि अहिलेसम्म त्रिविले सो प्रणालीको प्रयोग गरेको छैन ।

वार्षिक २९ हजारदेखि ८० हजार सम्म विद्यार्थी उत्तीर्ण

२०७७ असार १ गते देखि जेठ मसान्त सम्म २९ हजार ७२९ जना विद्यार्थीले ट्रान्सक्रिप्ट लिएका छन् । ती मध्ये चिकित्सा शिक्षा अध्ययन संस्थानका १ हजार ३४०, इन्जिनियरिङ अध्ययन संस्थानका ८२६ ,विज्ञान तथा प्रविधि अध्ययन संस्थानका २ हजार ९७४,पशु विज्ञान अध्ययन संस्थानका ४६२, वन विज्ञान अध्ययन संस्थानका २७९, व्यवस्थापन संकायका ८ हजार ३४३, शिक्षाशास्त्र संकायका ७ हजार ११८, मानविकीका ७ हजार ५०७, कानुन संकायका ८८० जनाले ४७ औं दीक्षान्त समारोहमा दीक्षित हुनका लागि आवेदन दिएका छन् ।

त्यसैगरी, २०७६ असार १ गतेदेखि  जेठ ३१ गतेसम्म विद्यावारिधी,एमफिल,स्नातकोत्तर र स्नातम तहका गरी ५६ हजार ७ सय १३ विद्यार्थीले ट्रान्सक्रिप्ट लिएका थिए । ती विद्यार्थी ४६ औं दीक्षान्त समारोहमा दीक्षित भए ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार , २०७५ असार १ गतेदेखि  जेठ ३१ गतेसम्म विद्यावारिधी,एमफिल,स्नातकोत्तर र स्नातम तहका गरी  ७० हजार ७७ विद्यार्थी योग्य थिए । तै पनि ४५ औं दीक्षान्त समारोहमा १० हजार १८४ विद्यार्थी मात्र  सहभागी भए  ।

त्यस्तैगरी त्रिविले ४४ औं दीक्षान्त समारोहमा ७४ हजार २८४ विद्यार्थीलाई दीक्षित गरेको थियो ।  त्यस्तै त्रिविको ४३ औं दीक्षान्त समारोहमा ८ हजार २६७ जना विद्यार्थी दीक्षित भएका थिए । यो भन्दा संख्यात्मक रुपमा धेरै विद्यार्थी उत्रीर्ण भएको भए पनि केही विद्यार्थीले ट्रान्सक्रिप्ट नै लिन नआउने केही विद्यार्थीले दीक्षान्त समारोहका लागि आवेदननै नदिने हुँदा उक्त वर्षहरुमा त्रिविबाट उत्तीर्ण हुने विद्यार्थीको संख्या यो भन्दा बढी भएको त्रिवि योजना निर्देशनालयले जानकारी दियो ।

A Levels MA
Thuprai - Books and E-books