एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुला गरिँदै

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ काे रजिष्ट्रेसन फाराम र कक्षा १० काे आवेदन फाराम खुला गर्ने भएको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने निकायका बारेमा टुङ्गो लाग्न नसके पनि रजिष्ट्रेसन र आवेदन फाराम खुला गर्ने भनी बोर्ड बैठकले निर्णय गरेको छ । 

परीक्षा नियन्त्रक (कक्षा १०) रामराज खकुरेलले बोर्डले त्यसका लागि बाटो खुला गरिदिएको जानकारी दिँदै भने, “आगामी साता दुवै फाराम भर्नका लागि सूचना सार्वजनिक गर्ने भएका छौँ ।”

विगतका वर्षमा प्रायः असोजको पहिलो सातामा दुवै फाराम खुला गरिन्थ्यो । यो वर्ष एसईई सङ्घ (रापबोर्ड)ले वा प्रदेशले वा गत वर्ष जस्तै विद्यालयले सञ्चालन गर्ने भन्ने प्रष्ट नभएकाले फाराम खुला गरिएको थिएन । 

“कसले र कुन विधिबाट परीक्षा सञ्चालन गर्ने भन्ने अझैसम्म अन्योल नै छ” परीक्षा नियन्त्रक खकुरेलले थपे, “पछि जसले परीक्षा लिए पनि भरिएको फाराम काम लाग्ने भएकाले फाराम भर्न लगाउने निर्णय गरिएको हो ।” बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई गत महिना नै यस बारेमा निर्णय गरेर बाटो फुकाइदिन आग्रह गरेको थियो । 

उनले आगामी माघ मसान्तसम्मको समयावधि दिएर फाराम भर्न लगाइने जानकारी दिए । “विगतमा जस्तै विद्यार्थीले विद्यालयमा फाराम भर्नु पर्नेछ । भरिएको फारामलाई विद्यालयले सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनुपर्नेछ” उनले भने । कोभिड–१९ का कारण विद्यार्थी आफ्नो जिल्लामा रहे पनि अब यी फाराम भर्न आफू अध्ययन गरेको विद्यालयसम्म जानैपर्ने हुन्छ । यी दुवै फाराम भर्न ३५ दिने सूचना सार्वजनिक गर्ने चलन छ । एकाइले नै विद्यार्थीको सिम्बोल नम्बर कायम गर्ने व्यवस्था छ । एसईईका लागि आवेदन फारामको शुल्क पाँच सय रुपियाँ र रजिट्रेसन फारामका लागि तीन सय रुपियाँ रहेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal