Edusanjal +2 Scholarship 2022

अथक परिश्रमले त्रिविको तीनओटा मेडल दिलायो

Thuprai - Books and E-books

केही शान्त स्वभाव । आँखाभरि जिज्ञासा र केही गरौं गरौं भन्ने भावले ओतप्रोत । घाटीमा तीनतीन ओटा गोल्ड मेडल सजिएका । भखरै पलाएको पालुवा उकुस मुकुस भएर क्षितिजको स्पर्ष गरेंझै प्रफुल्ल देखिन्थे त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको कृषि अन्तगर्तको वागवानीबाट स्नातकोत्तर गरेर आज मात्र दिक्षित भएका भवानी पाण्डेय ।

पाण्डेयको शिक्षा

हाल कैलाली १३ बसोबास गर्दै आएका उनको जन्मथलो बैतडी हो । बुबा भरत राज पाण्डेय र आमा यशोदा देवी पाण्डेयका कान्छा छोराका रुपमा जन्मिएका उनले कक्षा ८ सम्मको प्राथमिक शिक्षा स्थानीय ज्ञान निकेतन स्कूलबाट गरे । त्यसपछि सिद्धार्थ शिशुसदनबाट एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेका हुन् । त्यसैगरी प्लसटु नास्ट एकेडेमीबाट (प्रथम श्रेणीमा) गरे । स्कुल तहसम्ममा उनी पढाइमा आफू सामान्य रहेको बताउँछन् । केही विषयमा कमजोर पनि थिए । तर विस्तारै मेहेनत गरेपछि पछि उनले कमजोर विषयहरुमा राम्रो गर्न सफल भए ।

उनका बुबा उद्योग बाणिज्य संघ कैलालीमा काम गर्छन् । मध्यम वर्गीय परिवारका उनले पढ्दा आर्थिक समस्या सिधैं झेल्नु परेन । उनका लागि बुबा र दाजु दिदीले सबै प्रबन्ध गरिदिएपछि सहजै पढ्न पाएको बताउँछन् ।

त्यसपछिको उच्च शिक्षाको गन्तब्य रामपुर त्रिविको रामपुर क्याम्पसलाई बनाए । उनले बिएससी एजी विशिष्ट श्रेणीमा उत्तीर्ण हुन सफल भए । उनले बिएससीको अध्ययन त्यहीबाट पुरा गरेपछि करिब डेढ बर्ष कृषि प्रशिक्षकको पदमा काम पनि गरे । केही समय कृषि अनुकूलन परियोजना अन्तर्गत कृषि अफिसरको रुपमा पनि काम गरे । काम गर्दै जाँदा उनलाई तरकारी, फलफूल सम्बन्धी रुची बढ्न थाल्यो । उच्च शिक्षा हासिल गरी आफूमा रहेको ज्ञान र सिपलाई अझ बलियो बनाउने र आफूमा अझै विज्ञता हासिल गर्न भनी उनले त्रिविको मास्टर्स तहको प्रवेशिका परिक्षा दिए । उक्त परिक्षामा राम्रो स्थानमा उत्तीर्ण भई पूर्ण स्कोलरसिपमा पढ्ने अबसर प्राप्त गरे ।

त्रिविबाट उनले सन् २०२० मा हल्टीकल्चरमा स्नातकोत्तर गरे । आफूले गरेको लगन मेहनतले रंग ल्याएर नै यो वर्ष त्रिविका सबै संकायबाट सञ्चालित सबै विषयमा सर्बोत्कृष्ट नतिजा हात पार्दै दीक्षान्त समारोहमा तीनओटा मेडलले आफूलाई सजाउन सके । उनले चान्सलर पदक, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्ण पदक, र रामप्रसाद मानन्धर स्वर्ण पदक हात पारेका छन् । यो अवसरउनले गरेको शिक्षा प्रतिको लगन र मेहेनत नै हो ।

नेपाल प्राकृतिक रुपमा अनुपम उपहार लिएर आएको मुलुक हो । यहाँको प्राकृतिक सौन्दर्यमात्र होइन यहाँ उत्पादन हुने फलफूलका बारे उचित अनुसन्धान गरेर नेपालको आर्थिक सम्वृद्धि गर्ने उनको सपना छ । उनी आफूलाई एक सफल विद्यार्थी मात्र होइन एउटा असल अन्वेषक, अनुसन्धानकर्ता र कुसल प्राध्यापकका रुपमा चिनाउन चाहान्छन् । आजीवन आफू पनि सिक्दै सिकाउँदै अघि बढ्ने उनको प्रबल इच्छा छ । विज्ञता हासिल गरी पहाडी अर्थव्यवस्थामा फलफूल, तरकारी र पुष्प क्षेत्रको विकास गर्ने, जनताको बढ्दो कृषि निर्भरतालाई आधुनिकीकरण गरी स्वरोजगार जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ यो विषय रोजेको उनी बताउँछन् । ‘नेपाल धनी छ हामी मात्र गरिब छौं ।

उनी भन्छन्, ‘देश त्यसै सम्बृद्ध हुँदैन, यहाँका स्रोत साधनको सही सदुपयोग हुनुपर्छ यिनीहरुलाई आर्थिक उपार्जनको स्रोत बनाउन सक्ने गरी विश्वविद्यालयले अध्ययन अनुसन्धान गर्नुपर्छ र यसलाई व्यवसायिकता दिनसक्नुपर्छ म नेपाल यस्तै भएको हेर्न चाहन्छु ।’

सानो छदा आफूलाई केही गर्नुपर्छ भन्ने गणितका शिक्षक जेडी भट्ट, आमाबुबा, दाजु र दिदीले दिएको सकारात्मक उर्जाले आफूलाई यहाँसम्म ल्याउन सफल भएको उनी सुनाउँछन् । उनी भन्छन्, ‘मेरा गुरुहरु जेडी भट्ट जसले मेहेनत गर्न सिकाउनु भयो, तथा वागवानी विषयमा आफ्नो विज्ञता प्रदान गरी उनलाई विषयगत ज्ञान प्रदान गर्ने त्रिवि कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका गुरुहरुका कारण आज तीनतीन ओटा मेडल घाटीमा सजाउन पाए, उहाँहरुप्रति म सधैं कृतज्ञ छु ।’

विद्यार्थी सधै सिक्न प्ररेरित हुनुपर्छ

सानो कक्षाको होस् वा ठुलो विद्यार्थी जहिल्यै विद्यार्थी नै हुन्छ । उसले पढ्नेभन्दा पनि सिक्नुपर्छ । आफूले पढेका हेरक विषयमा सुक्ष्म तथा गहन अध्ययन गर्नुपर्छ । सबै विश्वविद्यालयले सबैलाई आफ्नो रुचिको विषय रोज्ने अधिकार खुला छाडेको छ । त्यसैअनुसार आफूलाई कुन विषय पढ्ने भित्र देखि नै रुचि छ त्यसको पहिचान गरेर मात्र विषय रोज्नुपर्छ । राजनीति गर्नेलाई पनि विज्ञता हासिल गर्ने छुट छ । वकालत गर्नेलाई पनि । नाच्ने गाउने, अभिनय गर्ने देखि लिएर देशका लागि आवश्यक पर्ने जेजति विषय छन् ती सबै विश्वविद्यालयले सञ्चालनमा ल्याएका छन् । तिनै विषयबाट आफूलाई मनपर्ने विषय रोज्नुपर्छ तर कसैको करमा पढ्न थालियो भने त्यो घातक हुन्छ । आफूले रोजेको विषयमा पनि निश्चित र निर्धारित पाठ्यक्रम मात्र होइन सम्बन्धित विषयमा विस्तृत र गहन अध्ययन गर्नुपर्छ । भोक, प्यासलाई पन्छाएर मैले सिक्नै पर्छ, जान्नै पर्छ भन्ने सोचका साथ सिकाइलाई प्राथमिकतामा राख्न सक्यो भने अवश्य सफल हुने उनी बताउँछन् । ‘पाठ पढ्ने होइन त्यसमा भन्न खोजिएको कुरा सुक्ष्म अध्ययन गर्नुपर्छ, हामीलाई अहिले प्रविधिले विश्वभर पुग्न सक्ने बनाएको छ त्यसको सदुपयोग गरेर देशभित्र तथा अन्तर्राष्ट्रिय अभ्यास बुझ्नुपर्छ त्यसलाई आफ्नो अनुकुल परिमार्जन गर्न सक्ने सधैं जिज्ञासु हुनुपर्छ ।’ उनी भन्छन्, ‘सफलताको पहिलो पाटो भनेकै मेहनत र लगनशिलता हो, इच्छा शक्ति हो ।’

उच्च शिक्षामा अनुसन्धान प्रमुख

विश्वविद्यालयले अब गर्ने अनुसन्धान भनेको कागजी मात्र नभएर फिल्डमा नै गएर गर्नुपर्छ । त्यहाँ भएका सम्भाब्यताको अध्ययन गरी अबसर तथा चुनौतीको पहिचान गर्न सक्ने विद्यार्थीलाई मात्र विश्वविद्यालयले डिग्री प्रदान गर्नुपर्छ । सफलताको पहिलो श्रेणी अनुन्धान पछि आउने परिर्वन हुन सक्नुपर्छ ।

बागबानी संम्भावना

नेपाल भौगोलिक रुपमा विविधता भएको देश हो र हावापानीमा भएको विविधताले फलफूल, तरकारी, मसलाबाली लगायत पुष्प व्यवसायको सम्भावना अधिक रहेको छ । त्यसैले देशको हावापानी अनुकुल शिक्षा, अनुसन्धान र प्रविधि विस्तार हुन सकेमा नेपालमा भएको वागवानी क्षेत्रले अझै राम्रो रुप लिन सक्ने छ । अध्ययन अनुसन्धानबाट आएका ज्ञानलाई किसानमाझ जोड्न सकिएमा र प्रविधिको पूर्ण विकास गरेमा देशमा कृषि उत्पादन बढाउन सकिने कुरा अन्य मूलूकबाट ज्ञान लिन सकिन्छ । नेपालमा गरिएका प्रयासहरुलाई हेर्दा विगतमा भएको कृषि उत्पादन र बजारमाग अहिले आएर बढ्दो छ र चिया, कफी, अलैची लगायत वागवानी उत्पादनहरु अन्तराष्ट्रिय बजारमा समेत राम्रो पहिचान भएको पाइन्छ । तसर्थ वागवानी विषयमा उच्च शिक्षा अपरिहार्य रहेको छ ।