
अवधारणागत चिन्तन-मनन तथा गुणस्तरीय उच्चशिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने रणनीतिक सोचद्वारा निर्देशित सात वर्षको अनवरत प्रयासपछि स्थापित नेपाल विश्वविद्यालयले आफ्नो पहिलो प्राज्ञिक कार्यक्रमका रूपमा सार्वजनिक नीति विषयक स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण गर्ने उद्देश्यले २०८३ साल वैशाख ९ गते आयोजना गरिएको उद्घाटन कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ।
करिब तीन घण्टासम्म चलेको उक्त कार्यक्रममा नेपाल विश्वविद्यालयका कुलपति, संरक्षक परिषद्का सदस्यहरू, पदाधिकारीहरू, शिक्षक, कर्मचारी, नवप्रवेशी विद्यार्थीहरूका साथै लोकसेवा आयोगका सदस्य मा. माधव बेलवासे, विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि प्रा. डा. हृदयरत्न वज्राचार्य, अमेरिका स्थित न्यु मेक्सिको विश्वविद्यालयका प्राध्यापक आलोक बोहोरा लगायत राष्ट्रिय जीवनका मूर्धन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
उक्त समारोहमा सञ्चालन गर्न लागिएको स्नातकोत्तर तहको सार्वजनिक नीति कार्यक्रमको उद्देश्य, पाठ्यक्रम संरचना तथा संलग्न प्राध्यापकहरूको सूचीबारे प्रकाश पारिएको थियो।
नेपाल विश्वविद्यालयका संस्थापक कुलपति डा. विन्दु लोहनीले नवप्रवेशी विद्यार्थीहरूलाई सम्बोधन गर्दै प्रेरणादायी सन्देश दिनुभयो। उहाँले अध्ययनका क्रममा ज्ञान आर्जन गर्दा शिक्षकहरूसँग मात्र होइन, आफ्ना सहपाठीहरूसँग पनि सहकार्य गर्दै सिक्न सुझाव दिनुभयो। साथै, प्राप्त ज्ञानलाई निरन्तर अद्यावधिक गर्दै उत्कृष्टता हासिल गर्न जीवनपर्यन्त सिकिरहनुपर्नेमा जोड दिनुभयो। उहाँले स्नातकोत्तर तहका विद्यार्थीले विश्वविद्यालयबाट ज्ञान र सीप आर्जन गर्ने मात्र नभई विश्वविद्यालय स्वयंको विकासमा समेत योगदान पुर्याउनुपर्ने तर्फ ध्यानाकर्षण गराउनुभयो।

यसअघि उपकुलपति डा. अर्जुन कार्कीले नेपाल विश्वविद्यालयको ऐतिहासिक विकास प्रक्रियाबारे संक्षिप्त प्रकाश पार्दै यस विश्वविद्यालयलाई यो तहसम्म ल्याइपुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण स्वदेशी तथा विदेशी मित्रहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।
उपकुलपति डा. कार्कीले विद्यार्थीहरूलाई विश्वविद्यालयको मूल मन्त्र ‘५ सी’ — इन्टेलेक्चुअली कम्पिटेन्ट, क्रिटिकल थिङ्किङ, कम्युनिकेशन स्किल, क्रियटिभिटी, र कमिटमेन्ट फर सोसाइटी — को अवधारणालाई आत्मसात् गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराउनुभयो।

कार्यक्रममा नेपाल विश्वविद्यालयका अन्तरराष्ट्रिय सल्लाहकार, टोकियो विश्वविद्यालयका इमेरिटस प्राध्यापक डा. सिगेरु मोरिचीले विकासशील देशमा सार्वजनिक नीति विषयको अध्ययनको महत्वबारे प्रकाश पार्दै कार्यक्रमको सफलताका लागि पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो।




