
दुई वटा माध्यमिक विद्यालयलाई कम्प्युटर ल्याब स्थापनाका लागि आवश्यक आईसीटी सामग्री सहयोग गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कम्प्युटर प्रविधिबाट लाभान्वित बनाउन तथा विद्यालयलाई प्रविधिमैत्री वातावरण निर्माण गर्न उक्त सामग्री प्रयोगमा ल्याइएको हो ।
सिमकोट गाउँपालिकाका दुई वटा विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको कैलाश मावि डाँडाफयाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद विकले बताउनुभयो । उहाँका अनुसार दुवै विद्यालयमा गरी ५० थान कम्प्युटर तथा आवश्यक अन्य सामग्री जडान गरी सञ्चालनमा ल्याइएको छ ।
कैलाश माविमा २१ थान कम्प्युटर तथा आवश्यक सामग्रीसहित इन्टरनेट जडान गरिएको छ । त्यस्तै मानसरोवर माविमा २९ थान कम्प्युटर, ब्याकअप प्रणालीसहित ल्याब जडान गरी सञ्चालनमा ल्याइएको छ । उक्त ल्याब सञ्चालन तथा हस्तान्तरण कार्य सम्पन्न भएको सिमकोट गाउँपालिकाका लेखा अधिकृत विशाल बोहराले जानकारी दिनुभयो ।
यस्ता कार्यक्रमले गुणस्तरीय शिक्षा प्राप्तिमा सहयोग पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो । यो सहयोग कर्मा फाउन्डेसन, एडुटेक नेपाल र वार्म नेस्ट फाउन्डेसनको आर्थिक सहयोगमा गरिएको हो । ल्याब स्थापनाका लागि आवश्यक फर्निचर सिमकोट गाउँपालिकाले उपलब्ध गराएको छ ।
सिमकोट गाउँपालिकाको समन्वयमा ल्याब स्थापना गरिएको हो । सहयोगी निकायका प्रतिनिधिहरूको उपस्थितिमा आईसीटी सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको थियो । यसले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अध्ययनमा थप सहजता प्रदान गर्ने विश्वास सहयोगी निकायहरूले व्यक्त गरेका छन् ।




