After SEE Portal

अझै ७० लाख थान पाठ्यपुस्तक छाप्न बाँकी

Bridge Course

नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु हुन अब केही दिनमात्र बाँकी छ तर ७० लाख थान पाठ्यपुस्तक छापिएकै छैन ।

सार्वजनिक विद्यालयका सबै विद्यार्थीले २०७९ सालको शैक्षिक सत्रको सुरुमा पाठ्यपुस्तक पाउने अवस्था छैन । सरकारले वैशाखमा नयाँ शैक्षिक सत्रका लागि भर्ना गर्ने र पाठ्यपुस्तक वितरण गर्ने तथा पठनपाठन आगामी जेठ १ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो । पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र यतिबेला स्थानीय तहको निर्वाचनको मतपत्र छपाइमा व्यस्त छ ।

कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक छपाइ गर्ने जिम्मेवारी जनक शिक्षालाई छ । जनक शिक्षाले कागज अभाव देखाउने गरेको छ । कागजको टेन्डर पाएको कम्पनीले कागज उपलब्ध गराएको पनि छैन । यसले गर्दा पाठ्यपुस्तक छपाइको काम ठप्प छ । टेन्डर बिद्–म्याप–सीबीसी जेबीले पारेको थियो । ती ठेकेदार कम्पनीको पहुँच उच्च राजनीतिक नेतृत्वसम्म छ र विभिन्न दलका अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीहरुसँग उठबस छ । यसले गर्दा ती कम्पनीका विरुद्धमा जान सक्ने आँट जनक शिक्षाका पदाधिकारी वा शिक्षामन्त्रीको पनि छैन ।

विगतमा पाठ्यपुस्तक समयमा नछापिने रोगले ग्रसित बनेको जनक शिक्षामा पछिल्ला केही वर्षयता समस्या घट्दै गएको थियो । यस वर्ष पुनः यो समस्या दोहोरिने देखिएको छ । यतिबेला प्रायः अधिकाँश विद्यालयले वार्षिक परीक्षा सकेको अवस्था छ । एसईई सञ्चालन भइरहेकोले शिक्षकहरु त्यता व्यस्त छन् । एसईई सम्पन्न भइसकेपछि विद्यालयहरुले अन्य तहको परीक्षाको नतिजा धमाधम सार्वजनिक गर्नेछन् र विद्यार्थी भर्ना गर्दै उनीहरुका हातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने हुन्छ । तर यो महिना बित्न तीन साता बाँकी हुँदा ७० लाख थान पाठ्यपुस्तक छापिसक्न सम्भव नै छैन । त्यसैले नयाँ शैक्षिक सत्रको सुरुमा पाठ्यपुस्तकको हाहाकार देखिनेछ ।  

जनक शिक्षा व्यवस्थापनले पुस्तक छपाइको विकल्पसमेत खोजेको छैन । विगतमा कक्षा १–५ सम्म पाठ्यपुस्तक छपाइ निजी क्षेत्रलाई दिने गरेकामा यो वर्ष जनक शिक्षाको जिम्मेवारी बढाइएको थियो । तर जनक शिक्षालाई दिएको जिम्मेवारीमा झनै समस्या हुने देखिएको छ । यस मामिलामा जनक शिक्षाका पदाधिकारी र निजी प्रकाशकबीच मिलेमतो हुँदै आएको छ । जनक शिक्षाले समयमा पाठ्यपुस्तक नछाप्ने र पुस्तक अभाव सिर्जना गरी निजी क्षेत्रलाई छाप्न दिने निर्णय गराउने रोग पुरानै हो ।

देशभरमा कक्षा ४ देखि १० कक्षासम्मका बालबालिका लागि एक करोड ९८ लाख थान पुस्तक आवश्यक हुने तथ्याङ्क शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनक शिक्षालाई दिएको थियो । झण्डै आधा पुस्तक छपाइ नै भएको छैन । कागज उपलब्ध गराउने टेण्डर पाएको कम्पनीले जिम्मेवारी पूरा नगरे पनि प्रशासनले नविकल्प खोजेको छ नत कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

केही समयअघि शिक्षामन्त्री देवेन्द्र पौडेलले जनक शिक्षामा छड्के गरेर त्यहीबाट जनक शिक्षाका प्रबन्ध सन्चालक अनिलकुमार झालाई फोन गरी शैक्षिक सत्र सुरु हुनुपूर्व आवश्यक परिमाणमा पाठ्यपुस्तक छाप्न निर्देशन दिएका थिए ।

जनक शिक्षामा पुस्तक व्यापारीले नयाँ पाठ्यपुस्तक माग गर्न थालेका छन् । तर कुनै पनि कक्षाका पाठ्यपुस्तक पूर्ण सेटमा छैन । सेट नभएका कारण केही थान पुस्तक जनक शिक्षाले बेचेको छैन । एक कर्मचारीले भने, “सेटमा नहुँदा पुस्तक व्यापारीले पाठ्यपुस्तक लैजान पनि खोज्दैनन् ।” सरकारले कक्षा १० सम्म सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पुस्तक उपलब्ध गराउँदै आएको छ ।

जनक शिक्षाले विद्यालय तहको पुस्तक छपाइका लागि छ हजार मेट्रिकटन कागजको टेन्डर गरेको थियो । टेन्डरअनुसार विभिन्न समयमा गरी गत चैत १० गतेसम्म सबै कागज आइसक्नुपर्ने थियो । तर अहिलेसम्म जम्मा दुई हजार मेट्रिकटनको हारहारीमात्र कागज जनक शिक्षामा आएको छ ।

जनक शिक्षाका प्रबन्ध सञ्चालक झाले सप्लायर्सलाई कारबाहीलाई दबाब दिनुको सट्टा उनी आफैँ मिलेर संरक्षणमा लागेका छन् । जनक शिक्षाका कर्मचारी सङ्गठनका पदाधिकारीहरू समेत बढुवाको आश र राम्रो विभाग खोसिने डरले मौन छन् । यस सम्बन्धमा प्रबन्ध सञ्चालक झासँग कुरा गर्न खोज्दा उनी सम्पर्कमा आएनन् ।

 

A Levels MA