After SEE Portal

आजबाट शिक्षा सचिव रिक्त

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षातर्फका सचिव पद आजबाट रिक्त भएको छ । सचिव सुरेश अधिकारीले आजको मितिबाट लागू हुने गरी अवकाश पाएका छन् । उनको अवकाशका कारण आजबाट सो मन्त्रालयमा सचिव रिक्त भएको हो । हिजो आइतबार उनी मन्त्रालयबाट बिदाइ भएका हुन् ।

मन्त्रालय विश्वस्त सूत्रका अनुसार शिक्षामन्त्री सुमना श्रेष्ठले सचिव डा. हरि लम्साललाई शिक्षा मन्त्रालयमा ल्याउन चाहेकी छिन् । यसका लागि उनको सचिवालयबाट डा. लम्साललाई अनुरोध गरिएको छ । तर डा. लम्सालले ‘हुन्छ’ भनेर जवाफ दिइसकेका छैनन् । 

नेपाल सरकारले हालै शिक्षा सेवाका डा. लम्साल र चूडामणि पौडेललाई सचिव पदमा बढुवा गरेको थियो । डा. लम्साल सुदूरपश्चिम प्रदेशमा प्रमुख सचिव र पौडेल कर्णाली प्रदेशमा प्रमुख सचिव छन् ।

मन्त्रालय सूत्रका अनुसार डा. लम्सालले शिक्षा मन्त्रालयमा आउन त्यति इच्छा देखाएका छैनन् । उता पौडेलले भने शिक्षामा आउन चासो देखाएको बुझिएको छ ।

शिक्षा सेवाबाट सचिव भएकाहरुमध्ये खगराज बराल र रामकृष्ण सुवेदी शिक्षा मन्त्रालयको सचिव भइसकेका छन् । बढुवा भएका अन्यले भने शिक्षा मन्त्रालयमा जिम्मेवारी लिन खासै चासो देखाएनन् । 

यतिबेला शिक्षा क्षेत्रमा विशेष गरी समायोजन भएका शिक्षा सेवाका कर्मचारीको व्यवस्थापनको विषय मुख्य समस्याका रुपमा रहँदै आएको छ । शिक्षा सेवा बुझेका सचिवले जिम्मेवारी लिन सक्दा आफू अनुकूल हुनसक्ने बुझाइ त्यस्ता कर्मचारीहरुको छ । साथै संसद्मा रहेको शिक्षासम्बन्धी विधेयकलाई अगाडि बढाउने सन्दर्भमा शिक्षा बुझेका सचिव आए सहज हुने शिक्षकहरुको बुझाइ छ । 

सचिव डा. लम्साल र पौडेलले आफू शिक्षा मन्त्रालयको जिम्मेवारी वहन गरेपछि कर्मचारी र शिक्षकले गरेको आशाअनुसारको प्रतिफल दिन नसक्दा आफूहरुप्रति गुनासो रहने पो हो कि भन्ने भय रहेको आफू निकटकाहरुलाई सुनाउने गरेको बुझिएको छ ।

A Levels MA