After SEE Portal

हेलम्बु गाउँपालिकाबाट सिक्ने हो कि ?

Bridge Course

हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकका नवर्निमित विद्यालय भवनलाई जोगाउन गाउँपालिकाले सामुदायिक विद्यालय भौतिक संरचना मर्मत सम्भार कार्यविधि, २०७६ पारित गरेको छ । सो कार्यविधि अनुसार विद्यालयको मर्मत संभारका लागि गाउँपालिकाले विद्यालय मर्मत संहार कोष सञ्चालन गरेको छ ।

गाउँपालिकाले प्रत्येक माध्यमिक विद्यालयको मर्मत संहार कोषमा ५० हजार रूपियाँ जम्मा गरेको छ ।  आधारतभूत तहका विद्यालयको कोषमा ३० हजार रूपियाँ जम्मा गरेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

सो कोषमा गाउँपालिका भित्रका हरेक विद्यालयमा अध्ययनरत विद्यार्थीले मासिक ५ रूपियाँ र शिक्षकले मासिक १० रूपियाँ जम्मागर्नै पर्ने व्यवस्था कार्यविधिले गरेको छ । 

गाउँपालिकाका २६ वटा विद्यालय भवन कारितास स्विजरल्याडले निर्माण सम्पन गरेर हस्तान्तरण गरेपछि गाउँपालिकाले यस्तो नियम बनाएको हो ।

जंक फुड निषेधित विद्यालय

यो गाउँपालिका समुन्द्री सतहबाट करिब हजार मिटरको उचाई देखि ५ हजार मिटर सम्म फैलिएको छ । जुगल हिमालको सन्निकट याङ्रीमा डाँडाको काखमा रहेको छ । भौगोलिक प्रतिकूलताका कारण यहाँको भूउत्पादकत्व सबै ठाउँमा एकैनासको छैन । त्यसैले गाउँपालिकाका अधिकांश मानिसको आर्थिक अवस्था कमजोर छ ।

सवै विद्यार्थी आफ्नो स्वास्थ्य अनुकूलका खाजा विद्यालयमा ल्याएर खान सक्दैनन् । त्यसैले विद्यार्थीको दीर्घकालीन स्वास्थ्यलाई ध्यानमा राखी गाउँपालिकाले दिवा खाजा कार्यक्रम लागु गरेको छ । सो कार्यक्रम अन्तर्गत कक्षा पाँचसम्मका विद्यार्थीलाई निःशुल्क खाजा प्रदान गर्दै आएको छ । ‘गत वर्षदेखि गाउँपालिकाले लागु गरेको दिवा खाजा कार्यक्रमले विद्यार्थी भर्ना प्रतिशतमा वृद्धि हुनुका साथै टिकाउदर पनि वृद्धि भएको छ ।’ अध्यक्ष शेर्पाले भने, ‘हाम्रा विद्यालयमा जंकफुड निषेध गरिएको छ, सबै बालबालिकालाई विद्यालयमा निर्मित खाजा नै सस्तो र सुलभ मूल्यमा खुवाउने गरेका छौं ।’

विद्यालयमा किचेन गार्डेन

गाउँपालिकामा अवस्थित विद्यालयको भौगोलिक अवस्था प्रतिकूल छ । सरकारी मापदण्डअनुसार २५ रोपनी जग्गा भएका कुनै पनि विद्यालय छैनन् । तर पनि थोरै विद्यालयको खाली जग्गालाई विद्यालयले सदुपयोग गरोस् भन्ने उद्देश्यले विद्यालयमा किचन गार्डेन सञ्चालन गरिएको छ ।

किचन गार्डेनमा सिजन अनुसारका काउली, बन्दा, आलु तथा अन्य बेमौसमी तरकारी लगाउने गरेको महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद भट्टराईले जानकारी दिए । दिवा खाजा कार्यक्रममा विद्यार्थीले उत्पादन गरेका तरकारी पकाउने गरिएको छ ।

संस्कृत र सम्भोटा भाषामा पठनपाठन

उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत, दक्षिणतर्फ मेलम्ची नगरपालिका, उत्तर पूर्वतर्फ नुवाकोट जिल्ला र पश्चिमतर्फ पाँचपोखरी गाउँपालिकाले घेरिएर रहेको हेलम्बु गाउँपालिका धार्मिक पर्यटकीय स्थल पनि हो । ह्योल्मो जातिको बाहुल्यता रहेको यो गाउँपालिकाभित्र शेर्पा, तामाङ, क्षेत्री, बाहुन, दलित लगायतका विभिन्न जातिहरू पनि बसोबास गर्छन् ।

माथिल्लो भु–भागमा ह्योल्मो र तामाङ जातीको बहुल्यता रहेका छ र तल्लो बेसी भूभागमा विशेष गरी ब्राम्हण, क्षेत्री, दमाई, कामी, सार्कीहरूको बसोबास रहेको छ । जातीय विविधता रहेको यो गाउँपालिकाले शिक्षामा पनि भाषिक विविधता अपनाउने भएको छ । गाउँपालिकाले स्थानीय परम्परा, मूल्यमान्यता जोगाउने उद्देश्यले सम्भोटा र संस्कृत विषयमा पठनपाठन गराउँदै आएको छ ।

शिक्षक प्रोत्साहन कार्यक्रम

गाउँपालिकाले शिक्षक प्रोत्साहन स्वरूप शिक्षक स्वास्थ्य बिमा कोष स्थापना गरेको छ । उक्त कोषमा गाउँपालिकाले १० लाख र प्रतिशिक्षक वार्षिक १ हजार २०० रूपियाँ जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । भने, अस्थायी शिक्षकको व्यवस्थापनकालागि फरक नीति बनाएको छ । अस्थायी शिक्षक अवकास कोष स्थापना गरी मासिक रु. ५०० गाउँपालिकाले  र रु.५०० शिक्षकले कोषमा जम्मा गर्नुपर्ने गाउँपालिकाले व्यवस्था गरेको छ ।

यसका साथै प्रधानाध्यापकलाई मासिक रु.२ हजार भत्ता थप गरेको अध्यक्ष शेर्पाले बताए । शेर्पाका अनुसार निम्नमाध्यमिक र माध्यमिक तहमा विषयगत शिक्षक दरबन्दीको अभाव छ ।

भौगोलिक प्रतिकूलताका कारण विद्यालय गाभ्न सक्ने अवस्था छैन । भएका विद्यालयलाई राम्रो बनाउन गाउँपालिकाले यस्ता कार्यक्रम ल्याएको शिक्षाशाखाले जानकारी दियो ।

शिक्षा सुधारका लागि गाउँपालिका क्षेत्रभित्रका ३४ वटै विद्यालयका प्रधानाध्यापकहरूसँग कार्यसम्पादन सम्झौता गरेको छ भने प्राध्यापकहरूले शिक्षक तथा कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरेको गाउँपालिकाले जानकारी दियो ।

विद्यालय भौतिक संरचना मर्मत सम्भार कार्यविधि २०७६ पढ्न यहाँ क्लिक गर्नुहोस् ।

A Levels MA
Thuprai - Books and E-books