After SEE Portal

कक्षा १२ पछि के पढ्ने ?

Bridge Course

करिब ३ लाख ८६ हजार विद्यार्थी कक्षा १२ को परीक्षा दिएर विश्वविद्यालय प्रवेशको पर्खाइमा बसेका छन् । कतिपय विद्यार्थीलाई कुन विषय पढ्ने ? कहाँ पढ्ने ? जस्ता चिन्ताले सताउन थालेको छ । विद्यालय शिक्षाको अन्तिम खुड्किलो पार गरेपछि विश्वविद्यालयको ढोका टेक्ने पर्खाइमा बसेका विद्यार्थी अहिले आफ्नो भविष्य कता लाने, के बन्ने भन्ने चिन्तामा छटपटाउने गरेका छन् ।

विश्वविद्यालय प्रवेशको तयारीसंगै आफ्नो भविष्यको गन्तव्यतर्फ अभिभावकको सन्तुष्टि र आफ्नो रोजाइ पुरा गर्न विभिन्न कलेज धाउने गर्छन् । सामान्यतयाः १२ कक्षपछि विद्यार्थी आफूले रोजेको विषय र त्यसैमा दक्षता हासिल गरी जीविकोपार्जन गर्ने सपना सजाउँदै विश्वविद्यालय पुग्छन् । कक्षा १२ पछि विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने विभिन्न विकल्प छन् । कक्षा १२ पछि विद्यार्थी आफैंले विषय रोजेर आफ्नो करिअरको सुनिश्चितता गर्ने गर्दछन् ।

मानविकी समूहबाट कक्षा १२ को परीक्षा दिएर स्नातक तह प्रवेशको प्रतिक्षामा बसेकी जडिबुट्टिकी सविना तामाङ उच्च शिक्षाका लागि विदेश जान चाहन्छिन् । उनी विदेशमा पढ्दै कमाउँदै गर्ने अवसर मिल्नेमा विश्वस्त छिन् । ‘आमाबुबाले कक्षा १२ सम्म त दुख गरेर पढाउनु भयो अब आफैं कमाएर पढ्ने सोचमा छु त्यसैले अस्ट्रेलिया जाने विचारमा छु ।’ उनले भनिन्, ‘१२ पछि होटल म्यानेजमेन्टमा स्नातक तथा स्नातकोत्तर गर्ने सोचमा छु त्यसैले बाहिरिने सोच बनाएकी हुँ, कतिले स्नातकमा नै बाहिर जाँदा राम्रो हुँदैन भन्छन् तर कोचिङ सेन्टरले सबै मिलाइदिने भनेपछि आयल्स गर्दैं छु ।’

उनको भन्दा फरक रोजाइ छ भर्खरै कक्षा १२ को परीक्षा सकेर स्नातक तहमा प्रवेशका लागि तयारी गर्दै गरेकी सञ्जिता कार्कीको । उनले कक्षा १२ होटल म्यानेजमेन्टमा गरिन् । तर उनको रोजाइ र सोखको विषय नृत्य रहेको छ । उनी नृत्य विधामा विशिष्टता हासिल गरी सोही पेसामा प्रवेश गर्न चाहन्छिन् । त्यसैले अहिले कुन विषयमा प्रवेश गर्दा करिअर राम्रो होला भन्ने कुराले आफूलाई पिरोल्ने गरेको बताउँछिन् ।

काठमाडौंको एक निजी विद्यालयबाट भर्खरै होटल म्यानेजमेन्ट समूहबाट कक्षा १२ को परीक्षा दिएर बसेको क्षितिज सापकोटाको रुचिको विषय खेलकुद हो । तर उनी उच्च शिक्षामा यो विषय कहाँ पढाइहुन्छ भन्ने विषयमा भौतारिरहेको बताउँछन् ।

काम र सिकाइसंगै लिएर जाने शिक्षा विश्वविद्यालयले प्रदान गर्नुपर्ने शिक्षाविद्ले सुझाए । ‘सफल जीवन जिउनका लागि विद्या र कर्मसँगै लैजान सक्नुपर्छ कतिपय अवस्थामा यी दुवैसँगै नजान पनि सक्छन्।’शिक्षाविद् डा. विद्यानाथ कोइराला भन्छन्, ‘अबको विश्वविद्यालयको शिक्षा प्रणाली भनेको कक्षालाई दैनिक जीवनसँग जोडेर जीवनोपयोगी सिप प्रदान गर्नुपर्छ, नत्र देश परिवर्तनको नारा नारामा नै सीमित हुन्छ ।’ 

गुणस्तरीय शिक्षाको उद्देश्य विद्यार्थीले हासिल गरेको दक्षता व्यवहारमा लागू गर्न सक्नु हो । त्यसैले अब विद्यार्थीले पनि व्यवहार उपयोगी विषय छनोट गरेर पढ्नुपर्छ । त्यसलाई निर्खान विश्वविद्यालयले काम र सिकाइ एकैसाथ लान सक्नु पर्ने उनले सुझाए । ‘देशकै जेठो विश्वविद्याल मानिएको त्रिभुवन विश्वविद्यालयले बार्षिक एकलाख हाराहारीमा उच्चस्तरीय जनशक्ति उत्पादन गर्छ तर विश्वबजारमा बिक्न सक्ने थोरै मात्र जनशक्ति छन् ।’ उनले भने, ‘अबको शिक्षा भनेको सिक्दै सिकाउँदै गर्ने खालको हुनुपर्छ सिकाइलाई कर्मसंगै जोडेर लानुपर्छ, कक्षाकोठामा सिकेको सिप प्रयोग गरी जीवन सहज बनाउने विषय रोज्नुपर्छ ।’

नतिजाको पर्खाइमा बसेका अधिकांश विद्यार्थी स्वदेशी वा विदेशी विश्वविद्यालयमा पढ्ने, कस्तो तयारी गर्ने भन्ने विषयमा पनि चिन्तित हुने गरेका छन् । विदेशी भाषा कक्षा लिने वा नेपाली विश्वविद्यालयका विभिन्न विषयका तयारी कक्षामा सहभागी हुने भन्ने अलमलमा परेको युनिग्लोब कलेजकी सविना खत्रीले बताइन् । ‘आमाबुबा यही बसेर पढ् भन्नु हुन्छ तर, मलाई भने नर्सिङ पढ्न विदेश जान मन छ’ उनले सुनाइन् ।

करिअर छनोटका लागि

रोजगारी र अवसका हिसाबले पछिल्लो समय विद्यार्थीले इन्जिनियरिङमेडिकल, व्यवस्थापन, मानविकी पछि मात्र शिक्षा शास्त्रसंकाय रोज्ने गरेका छन् ।

सबै विषयमा कुसलतापूर्वक दक्षता हासिल गरेका विद्यार्थीका लागि अवसरको खाँचो नभएको विज्ञहरु बताउँछन् । ‘सबै विषयमा उत्तिकै राम्रो अबसर छ, जस्तै अहिले विद्यार्थीले नेपाली विषय पढ्न छाडिसकेका छन् तर नेपालको बजारमा नेपाली भाषा विज्ञको खाँचो उत्तिकै छ ।’ काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा सुरेशराज शर्मा भन्छन्, ‘सबै विषयमा उत्तिकै स्कोप छ तर आफूले पढेको विषयमा दक्ष चाहीँ हुनु पर्यो ।’

कतिपय विषयमा विद्यार्थीले दक्षता हासिल गरिसक्दा स्वरोजगार बनिसक्छन् जस्तै व्यवस्थापन संकायबाट बीबीए, बीएचएम अध्ययन गरेका विद्यार्थीले बरोजगार रहुन पर्दैन । व्यवस्थापन संकाय पढ्को लागि अवसरका रुपमा बैंक तथा वित्तीय क्षेत्र, होटल व्यवस्थापन, ट्राभल एन्ड टुरिजम लगायत क्षेत्र छन् ।

आईटीमा अवसर

अहिले कोरोना महामारीका कारण विश्वमा प्राविधिक शिक्षाको महत्व धेरै देखिएको छ । सरकारी तथा निजी क्षेत्रमा दक्ष आइटीको खाँचो त्यतिकै छ । सरकारी कार्यालय तथा निजी सबै क्षेत्रमा सूचना प्रविधिको प्रयोग अनिवार्य भइसकेको छ । फलस्वरुप काममा सहजता देखिएको छ भने आवश्यक जनशक्तिको खाँचोलाई समेत यसले उजागर गरेको छ। सूचना प्रविधि सम्बन्धि ज्ञान भएका मनिसले हरेक क्षेत्रमा सेवा प्रवेशको अवसर पाउने गरेका छन् । एनिमेसन, नेटवर्किङ, वेबपेज डिजाइनिङ, भीएमएक्स, ग्राफिक्स डिजाइनिङ लगायतका क्षेत्रमा यो विषय पढेका विद्यार्थीका लागि अवसर देखिएको छ ।

नेपालका विश्वविद्यालयमा

त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत, काठमाडौं, पूर्वाञ्चल, पोखरा, कृषि तथा वन, मध्यपश्चिम, गण्डकी र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका आआफ्नै पाठ्यक्रमका आधारमा स्नातक तहमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

त्रिविको इन्जिनियरिङ अध्ययन संस्थान, चिकित्साशास्त्र अध्ययन संस्थान, वनविज्ञान अध्ययन संस्थान, कृषि तथा पशुविज्ञान अध्ययन संस्थान, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, कानुन संकाय, मानविकी तथा सामजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाका ४० केन्द्रिय विभाग र एक हजारभन्दा बढी क्याम्पसमा विभिन्न विषयमा पठनपाठन गराउँदै आएको छ ।

पोखरा विश्वविद्यालयमा पब्लिक हेल्थ, नर्सिङ, फर्मास्युटिकल्स साइन्स, बीबीए, बीएचएम, बीसीआईएस, ब्याचलर अफ हेल्थ केयर म्यानेजमेन्ट, ब्याचलर अफ डेभलपमेन्ट स्टडिज, बीई (सिभिल, सिभिल एण्ड रुरल, सफ्टवेयर, आर्किटेक्ट), लगायतका विषय पठनपाठन गराउँदै आएको छ।

यसैगरी १२० भन्दा बढी क्याम्पसलाई सम्बन्धन दिएको पूर्वाञ्चल विश्वविद्यालयले बीई (सिभिल, कम्प्युटर आर्किटेक्ट, बायोमेडिकल), बीएससी बायोटेक्नोलोजी, बीपीएच, बीएससी नर्सिङ, बीफार्मेसी, बीएचएम, बीटीटी (ट्राभल एन्ड टुरिजम), बीए एलएलबी, बीबीए, बीएफडी (फेसन डिजाइन), बीएमटी (मिडिया टेक्नोलोजी), बीजेएमसी (जर्नालिज्म एन्ड मास कम्युनिकेसन), लगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ। 

यसैगरी काठमाण्डौ विश्वविद्यालयले बीएससी इन एप्लाइड फिजिक्स, बीएससी फार्मेसी, बीएससी इन इन्भायरोन्मेन्टल साइन्स, बीएससी इन ह्युमन बाइलोजी, बीई, बीए बुद्धिस्ट स्टडिज, बीए फाइन आट्र्स, एमबीबीएस, बीएससी नर्सिङ, बीडीएसलगायतको अध्ययन अध्यापन गराउँदै आएको छ।

त्यस्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालयले बीई, बीबीए, बीबीएस, बीए, बीएससी तथा बीएड लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले बीबीए, बीएड, बीबीएस, बीए र बीएससी कम्प्युटर साइन्स विषयमा पठनपाठनको थालनी गरेका छन्। मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले पनि स्नातक तहमा विभिन्न शैक्षिक कार्यक्रम सुरु गरिसकेका छन्।

गण्डकी विश्वविद्यालयले यो वर्षदेखि खेलकुद व्यवस्थापन सम्बन्धी नयाँ कार्यक्रम सञ्चालनमा ल्याएको छ।

कृषि तथा वन विश्वविद्यालयले बीएससी एजी, बीएससी फरेस्ट्री तथा बीएससी भेटेरिनरी साइन्स एन्ड एनिमल हस्वेन्डरीमा पठनपाठन गराउँदै आएको छ ।

विदेशी डिग्री पनि नेपालमा नै लिन पाइने

नेपालमा अहिले ११ वटा विश्वविद्यालयले आफ्नो सम्बन्धनमा विभिन्न विषयमा पठनपाठन गराउँदै आएका छन् । यसका अलवा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न कलेजले एकसयभन्दा बढी कोर्स पढाइरहेका छन् । विदेशमा उच्च शिक्षाको गन्तव्य बनाउन चाहनेलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उद्देश्यले विदेशी विश्वविद्यालयको सम्बन्धनमा विदेशी कोर्स पढाउने कलेजको स्थापना भएको प्रेसिडेन्सिएल बिजनेस स्कुलका संस्थापक तथा कार्यकारी अध्यक्ष लक्ष्मण केसीले बताए ।

एउटा विद्यार्थीले स्नातक तहको चार बर्षे कार्यक्रमका लागि अमेरिका गएर पढ्दा शिक्षण शुल्कमा करिब ६५ हजार डलर तिर्नुपर्छ अर्थात रु। ७५ लाख नेपाली रुपियाँ भन्दा बढी तिर्नुपर्छ भने, नेपालमा नै पढ्दा सोही बिषय करिब रु। ११ लाख ५० हजार शुल्क तिरे पुग्छ । स्नाकोत्तरको दुई बर्षे कार्यक्रमका लागि अमेरिका गएर पढ्दा शिक्षण शुल्क बापत करिब ४५ हजार डलर तिर्नुपर्छ भने नेपालमा बसेर सोही बिषय करिब रु। ८ लाख ५० हजार शुल्कमा पढ्न सक्ने अध्यक्ष केसीले बताए ।

नेपालमा बसेर पढ्ने नेपाली विद्यार्थीहरुले पनि अमेरिकाकै पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रयोग गरेर अमेरिकी विश्वविद्यालयले छनोट गरेका अनुभवी तथा दक्ष प्राध्यापकहरुबाट अमेरिकन स्ट्याण्डर्डको शिक्षा प्राप्त गरिरहेको कलेजले जानकारी दियो । अहिले विश्वका विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिएर १०० भन्दा बढी विषयमा विदेशी स्ट्याण्डर्डको शिक्षा प्रदान गरिँदै आएको उनले जानकारी दिए ।

A Levels MA