After SEE Portal

विद्यार्थीले सोध्लान्, शिक्षक के भन्लान् ?

Bridge Course

प्रिय पत्रकार मित्र प्रकृति अधिकारीजी, 

नमस्कार !

तपाईँले सामाजिक सञ्जालमा ‘पोस्ट’ गर्नुभएको सन्देश पढेँ । अन्य सञ्चार माध्यमबाट पनि यो सन्देश प्राप्त भयो । कक्षा १० र १२ को बोर्ड परीक्षा अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएछ । यो निर्णय यस्तै नै हुनु पर्ने थियो । भयो । स्वभाविकै हो । निर्णयकर्ताले योभन्दा फरक निर्णय गर्नु पथ्र्यो भन्ने सोच्नु तत्कालका लागि अलि हतार हुन्छ । साँस रहुन्जेल आश त गर्नै प¥यो । कमसेकम केही समयलाई विद्यार्थीहरू तनावमुक्त भए । तर अब यसपछि हरेक विद्यार्थीले आफ्ना शिक्षकलाई सोध्ने छन्, “सर, अब के हुन्छ ? कहिले अनि कसरी हुन्छ ?” शिक्षकसँग कुनै उत्तर हुने छैन । किनकि सरोकारवालासँग पनि अहिले यसको उत्तर छैन । सबैका मनमा अहिले वैकल्पिक सोच उफ्रिदै होलान् । जब स्थापित प्रक्रियाबाट हटेर अचानक विकल्प रोज्नु पर्ने हुन्छ, त्यसबेला विकल्प परिस्थितिको खटनमा हुन्छ । तर परिस्थिति कसैको खटनमा हुँदैन । यसो भए त्यसो गरौंला, त्यसो पनि नभए उसो गरौंला । केवल विभिन्न उपायको ताँती बनाउँदै जाने हो ।

तपाईँले मलाई बुँदागतरूपमा केही उपायहरू सुझाउन भन्नुभएको थियो । पर्खनुहोस्, म त्यतैतिर जाँदै छु ।

अहिलेको एकमात्र कारक भनेको कोरोनाको महाव्याधि हो । यो तेस्रो विश्वयुद्धभन्दा पनि भयानक अवस्था हो । यो कडा हावा हुण्डुरी जस्तै हो । कति वेगले आउँछ, कतिन्जेल चल्छ र कति क्षति तुल्याएर जान्छ ? भन्नै नसकिने । यस्तो महाविपतमा कुनै पनि मान्यताको अर्थ रहँदैन । फगत् जोगिने उपाय खोज्ने हो । प्रार्थना गरौं यो हुण्डुरीको वेग छिटै ओह्रालो लागोस् ।आज धेरै विद्यार्थीहरू पोहोरको वर्षकै विधि दोहोरिने भयो भनेर खुसियाली मनाउँदै होलान् । हो, केहीलाई पक्कै नदोहोरियोस् भन्ने लागेको हुनुपर्दछ । दोहोरिने अवस्था सिर्जना नहोला भन्न पनि सकिन्न ।

वास्तवमा पोहोरसाल कोरोनाको त्रास यति उर्लँदो थिएन । अहिले सिँगै परिवार घरघरमा थलिएका छन् । बालबालिका थलिएका छन् । मेरै घरमा भुइँतलाका सबैजना सङ्क्रमित छन् । हामी माथिल्लो तलामा बारुदको थुप्रोमाथि बसेझैँ त्रासपूर्ण तरिकाले दिन बिताइरहेका छौँ । मानसिक अवस्था कसैको स्थिर छैन । तनाव बेगर कोही छैन ।

मेरा आदरणीय सहृदयी मित्र डा. बालचन्द्र लुँइटेलले आफ्नो फेसबुक ‘स्टाटस’मा केही उपाय सुझाउनु भएको पढेँ । केही दिन अघि तपाईँले नै दुई–चार थान बुँदा सुझाव पस्किनु भएको पनि थियो । गत वर्षकै जस्तो, कक्षा १२ को जस्तो र थप केही । यी सबै उपाय कुनै पनि निष्प्रभावी छैनन् ।

तपाईँले खोजेको विषयतिर म लगभग पुग्नै लागेँ ।

पोहोरको वर्ष केही साथीहरूले विद्यार्थी मूल्याङ्कन गर्ने क्रममा आफ्नो इमान डगमगाउनु भयो । मानौं एकपटकका लागि मात्रै चुनाव जितेको नेता झैं । त्यो डगमगाएको इमानले कति विद्यालयलाई अहिले लाभ मिल्यो होला ? बरू त्यस्ता थोरै प्रतिनिधि घटनाले समस्त लगनशील शिक्षाकर्मीहरूबाट सबैको विश्वास उडेको छ । यसपटक पनि त्यो अवसर दोहोरिएमा गुमेको विश्वास फिर्ता ल्याउनु पर्नेछ । मलाई थाहा छ, हाम्रो मान्यताका गोडा उखेलिदिने ताकतहरू हाम्रै वरिपरि हुन्छन् । विद्यालयलाई पनि सजिलो छैन अनुचित दवाव थेग्न ।

प्रिय प्रकृतिजी, एउटा कुरा स्पष्ट होस् कि हाम्रो जस्तो सानो मुलुकमा पनि अति धेरै वर्गीय विविधता छ । पहुँच र क्षमता दुवैको विविधता छ । हामी कहिलेकाहीँ यसरी सोच्छौँ मानौं सबैका घर घरमा इन्टरनेट छ, पढ्ने उपकरण छन्, ससाना बालबालिकालाई सहयोग गर्न बाबुआमा सक्षम छन् । तपाईँ कार्यरत गोरखापत्रमा गतः पुस १२ गते मैले मेरो नबिक्ने र नसुनिने आवाजमा भनेको थिएँ– कोरोनाको कहर छिटै मेटिँदैन, वैकल्पिक विधिलाई मजबुत बनाऔँ ।

अब सुन्नुहोस् ! मैले तपाईँलाई बेलाबखत भनेको पनि छु– यस वर्षका विद्यार्थी धेरै मर्कामा छन् । गतिलोसँग तीन महिना पनि पढेका छैनन् । मैले समग्रतामा कुरा गर्दैछु । पोहोरसालका विद्यार्थीले भरपूर पढ्ने अवसर पाएका थिए । अहिलेका विद्यार्थी दोहोरो मारमा नपरून् । जब सिकाइ प्रक्रिया नै राम्रोसँग हुन सकेको छैन भने यो परीक्षाको भूतले विद्यार्थीलाई कहिलेसम्म लखेट्ने ? कक्षा १० का लागि यो परीक्षाको उपयोगिता कक्षा ११ पढ्ने ‘लाइसेन्स’ जत्तिकै मात्रै भयो । तिनीहरूप्रति सकेसम्म उदार बन्न सकिन्छ । कक्षा १२ को परीक्षाले अन्तर्राष्ट्रिय मान्यता राख्ने हुनाले गहिरिएर सोच्नु पर्ला कि ? जे होस्, गत वर्षझैँ यस वर्ष विद्यार्थी र अभिभावकलाई तनावमा नराखिँदा हुन्थ्यो ।

अन्त्यमा, शिक्षाका मर्मज्ञहरू थोरै मात्रै हुन्छन् । अर्धबुझक्कड अलि धेरै र महाबुझक्कड बग्रेल्ती हुन्छन्, जसमध्ये म पनि एउटा हुँ । त्यसैले डाक्टरले ओखती लेखेझैँ एक, दुई, तीन गरेर सुझाव लेख्नु तुरुन्तै जरूरी ठान्दिनँ । पोहोरका वर्ष माथापच्चीसी गरेका खेस्राहरू राष्ट्रिय परीक्षा बोर्डमा अझै बाँकी होलान् । महाव्याधिका बारेमा विज्ञहरूसँग परामर्श गरेर उहाँहरूले दुई चारवटा योजना पक्कै खुट्याउनु हुनेछ र समयमैँ निक्र्यौल गर्नु हुनेछ । निम्तो पाएमा म पनि मुखमा मास्क र हातमा सेनिटाइजर लेपेर उपस्थित हुनेछु । प्रकृति अधिकारी र डा. बालचन्द्र लुँइटेलले पोष्ट्याएका सुझावहरू विचारणीय छन् ।

जाँदाजाँदै, विद्यार्थीले शिक्षकलाई अब के गर्ने ? भनेर सोधे भने राष्ट्रिय परीक्षा बोर्डको आजको सूचनामा भनिएझैँ अध्ययनलाई जारी राख्न अनुरोध गर्ने ।

धन्यवाद !

A Levels MA
I Tech store