SEE Result 2082

प्राविधिक शिक्षा एक —प्रसंग र सन्दर्भहरु अनेक

शिक्षा ब्यवसायिक हुनुपर्छ भन्नेहरु थाकिसके । प्राविधिक शिक्षा हाम्रो गन्तब्य भन्नेहरु पनि हराउन लागे । शिक्षा त सीपमूलक बन्नुपर्छ ,भन्ने नारा पनि सुनिन छाडे । शिक्षाले रोजगार दिनुपर्छ, भन्दै चिच्याउनेहरुको आवाज मलिन बनेको हो त ? स्वदेशमा रोजगारी नपाउने शिक्षाको कारणले बिदेशिन बाध्य बनाएको भन्नेहरु पनि कम छैनन् । प्राविधिक र ब्यवसायिक शिक्षा एउटै हो भन्नेहरु पनि कम छैनन् । मानव सभ्यताको विकास क्रमसंगै प्राविधिक शिक्षाको प्रारम्भ भएको तथ्यमा धेरैको मतैक्यता भेटिन्छ । ढुङ्गा र लौराको प्रयोगबाट जनावरहरुको शिकार गर्नु र बिस्तारै तिखो र धारिलो ढुङ्गाबाट शिकारका लागि सहज र सरल बनाउने प्रयत्न नै प्राविधिक शिक्षाको प्रारम्भिक अवस्था भन्न सकिन्छ । धनुकाँणहरुको निर्माण र प्रयोग पछि गुलेली बनाएर शिकारी युगमा प्राविधिक शिक्षाले थप फड्को मारेको बुझिन्छ । ढुङ्गा, काठ, लहरा लगायतका सामग्रीहरुको प्रयोग गर्दै सिक्दै कृषि युगमा प्रवेश गर्दा फलाम लगायतका धातुहरु घोटेर, पिटेर, चुच्चो बनाएर, धारिलो बनाएर प्रयोगमा ल्याएको भन्ने कुरा इतिहास साक्षी छ । बिस्तारै गर्दै, सिक्दै र नयाँ खोज्ने बनाउने मान्छेको स्वभावकै कारणले हज्जारौं वर्ष पश्चात औद्योगिक युगमा प्रवेश गर्दा प्रविधिको प्रयोगले फड्को मारेको भन्नैपर्छ । प्राविधिक शिक्षा र मानव सभ्यता एकै सिक्काका दुई पाटाहुन् भन्दा अत्युक्ति नहोला । चरा लगायतका जनावरहरु अनि किरा फट्याङ्ग्राहरुको जीवन शैलीबाट मान्छेले धेरै सिके र सिक्ने क्रम अझै जारी छ । आकाशमा चरा उडेको अध्ययन गरेर राईट ब्रदर्शले हवाईजहाज बनाए । यस्ता अनेकौं उदाहरण हामी भेट्न सक्छौ । अनौपचारिक रुपमा बिकसित भएको प्राविधिक शिक्षा नै वर्तमानको अत्याधुनिक प्रविधिको शुरुआत थियो भन्दा बिमति नहोला । 

सन्दर्भलाई हाम्रो प्राविधिक शिक्षा संग जोड्न खोजिएको छ । कृषि तथा पशुपालन र खेतीपातीको युग संगै प्रविधिको प्रयोग र विकास भएको यथार्थ स्विकार्नै पर्दछ ।  वि.सं. १९३४ बाट अर्थात राणाकालमै नेपालमा औपचारिक रुपमा प्राविधिक शिक्षा प्रारम्भ भएको पाईन्छ । राणा परिवारमै वैज्ञानिक बनेकाहरुको इतिहास धेरैलाई थाहा छ । बेलायतमा औद्योगिक क्रान्ति पश्चात पश्चिमा मुलुकहरुमा मात्र हैन, एशियन राष्ट्रहरुमा समेत मेशिन तथा प्रविधिको प्रयोग र बिस्तार भएको पाईन्छ । वि.सं. २०२८ सालको नयाँ शिक्षा ऐनले विद्यालयतहमा ब्यवसायिक शिक्षालाई जोडेर फर्निचर, सिलाईबुनाई, कृषि शिक्षा, पशुपालन, लेखा आदि विषयहरु माध्यमिक कक्षाहरुमा संचालन गरिएको थियो । निम्न माध्यमिक तहमा कक्षा ६ देखि  पूर्व ब्यवसायिक शिक्षा अन्तर्गत बगैचा निर्माण, खाना बनाउने पाक शिक्षा, माटाका विभिन्न खेलौनाहरु, कागजका चित्रहरु लगायतका अभ्यासहरु पनि गराईएका थिए । ब्यवसायिक तथा प्राविधिक शिक्षालाई थप औपचारिकता प्रदान गरि ब्यवस्थित बनाउने मनसायले वि.सं. २०४५ सालमा अलग ऐन ल्याई प्राविधिक तथा ब्यवसायिक शिक्षा तालिम परिषदको स्थापना गरियो । यस ऐनमा टेकेर स्थापना गरिएको सिटिईभिटि अन्र्तगत प्रि डिप्लोमा टिएसएलसी तह र डिप्लोमा तह भनि क्रमशः तत्कालिन एसएलसी र प्रविणता प्रमाण पत्र तह सरहका शैक्षिक योग्यता हुनेगरी कक्षाहरु संचालनमा ल्याएको पाईन्छ ।

टिएसएलसी प्रिडिप्लोमा कक्षा १० पश्चात १८ महिने कोर्स र डिप्लोमा एसईई पश्चातको ३ वर्षे कोर्स संचालनमा आएको ३७ वर्ष भएको देखिन्छ । सामुदायिक विद्यालयमा प्राविधिक शिक्षालाई त्भ्ऋक् भनिएको छ र स्वास्थ्य शिक्षा अन्तर्गतका विषयहरु अनमि, अहेव, हेअ बाहेकका कृषि, पशुपालन, ईञ्जिनियरिङ्ग, कम्प्युटर, आदि विषयहरु अध्ययनका लागि स्विकृत दिंदै आएको छ । त्यसैगरि, तत्कालिन शिक्षा विभागले वि.सं. २०७० सालदेखि सरकारी विद्यालयहरुमा कक्षा ९—१२ को प्राविधिक शिक्षा संचालन गर्ने ब्यवस्था गरेको र उक्त विभागको नाम फेरिएर वि.सं.२०७६ मा  शिक्षा तथा मानव श्रोत विकास केन्द्र राखिए पश्चात पनि उक्त कार्यक्रमलाई निरन्तरता दिंदैं आएको छ ।  प्राविधिक शिक्षालाई एकै छानामुनि राख्नुपर्ने आवाज चर्को रुपमा उठाउनेहरु पनि अब थकित भैसकेको देखिन्छ । आआफ्ना मान्छेहरुको ब्यवस्थापन र पदमा राख्नैपर्ने दबावले विद्यालयतहको प्राविधिक शिक्षालाई सिटिईभिटि र शिक्षा तथा मानव श्रोत विकास केन्द्र दुबै भवनहरुबाट संचालन गरिएको र निरन्तरता दिईएकोमा शंका छैन । अन्यथा, एउटै काम र तह समेत एकैहुनुले यो प्रमाणित गरेको स्पष्ट छ । सिटिईभिटिको डिप्लोमा तह भने एसईई पछि ३ वर्षे र यता कक्षा ९—१२ भने १ वर्ष अवधि कम भएको पनि छर्लङ्ग छ । प्राविधिक तथा ब्यवसायिक शिक्षालाई ब्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा हाम्रो सरकार भने आफन्तहरुको ब्यवस्थापनका लागि जनशक्ती थप्ने र एकै कामलाई फोरेर धेरै छानाबाट गरि गराई देशको ढुकुटीको दुरुपयोग गर्न उद्यत रहेको भन्दा अत्युक्ती नहोला । 

आर्थिक चुहावट नियन्त्रण गरि मुलुकको अर्थ ब्यवस्थालाई मजबुत बनाउन लागि पर्ने भनिएको वर्षौ भयो । अनावश्यक कर्मचारी ९इखभच कतबााष्लन ० कटौती गरि चुस्त दुरुस्त सेवा प्रवाहका लागि प्रतिवद्ध रहने भन्दै आएको पनि धेरै वर्ष बितिसकेको छ । यता ब्यवहारमा भने विद्यालयतहमा प्राविधिक तथा ब्यवसायिक शिक्षाका लागि एकै प्रमुख अन्तर्गतका कर्मचारी मार्फत एकै भवनबाट संचालनका लागि उठेका आवाजहरुको सुनुवाई नहुनु भित्र अनेक ब्यक्तिका आर्थिक लाभ र पदहरु संग जोडिएका कुत्सित स्वार्थले काम गरेको भन्दा अन्यथा नहोला । बोली एक ब्यवहार अनेक त हामीले देख्दै भोग्दै आएका छौं । प्रत्येक सरकार आउने बित्तिकै शिक्षामा प्राविधिक र ब्यवसायिकताका कुरा उठेकै हुन्छन् ।  हरेक शिक्षा मन्त्री प्राविधिक र सीपमूलक शिक्षाका निर्णयका लागि आतुर देखिन्छन् । वर्षै पिच्छे आयोग बन्छन् । प्रतिवेदन तयार हुन्छन् । प्रतिवेदन हस्तान्तरणका समारोहहरुले समाचार ब्यस्त बनेका उदाहरण अनेक छन् । तर, ब्यवहारमा भने रत्ति पनि परिवर्तन देखिन्न । यो क्रमले दशकौं वर्ष पार गरिसकेको छ । सरकार बाहिर हुँदा चर्का भाषण गर्ने अनि सरकारमा पुगेपछि यो वा त्यो नाममा पन्छाउने प्रवृत्ति र रोग पुरानै हो । नागरिकले परिवर्तन खोजेका छन् । कुरामा हैन, ब्यवहारमा काम भएको हेर्न चाहनु नागरिकको अधिकार नै हो । सरकार फेरिएपिच्छे जनतामा केही होला कि भन्ने आशा पलाउँछ र केहि दिन पश्चात सो क्रमशः मर्दै जान्छ । हालका नयाँ भनिएकाहरुबाट जनताले आशा गर्नु स्वभाविक हो तर पुरानै ब्यवहार र शैली हावी हुनुलाई दुर्भाग्यपूर्ण भन्नै पर्दछ ।

विद्यालयस्तरको प्राविधिक शिक्षा हाल संकटमा छ भन्दा अत्युक्ति नहोला । पछिल्ला एकाध वर्षहरुमा बन्द हुँदै गैरहेका प्राविधिक शिक्षालयहरुमा शिक्षा मन्त्रालयको ध्यान आकर्षित हुनुपर्छ । सरकारी कोषबाट होस् वा बाह्य राष्ट्रबाट प्राप्त अनुदान वा ऋण नै किन नहोस, ल्याव स्थापना र छात्रवृत्ति तथा पारिश्रमिक समेतका विभिन्न शिर्षकबाट भए गरेका लगानिको प्रतिफल देखिनु पर्छ । आवश्यक पदहरु मात्र राखि पद अनुरुप योग्य र सक्षम ब्यक्ति नियुक्त गरिएको हेर्न चाहनेहरु धेरै छन् । आफ्रना नजिकका ब्यक्तिहरु खोज्दै रोजगार दिने नाममा संस्थाहरु डुबाउने कामको अन्त्यको अपेक्षा हामी सबैको हो । विद्यमान प्राविधिक शिक्षा पाठ्यक्रमको समयानुकूल र सान्दर्भिक परिमार्जन एक स्वभाविक प्रक्रिया हो । यस्तो फेरबदल नाम मात्रको औपचारिकतामा सिमित रहनु हुँदैंन । प्राविधिक शिक्षा मुलुकको समृद्धिको आधार स्तम्भ भएको तथ्यमा कतै बिमति छैन । सिटिईभिटि र मानव श्रोत विकास केन्द्र मध्ये कुनै एक धुरीबाट प्राविधिक शिक्षा संचालन गर्न सकिदैंन र ? सरकारी र नीजि शिक्षालयहरुका लागि अलग अलग धुरीबाट स्विकृत दिनुपर्ने हो ? विद्यालय तहको प्राविधिक शिक्षाबाटै मध्यमतहका सीपमूलक जनशक्ती उत्पादन हुने भएकाले यस तर्फ सम्बन्धित जिम्मेवार ब्यक्ति  र संस्थाहरुको गम्भिर ध्यानाकर्षणका लागि उल्लेखित विषयहरुको उठानबाट बहस र विश्लेषण गरि निकास स्पष्ट हुने अपेक्षा गरिएको छ । 

+2 School
Counseling
Bachelors Portal