After SEE Portal

एसईईमा सम्मिलित हुन उमेर हद नलाग्ने

Bridge Course

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सम्मिलित हुन अब उमेर हद नलाग्ने भएको छ ।

विगतमा कक्षा १० को वार्षिक परीक्षा अर्थात एसईईमा सम्मिलित हुन कम्तीमा १४ वर्ष उमेर पूरा भएको हुनुपर्ने प्रावधान थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले कानुनमा विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा लिइने स्पष्ट उल्लेख भएको बताउँदै भने, “विगतमा कक्षा १० मा एसएलसी परीक्षा सञ्चालन गर्ने गरिएकोमा अब कक्षा १२ को परीक्षा एसएलसी हुने भनी स्पष्ट व्यवस्था छ । सोहीअनुरुप शिक्षा नियमावली (नवौँ संशोधन)मा माध्यमिक उत्तीर्ण परीक्षा कक्षा १२ मा सञ्चालन हुने व्यवस्था गरिएको छ । त्यसैले विगतमा कक्षा १० मा लागू भएको उमेर हद अब एसईईमा रहँदैन ।”

गत वर्षसम्म पनि उमेर १४ वर्ष पूरा नभएसम्म एसईईमा सम्मिलित हुन धेरै विद्यार्थीलाई वाधा सिर्जना भएको थियो । यस वर्ष परीक्षा फाराम बुझ्न भनिएको छ । “कानुनतः उमेर हदका कारण परीक्षामा सम्मिलित हुन नपाउने अवस्था नरहे पनि परीक्षाको नतिजा सार्वजनिक हुनुअघि परीक्षा नियन्त्रण कार्यालयले उमेर हद नलाग्ने भनी औपचारिक जानकारी सार्वजनिक गर्नुपर्छ” मन्त्रालयका प्रवक्ता शर्माले भने, “आगामी वर्षको परीक्षाका लागि पनि अहिले नै पनिकाले बोलिदिनुपर्छ । नत्र विद्यार्थीहरु अन्योलमा रहनसक्छन् ।”   

उनका अनुसार माध्यमिक उत्तीर्ण परीक्षा कक्षा १२ मा सरेकाले विगतको उमेर हदको प्रावधान स्वतः कक्षा १२ मा सर्छ । “कक्षा १२ को हदबन्दी कति राख्ने भन्ने शिक्षा ऐन निर्माण हुँदा तय हुनेछ तर औपचारिक व्यवस्था नहुञ्जेललाई नियमावलीकै प्रावधान कार्यान्वयनमा रहन्छ ।”

यसैबीच यस वर्षको परीक्षाका लागि पुनः केन्द्रबाट प्रश्नपत्र तयार गरिएको छ ।

शिक्षा मन्त्रालयले गत वर्ष एक पटकका लागि भनेर केन्द्रबाट नै प्रश्नपत्र तयार गरेको थियो । त्यो भनाइ औपचारिकतामा मात्र सीमित रहन पुगेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आफूहरुले प्रदेशलाई नै प्रश्नपत्र तयारीको जिम्मेवारी दिन चाहेको तर प्रदेश अनिच्छुक देखिएपछि आफूहरुले प्रश्नपत्र तयार गर्नुपरेको तर्क गरे ।

उनले भने, “प्रदेश शिक्षा निर्देशनालयका पदाधिकारीहरुसँग छलफल गरेका थियौँ । उहाँहरुले यस वर्ष बोर्डले नै प्रश्नपत्र तयार पारिदिन आग्रह गर्नुभयो । त्यसैले यस वर्ष हामीले नै प्रश्नपत्र तयार गर्न सहयोग गरेका छौँ । आगामी वर्ष प्रदेशले नै तयार गर्नेछ ।”

उनका अनुसार उत्तरपुस्तिका छपाइदेखि परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा सार्वजनिकको जिम्मेवारी प्रदेशलाई प्रत्यायोजन गरिएको छ । विगतमा उत्तरपुस्तिका छपाइ, परीक्षा सञ्चालन तथा उत्तरपुस्तिका परीक्षण प्रदेश सरकारले नै गरे पनि नतिजा केन्द्रबाट सार्वजनिक गरिन्थ्यो । “अब प्रदेशले नै नतिजा सार्वजनिक गर्ने भएकाले सबै प्रदेशको नतिजा एकै दिन सार्वजनिक नहुनसक्छ” बोर्डका अध्यक्ष डा. शर्माले भने, “जसले छिटो काम सक्नेछ त्यही प्रदेशको नतिजा पहिले सार्वजनिक हुनेछ ।”

 

A Levels MA
Thuprai - Books and E-books