
जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोटेकोशी बाढीका कारण अभिभावकविहीन वा परिवारसँग सम्पर्कविहीन भएका बालबालिकाको विवरण सात दिनभित्र उपलब्ध गराउन सम्बन्धित विद्यालय, गुम्बा, बालगृह, अनाथालय, अस्थायी आवास तथा सामाजिक संस्थालाई निर्देशन दिएको छ।
कार्यालयले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका स्थायी बासिन्दा भई काठमाडौंमा अध्ययनरत बालबालिका तथा बाढीपछि उद्धार गरी काठमाडौं ल्याइएका बालबालिकाको विवरण संकलन गर्न लागेको जनाएको छ।
त्यस्ता बालबालिकामध्ये अभिभावकविहीन भएका, परिवारसँग सम्पर्क टुटेका वा अन्य संस्थाको संरक्षणमा रहेका बालबालिकाको व्यक्तिगत तथा पारिवारिक विवरण तयार गरी प्रशासन कार्यालयमा बुझाउन भनिएको छ।
प्रशासनले बालबालिकालाई कुनै पनि संस्थाले कानुनी प्रक्रिया पूरा नगरी आफूखुसी राख्न, स्थानान्तरण गर्न वा अन्य प्रयोजनमा प्रयोग गर्न नपाउने जनाएको छ। त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले बालबालिकाको सुरक्षा र पारिवारिक पुनर्मिलनका लागि सम्बन्धित सरकारी निकाय तथा सामाजिक संस्थालाई आवश्यक सहकार्य गर्न आग्रह गरेको छ।




