सरकारको विद्यालय बन्द गर्ने निर्णय मानेनन् स्थानीय पालिकाले

सरकारको विद्यालय बन्द गर्ने निर्णय प्रति स्थानीय तहको मिश्रित प्रतिक्रिया, केही मौन, केही बन्द गर्ने र केही पठनपनठन यथावत राख्ने सोचमा ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायु पैदूषणको कारण देखाएर सम्पूर्ण शैक्षिक संस्था चार दिनका लागि बन्द गर्ने निर्णय केही स्थानीय पालिकाले नमान्ने भएका छन् ।

शिक्षा मन्त्रालयले आकास्मिक बैठकबसी हिजो सार्वजनिक गरेको चार दिन विद्यालय बन्द गर्ने निर्णय सार्वजनिक हुन नपाउँदै तनहुँको भिमाद नगरपालिकाले आफ्नो नगरपालिकाभित्र त्यस्तो प्रतिकुल अवस्था नदेखिएको हुँदा सम्पूर्ण शिक्षण संस्थालाई यथावत राख्न निर्देशन दिएको छ ।

इलामको रोङ गाउपालिकाले पनि हिजै एक सूचना जारी गरी आफ्नो गाउँपालिकाभित्र निर्बाध रुपमा विद्यालय सञ्चालन गर्ने जनाएको छ ।

त्यस्तै इलाम  नगरपालिकाले पनि आफ्नो क्षेत्रका सम्पूर्ण विद्यालय सञ्चालन  हुने सूचना हिजै जारी गरिसकेको छ । त्यस्तै विराटनगर महानगरपालिकाले आफ्नो क्षेत्रमा वातावरणीय असहज अवस्था उत्पन्न नभएको भन्दै सम्पूर्ण शिक्षण संस्थाहरु नियमित सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले हिजै कोभिड १९ को महामारीमा लामो समय विद्यालय बन्द भई केही महिना यता मात्र खुलेको हुँदा बालबालिकाले पढ्न पाएको हुँदा पठनपाठन यथावत राख्न निर्देशन दिएको छ ।

पोखरा महानगरपालिका लगायत केही पालिकाले भने सरकारको निर्णयअनुसार शैक्षिक संस्था बन्द गर्ने सूचना जारी गरेका छन् । अधिकांश पालिका भने संघीय सरकारको निर्णयलाई अक्षरंश पालना गरी स्वतः शिक्षण संस्था बन्द गर्ने निर्णय पुगेका छन् ।

नेपालको संविधानले विद्यालय शिक्षा सम्मको अधिकार स्थानीय सरकार मातहत गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ज) को २३ वटा बुँदामा शिक्षा क्षेत्रमा स्थानीय सरकारले गर्नसक्ने कामको फेहरिस्त दिइएको छ । तर पनि अधिकांश पालिकाहरुले यसको अभ्यास नगरेर संघीय शिक्षा मन्त्रालयकै निर्णयका आधारमा कार्य प्ररम्भ गरिरहेका छन् ।

Thuprai - Books and E-books