ल क्याम्पस स्थापना दिवस परिवर्तन हुने भयो

अबदेखि असार १७ गतेलाई नेपाल ल क्याम्पसको स्थापना दिवसका रुपमा मनाइने भएको छ ।

नेपाल ल क्याम्पस स्थापना मिति यकिन गर्न गठित अध्ययन अनुसन्धान समितिले आज प्रतिवेदन बुझाएको छ । समितिले असार १७ गते स्थापना दिवसका रुपमा मनाउन सिफारिस गरेको छ ।

समितिका संयोजक प्रा.डा. अम्बरप्रसाद पन्तले २०२७ साल भदौ १ गतेको उच्च शिक्षा निर्देशिकामा सो क्याम्पस २०११ साल असार १७ गते उल्लेख भएकाले सोही मितिलाई आधार मानिएको बताए ।

शिक्षा मन्त्रालयका तत्कालीन निमित्त सहसचिव लवबहादुर प्रधानको हस्ताक्षर रहेको सो निर्देशिकामा कलेजको मिति फेला परेको छ । सो निर्देशिका त्रिचन्द्र क्याम्पसका पूर्वप्रशासक शिव ढकालले उपलब्ध गराएका थिए । निर्देशिका शिक्षा मन्त्रालयसँग पनि नरहेको बताइएको छ ।

कलेजले हाल कात्तिक ५ गतेलाई स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । कलेज प्राङ्गणमा शिलालेखमा सो मिति उल्लेख भएकाले त्यसैका आधारमा स्थापना दिवस मनाउने गरिएको छ । समितिले गरेको अध्ययनबाट कात्तिक ५ गते तत्कालीन युवराज महेन्द्र शाहले कानुनको पठनपाठन थालिएको औपचारिक घोषणा गरेका थिए । 

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा त्रिवि कानुन संकायका डिन प्रा.डा. विजयसिंह सिजापति र नेपाल ल क्याम्पसका प्रमुख डा. डीएन पराजुलीले प्रतिवेदनलाई त्रिवि कार्यकारी परिषद्मा पठाइ त्यहाँबाट अनुमोदन गराउने बताउँदै आगामी वर्षबाट असार १७ गते क्याम्पस स्थापना दिवस मनाइने बताए । 

Thuprai - Books and E-books