
शिक्षा आयोग (University Grants Commission - UGC) ले वि.सं. २०८३ साउन १ गतेदेखि उच्च शिक्षाको समकक्षता (Equivalence)निर्धारण गर्ने जिम्मेवारी औपचारिक रूपमा सम्हाल्ने भएको छ। यससँगै यो जिम्मेवारी त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्र (CDC) बाट UGC मा हस्तान्तरण हुनेछ। केही नेपाल ऐन संशोधन ऐन, २०८२ मार्फत विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० संशोधन भएपछि UGC उच्च शिक्षाको समकक्षता निर्धारण गर्ने देशको एकमात्र आधिकारिक निकाय बनेको हो।
मुख्य बुँदाहरू
- लागू हुने मिति: वि.सं. २०८३ साउन १
- उच्च शिक्षाको समकक्षता निर्धारणको अधिकार त्रिभुवन विश्वविद्यालयबाट विश्वविद्यालय अनुदान आयोगमा हस्तान्तरण।
- त्रिभुवन विश्वविद्यालयले नयाँ समकक्षता आवेदन लिन बन्द गरिसकेको छ।
- संशोधित कानुनले क्रेडिट ट्रान्सफर तथा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) सम्बन्धी अधिकार पनि UGC लाई प्रदान गरेको छ।
अन्य जानकारी
यो व्यवस्था केही नेपाल ऐन संशोधन ऐन, २०८२ मार्फत विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० मा गरिएको संशोधनका आधारमा लागू भएको हो। संशोधनपछि आयोगलाई विदेशी विश्वविद्यालय तथा मान्यता प्राप्त अन्य उच्च शिक्षण संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने कानुनी अधिकार प्रदान गरिएको छ।
यसअघि विदेशी विश्वविद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू तथा नेपालका अन्य विश्वविद्यालयका स्नातकहरूले आफ्नो शैक्षिक योग्यताको आधिकारिक मान्यता प्राप्त गर्न त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्र (CDC) बाट समकक्षता प्रमाणपत्र लिनुपर्ने व्यवस्था थियो।
यो जिम्मेवारी हस्तान्तरण उच्च शिक्षा आयोग (२०७५) ले गरेको सिफारिसअनुसार कार्यान्वयनमा ल्याइएको हो। आयोगले आवश्यक तयारी पूरा गरिसकेको भए पनि पछिल्ला तीन महिनादेखि आयोगमा अध्यक्ष र सदस्य-सचिव दुवै पद रिक्त रहेका छन्।





