एसईईका परीक्षार्थीले उत्तरपुस्तिकाको प्रतिलिपि लिन चाहनुहुन्छ ?

२०७८ सालको एसईईका परीक्षार्थीले आफ्नो उत्तरपुस्तिका हेर्न चाहनुहुन्छ ? उसो आफ्नो उत्तरपुस्तिकाको प्रतिलिपि माग गर्न सक्नुहुन्छ । उत्तरपुस्तिका प्राप्त गरिसक्नुभएपछि परीक्षकले कसरी परीक्षण गरेका थिए भन्ने प्रष्ट थाहा पाउनुहुनेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपपरीक्षा नियन्त्रक भक्तबहादुर गोदारले नतिजाप्रति चित्त नबुझी पुनर्याेगका लागि आवेदन दिएकाहरुले उत्तरपुस्तिकाको प्रतिलिपिका लागि आवेदन दिन पाउने जानकारी दिए । “उत्तरपुस्तिका पुनर्याेगका लागि आवेदन नदिएकाहरुले प्रतिलिपि माग गर्न सक्दैनन्, पुनर्याेगको आवेदन दिएकै हुुनुपर्छ” उनले भने ।

प्निकाका अनुसार सानोठिमी र जिल्लाहरुमा गरी करिब साढे तीन हजारले पुनर्याेगका लागि आवेदन दिएका छन् । पुनर्याेगपछि पनि नतिजाप्रति चित्त  नबुझेमा प्रतिलिपि नै माग गर्नसक्ने कानुनी व्यवस्था छ ।

उनका अनुसार प्रतिविषयको उत्तरपुस्तिकाको प्रतिलिपिका लागि सात सय रुपियाँ राजस्व बुझाउनुपर्ने हुन्छ । त्यसपछि पनिकाले उत्तरपुस्तिकाको फोटोकपी परीक्षार्थीलाई उपलब्ध गराउनेछ ।

उनले प्रतिलिपि गोप्य राख्नुपर्ने र त्यसलाई लिएर कहीँकतै उजुर गर्न नपाइने व्यवस्था रहेको जानकारी दिए । उत्तरपुस्तिकाको प्रतिलिपि लिनुअघि नै सम्बन्धित परीक्षार्थीलाई गोपनीयता कायम गर्नुपर्ने, त्यसका आधारमा अदालत नजाने, पुनःपरीक्षणका लागि अनुरोध गर्न नपाइने लगायत कुरामा कबोलसहितको सहीछाप गराइन्छ । त्यसरी प्राप्त गरेको उत्तरपुस्तिकाको प्रतिलिपि विद्यार्थीको आफ्नो व्यक्तिगत सन्तुष्टिका लागि मात्र काम लाग्नेछ ।

Thuprai - Books and E-books