एसईईको नतिजा पर्सी

राष्ट्रिय परीक्षा बोर्डले पर्सी मङ्गलबार २०७६ सालको एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले भोलि सोमबार पूर्वतयारीका लागि परीक्षा बोर्ड बैठक डाकेको छ । बोर्ड सूत्रले सोमबार बोर्ड बैठकमा नतिजा सार्वजनिक गर्न आवश्यक पर्ने तयारीका बारेमा छलफल हुनेछ जानकारी दिएकाे छ। एसईईको नतिजा प्रकाशित भएपछि https://see.edusanjal.com/ बाट पनि हेर्न सकिन्छ । 

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले सोमबार पूर्वतयारीका लागि बोर्ड बैठक बस्न लागिएको स्वीकार्दै भने, “विद्यार्थीहरुको प्रतीक्षा मङ्गलबार उता जाँदैन ।”

कोभिड–१९ का कारण गत चैत ५ गते परीक्षा स्थगित भएको थियो । परीक्षा चैत ६ गतेबाट सञ्चालन हुने गरी परीक्षा तालिका सार्वजनिक गरिएको थियो । परीक्षामा करिव चार लाख ८२ हजार परीक्षार्थी सहभागी हुने भएका थिए तर कोरोना भाइरसको समस्याले यसपटक परीक्षा सञ्चालन हुन सकेन र विद्यालयले लिएको अन्तिम परीक्षाका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिएको छ । विद्यालयले विद्यार्थीको प्राप्ताङ्क पठाएको छ र सोही आधारमा परीक्षा बोर्डले त्यसलाई अक्षराङ्कनमा रुपान्तरण गरी प्रमाणपत्र उपलब्ध गराउनेछ । 

गत साता नै परीक्षाको नतिजा वेबसाइटमा राख्न तयारी अवस्थामा भए पनि कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढ्न थालेपछि नतिजा प्रकाशनको कार्य रोकिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) रामराज खकुरेलले नतिजासम्बन्धी सम्पूर्ण कार्य पूरा भई आफूहरु बोर्ड बैठकको प्रतीक्षामा रहँदै आएको बताउँदै आएका थिए ।

Thuprai - Books and E-books