A Levels MA

एसईईको नतिजा असार अन्तिममा

गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आगामी असारको अन्तिम सातामा मात्र सार्वजनिक हुने भएको छ ।

परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले भने, “सकभर असार मसान्तसम्ममा नतिजा सार्वजनिक गर्ने योजना बनाएका छौँ ।”

परीक्षा नियन्त्रण कार्यालयले छिटोमा असार मसान्तसम्ममा र ढिलोमा साउनको पहिलो सातामा नतिजा सार्वजनिक गर्ने गरी काम अगाडि बढाएको जनाएको छ ।

गत वैशाख २० गते परीक्षा सकिएको थियो । परीक्षा सकिए लगत्तै स्थानीय तह निर्वाचनमा कर्मचारी र शिक्षक खटिएपछि एसईईको उत्तरपुस्तिका परीक्षण कार्य अगाडि बढ्न सकेन । जेठको पहिलो साताबाट मात्र उत्तरपुस्तिका परीक्षण थालिएको छ ।

“अब उत्तरपुस्तिका परीक्षणको काम धमाधम थालिएको छ । असारको अन्तिम साताभन्दा अगाडि नतिजा सार्वजनिक हुन सम्भव छैन” उपपरीक्षा नियन्त्रक भक्त गोदारले भने ।

पनिकाले विभिन्न ५६ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षणको कार्य जारी राखेको छ । परीक्षा नियन्त्रण कार्यालयमा पनि उत्तरपुस्तिका परीक्षणको कार्य भइरहेको छ । कक्षा ११ को नयाँ भर्ना कार्य आगामी साउनभन्दा अगाडि सम्भव नहुने स्पष्ट देखिएको छ ।

गत वर्षको एसईईमा करिब पाँच लाख १४ हजार परीक्षार्थी सम्मिलित थिए । जापानबाट पनि २० जना परीक्षार्थी सम्मिलित भएका छन् । २०७६ र २०७७ सालको एसईई कोभिड–१९ का कारण हुनसकेन । ती दुवै सालमा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा पनिकाले नतिजा सार्वजनिक गरेको थियो ।

 

 

Thuprai - Books and E-books