Managed Admission 2022

एसईई उत्तरपुस्तिका परीक्षणमा शिक्षकको चरम लापरवाही

Thuprai - Books and E-books

गणितका शिक्षकसमेतले परीक्षार्थीलाई दिएको अङ्क सहीढङ्गले गन्ती गर्न सक्दैनन् भने त्यस्ता शिक्षकप्रति कस्तो टिप्पणी गर्न चाहनुहुन्छ ? हो, त्यस्ता शिक्षकका कारण विद्यार्थीले अनाहकमा दुःख र झन्झट व्यहोर्दै आउनुपरेको छ ।

२०७८ सालको एसईईको नतिजाप्रति चित्त नबुझाएर पुनर्याेगका लागि आवेदन दिएकाहरुको यतिबेला राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले उत्तरपुस्तिकामा दिइएको अङ्को पुनर्याेग गर्न थालेको छ । साउन २५ गतेसम्म विभिन्न विषयका दुई हजार ५१६ उत्तरपुस्तिका पुनर्याेगका लागि आवेदन परेकोमा ६८४ उत्तरपुस्तिकामा अङ्क परिवर्तन भएको छ ।

विशेष गरी परीक्षक, सम्पकरीक्षक र अङ्क इन्ट्री गर्नेहरुका कारण परीक्षार्थी अन्यायमा परेका छन् । पुनर्याेगका लागि साउन २७ गतेसम्म म्याद दिइए पनि सार्वजनिक बिदा परेकाले साउन २९ गतेसम्म आवेदन दिन पाइनेछ । प्राप्ताङ्कप्रति चित्त बुझाएर पुनर्याेगका लागि आवेदन नदिएका सयौँ परीक्षार्थीको अङ्क समेत गडबड भएको हुनसक्ने कुरा हालसम्म पुनर्याेग भइसकेका उत्तरपुस्तिकाको नतिजाले पुष्टि गरेको छ ।

उपपरीक्षा नियन्त्रक भक्तबहादुर गोदारले भने, “गणित विषयका शिक्षकले पनि उत्तरपुस्तिका परीक्षण गर्दा अङ्क जोडाइमा गल्ती गरेको पाइएको छ । सबैभन्दा बढी यस्तो समस्या देखिएको छ । यसो हुनुमा शिक्षकको चरम लापरवाही हो ।”

साउन २५ गतेसम्म सबैभन्दा बढी अनिवार्य गणित विषयमा ५२० जनाले, ऐच्छिक गणितमा १९७ जनाले, अनिवार्य विज्ञान विषयमा १८० जनाले, सामाजिक शिक्षामा ८० जनाले, अनिवार्य अङ्ग्रेजी विषयमा ५६ जनाले, स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण षियमा ७२ जनाले, नेपाली विषयमा आठ जनाले पुनर्याेगका लागि आवेदन दिएका छन् । अन्य विषयमा केही आवेदन परेको छ ।

कतिपय परीक्षार्थीले तीनदेखि चार विषयसम्म पनि पुनर्याेगका लागि आवेदन दिएका छन् । उपपरीक्षा नियन्त्रक गोदारका अनुसार विज्ञानमा १५ जनाको, गणितमा ३० जनाको, ऐच्छिक गणितमा ११ जनाको ग्रेड वृद्धि भएको छ ।

“उत्तरपुस्तिका बाहिर ९० अङ्क छ तर स्लिपमा ९ अङ्कमात्र चढाइएको पनि फेला परेको छ” उनले भने, “जाँचकीले अङ्क जोडाइमा बढी समस्या देखिएको छ । उत्तरपुस्तिका परीक्षण गरे तर बाहिरी पानामा समग्र अङ्क चढाउँदा गल्ती चढाइदिए । यसरी अङ्क जोडाइमा गणितकै बढी छ । कतिपय शिक्षकले उत्तर परीक्षण गरे तर त्यसलाई अङ्क दिनै छुटाए ।”

उत्तर परीक्षण गरी अङ्क दिन छुटेकाहरुलाई पनिकाले पुनर्याेग कार्यमा संलग्न गराएका विषय विशेषज्ञले नै अङ्क दिने गरेका छन् । उत्तरपुस्तिकामा भएको अङ्कलाई स्लिपमा उतार गर्दा पनि गल्ती देखिएको छ । स्लिपमा भएको अङ्कलाई इन्ट्रीका क्रममा त्रुटि भएका पनि छन् र त्यस्ता ज्यादै न्यून भएको उनको भनाइ छ ।

उनले पुनर्याेगपछि कतिपय परीक्षार्थीको ईबाट बी वा ए ग्रेडवृद्धि भएको जानकारी दिए । “सी आएकाहरुको सीप्लस, बी आएकाहरुको बीप्लस पनि भएको छ । पहिले ई पाएकाहरुको एप्लस भएको अवस्था पनि छ” उनले भने ।

 परीक्षा नियन्त्रण कार्यालयमा पनि उत्तरपुस्तिका परीक्षण कार्य हुँदै आएको छ । त्यहाँका एक अधिकृतले आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै भने, “कतिपय शिक्षकलाई उत्तरपुस्तिका परीक्षण गर्न निकै हतार हुन्छ । उनीहरु आउँछन्, पोका खोल्छन् र विद्यार्थीले लेखेका कुरा ध्यानपूर्वक नपढिकनै धमाधम अङ्क दिन थाल्छन् । कतिपय शिक्षकले एक एक अक्षर हेरेर परीक्षण पनि गर्छन् । कुनै शिक्षकले एकै दिनमा तीन सय उत्तरपुस्तिका पनि परीक्षण गर्छन् कुनैले ५० वटा मुस्किलले गर्ने गरेका छन् ।”

नतिजाप्रति चित्त नबुझाइ पुनर्याेग गराउनका लागि प्रतिविषय पाँच सय रुपियाँ राजस्व बुझाउनुपर्ने नियम छ । त्यसबाहेक सानोठिमीस्थित पनिका वा सम्बन्धित शिक्षा निकायमा जाँदाको समय तथा आर्थिक खर्चको हिसाब अलग्गै छ । परीक्षार्थीले नगरेको गल्ती सच्याउनका लागि उल्टै राजस्व बुझाउनुपर्ने तर गल्ती गर्नेलाई छुट दिइने प्रवृत्ति पुरानै हो । उनले उत्तरपुस्तिका परीक्षणका क्रममा हुने त्रुटिमा कारक बनेका परीक्षार्थी बाहेकका व्यक्तिलाई कारवाही गर्ने प्रचलन नरहेको बताए ।

परीक्षा नियन्त्रण कार्यालयले २०६९ सालको साविकको एसएलसी परीक्षाको पुनर्याेगको नतिजाका बारेमा अध्ययन गरेको थियो । त्यस वर्ष ११ हजार ४२२ जनाले उत्तरपुस्तिका पुनर्याेगका लागि आवेदन दिएकोमा एक हजार २०९ जनाको नतिजा परिवर्तन देखिएको थियो । त्यो अध्ययनले ५१८ उत्तरपुस्तिकामा कभरपेजमा चढाउन छुटेको, ३०१ उत्तरपुस्तिकामा डिकोडिङ बिग्रिएको, २२२ वटामा जोड गलत गरेको, ६४ वटामा झट्ट पढ्न नसकिने अङ्क भएको, २९ वटामा परीक्षण गर्न छुटेको, २१ वटामा अङ्क यताउता पारी लेखेको, १९ वटामा सम्परीक्षकले गलत अङ्क लेखेको, १२ वटामा परीक्षकले दिएको अङ्क उतारेको, छ वटामा सिम्बोल नम्बरको पछिल्ला दुई अङ्क सारेको र पाँच वटा उत्तरपुस्तिकामा इन्ट्री गलत गरेको देखाएको थियो ।

सो अध्ययनले सबैभन्दा बढी ७६६ वटा उत्तरपुस्तिकामा परीक्षकको गल्ती ठह¥याएको थियो । त्यस्तै ३३९ वटा उत्तरपुस्तिकामा डिकोडिङ गर्ने व्यक्तिको र ८९ वटामा सम्परीक्षकको त्रुटि औँल्याइएको थियो । अध्ययनले अङ्क चढाउँदा ६७.६२ प्रतिशत र जोड गलत २८ प्रतिशतको देखिएको प्रष्ट गरेको थियो ।

अध्ययनले पनिकालाई विभिन्न सिफारिस गरेको थियो । परीक्षक तथा सम्परीक्षकलाई जिम्मेवार बनाउने कार्यमा तालिम लगायतका कामलाई प्रभावकारी बनाउनुपर्ने, परीक्षक र सम्परीक्षकलाई निर्देशनको पालनामा कडाइ गर्नुपर्ने, विशेष गरी परीक्षकलाई उत्तरपुस्तिका परीक्षणका क्रममा अनिवार्य रुपमा भित्रको अङ्क दोहोर्याएर जोड्न लगाएर मात्र प्राप्ताङ्क महलमा लेख्न लगाउने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नुपर्ने, त्रुटिको मात्रा र सघनताबमोजिम दण्डको व्यवस्था गर्नुपर्ने लगायतका सिफारिस गरिएका थिए ।