राष्ट्रिय आईसीटी छात्रवृत्ति आवेदन खुला

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घले प्राविधिक शिक्षातर्फ प्रदान गर्दै आएको छात्रवृत्ति ‘नेसनल आईसीटी स्करलसिप, २०७७’को लागि आवेदन खुला गरेको छ ।

क्यान महासङ्घले मैतिदेवीको लर्ड बुद्ध एजुकेसन फान्डेसनसँगको सहकार्यमा गरिब र जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्ति उपलब्ध गराउने छ ।

क्यान महासङ्घले आज जारी गरेको विज्ञप्तिमा यस वर्ष ४९ जना विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको जनाएको छ । छात्रवृत्तिमा सात वटै प्रदेशका विद्यार्थीले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट एक जना छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । विगत दुई वर्षदेखि प्रदान गरिँदै आएको यस्तो छात्रवृत्ति कार्यत्रमअन्तर्गत हाल २८ जना विद्यार्थी अध्ययनरत छन् ।

यस वर्ष ‘फिमेल मेरिट आईसीटी स्कलरसिप’मा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालई छात्रवृत्ति प्रदान गरिनेछ भने ‘आईसीटी मेरिट स्कलरसिप’अन्तर्गत प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिनेछ ।

क्यान महासङ्घ र कलेजबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले एक करोड ९६ लाख ४२ हजार पाँच सय रुपियाँ बराबरको छात्रवृत्ति पाउनेछन् ।

छात्रवृत्ति प्राप्त विद्यार्थीले मलेसियाको एसिया प्यासेफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको सम्बन्धमा सञ्चालित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनमा स्नातक तहअन्तर्गत बीएस्सी आईटीको अध्ययन गर्न पाउनेछन् । छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासङ्घ वा फाउण्डेसनको वेवसाइटमार्फत यही सेप्टेम्बर २५ तारिखभित्र आवेदन दिइसक्नुपर्ने जनाइएको छ ।

 

Thuprai - Books and E-books