रजिष्ट्रेसन र आवेदन फाराम खुल्यो

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले रजिष्ट्रेसन र आवेदन फाराम खुला गरेको छ ।

पनिकाका अनुसार कक्षा ९ मा रजिष्ट्रेसन फाराम र कक्षा १० मा आवेदन फाराम भर्न खुला गरिएको हो ।

परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार पुस १६ देखि आगामी माघ २१ गतेसम्ममा विद्यालयहरुले विद्यार्थीको रजिष्ट्रेसन र आवेदन फाराम भराइसक्नुपर्ने छ । 

“भरिएको फारामलाई विद्यालयले आगामी माघ मसान्तभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा बुझाइसक्नुपर्नेछ” उनले भने । रजिष्ट्रेसनका लागि प्रतिविद्यार्थी तीन सय रुपियाँ र आवेदन फारामका लागि पाँच सय रुपियाँ कायम गरिएको छ । विगतको भन्दा करिव साढे तीन महिना ढिला गरी फाराम खुलाइएको छ । 

यस वर्षको एसईई कसले सञ्चालन गर्ने भन्ने अझै टुङ्गो लाग्न सकेको छैन । पनिकाले यस बारेमा छिटो छिनोफानो गरिदिन राष्ट्रिय परीक्षा बोर्डसमक्ष आग्रह गरेको थियो । बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई यस बारेमा निर्णय गरिदिन अनुरोग गरेको छ । पनिकाले गत २०७६ सालको जस्तै विद्यालय आफैले मूल्याङ्कन गर्ने हो वा प्रदेशले परीक्षा सञ्चालन गर्ने वा पनिकाले नै परीक्षा सञ्चालन गरेर मूल्याङ्कन गर्ने भन्नेमा स्पष्टता खोजेको छ । त्यसैले पनिकाले अझैसम्म प्रश्नपत्र तयारीसम्बन्धी कुनै पनि कार्य अगाडि बढाएको छैन ।

परीक्षा नियन्त्रक खकुरेलले परीक्षा सञ्चालन गर्ने निकाय र विधिका बारेमा पछि टुङ्गो लागे पनि अहिले रजिष्ट्रेसन र आवेदन फाराम भराउने निर्णय भएको तथा यसरी भरिएका फाराम पछि जसले परीक्षा सञ्चालन गरे पनि काम लाग्ने बताए ।

Thuprai - Books and E-books