After SEE Portal

कलेजले अर्को वर्ष मात्र पढाउने भनेपछि मारमा प्यारामेडिकलका विद्यार्थी

Bridge Course

चिकित्सा शिक्षाको स्नातक तहका प्यारामेडिकल समूहका विद्यार्थीले कलेजले सूचना जारी गरेपछि भर्ना हुन जाने भन्दै प्रतिक्षा गरेको महिनौं बित्यो । तर आफूले रोजेको कलेजले अहिलेसम्म भर्नाका लागि बोलाएको छैन । आफूले रोजेर विश्वविद्यालयमा नै सिधै भर्ना भएर गएका विद्यार्थी पनि सम्बन्धित कलेजले प्रक्रिया पुर्याएर भर्ना नलिँदा निरास भएका छन् । साढे एक वर्षको प्रतिक्षा पछि एकीकृत प्रवेश परीक्षा पास गरेर गएका विद्यार्थी अहिले आफूले चाहेको विषय र कलेज पढ्न नपाइने हो कि भन्ने मानसिक चिन्तामा परेका छन् ।

मनमोहन मोमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सबाट बिएससी नर्सिङ अध्ययन गर्ने सोचका साथ कंलकी पुगेकी सुरक्षा लामिछाने अहिले चिन्तामा परेकी छिन् । अहिले उनी बिएससी नर्सिङ पढ्नका लागि भर्ना भएको इन्स्टिच्युटले पढाउने नसक्ने भनेपछि चिन्तामा परेकी हुन् ।

इन्स्टिच्युटमा चिकित्सा शिक्षा आयोगले गत साउन ९ देखि १३ सम्म सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षा उत्तीर्ण ६ जना विद्यार्थी मात्र भर्ना भए । इन्स्टिच्युटले विद्यार्थी भर्ना नै थोरै भएपछि पढाउन नसक्ने भएपछि भवियष्य नै अन्योल पारेर हामीलाई पछिल्लो वर्ष धकेल्ने आंशका लागेको उनी बताउँछिन् ।

उनी जस्तै सोही इन्स्टिच्युटमा बिएस्सी नर्सिङका लागि भर्ना भएकी कृतिका लामिछाने आयोगले भविष्यनै अन्धकार तर्फ धकेलिदिएको बताउँछिन् । बिएससी नर्सिङका लागि आयोगले ११ सय सिट संख्या तोकेको भए पनि परीक्षामा ५०४ जना मात्र विद्यार्थी उत्तीर्ण भएपछि कक्षा सञ्चालनमा नै समस्या देखिएको छ ।

त्यसैगरी, पूर्वाञ्चल विश्वविद्यालयबाट भर्ना भएर ब्याचलर अफ पब्लिक हेल्थ (बीपीएच)अध्ययनका लागि भुवन सुवेदी बुटवलको सञ्जिवनी कलेज अफ मेडिकल साइन्स पुगे । कलेज पुग्दा उनलाई सेती झर्नाबाट खसेंझै लाग्यो । उनले विश्वविद्यालयले भर्ना गर्दा लिएको भर्नाको सम्पूर्ण विवरण लिएर छात्रवृत्ति कोटामा उक्त कलेज पुगेपछि झन चकित भए । ‘कलेजले विश्वविद्यालयले गरेको भर्नाको कुनै फाइल नै हेरन, बरु विद्यार्थी कम भएका भन्दै कक्षा सञ्चालन नै नगर्ने भनेपछि चिन्तामा परें ।’ उनले भने, ‘अझ अचम्मको कुरा त कलेजले अर्को वर्ष प्रवेश परीक्षामा विद्यार्थी पास भएपछि भर्ना गर्न आउने र संगै पढाउने भनेपछि चकित परें ।’

प्युठानका पारस पोखरेलले बीपीएच अध्ययन गर्न काठमाडौंको तिनकुने स्थित कान्तिपुर एकेडेमी अफ हेल्थ साइन्स छनोट गरे । सुरुमा कलेजले हामी सूचना निकाल्छौं त्यसपछि भर्नाका लागि आउनु भन्दै पठायो । कलेजले अहिलेसम्म सूचना नगरेपछि यो विषयमा बुझ्न उनी कलेज पुगे, कलेज पुग्दा उनी छांगाबाट खसेजस्तै भए । कलेजले छात्रावृत्तिका लागि आयोगले पठाएका ४ जना विद्यार्थी मात्र भएपछि यो विषयमा तत्काल भर्ना नगर्ने भन्ने गोप्य सूचना पाएपछि उच्च शिक्षा अध्ययनका लागि आफूले रोजेको विषयले पारिवार र आफूलाई तनाव मात्र थपेको उनले बताए । ‘आयोग पदाधिकारीलाई पनि यो विषय लिएर भेट्यौं, उनीहरुले हामीकहाँ यस्तो सूचना नआएको दाबी गरे ।’ उनी भन्छन्, ‘कलेजले पठनपाठनका लागि सुरसार गरेकै छैन, आयोगले आगामी १९ गतेदेखि प्यारामेडिकलका सबै कक्षा सञ्चालन गर्ने भनेपछि भोकतिर्खा नै हराएको छ ।’

यो विषयमा सम्पूर्ण विश्वविद्यालयका लागि १४४० जना विद्यार्थीको कोटा छ । आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा ५६५ जना मात्र विद्यार्थी उत्तीर्ण भएपछि कलेज सञ्चालनमा नै समस्या भएका कारण भर्ना लिन नसकिएको कलेजले जानकारी दियो ।

भक्तपुरकी मनिला श्रेष्ठले पूर्वाञ्चल विश्वविद्यालयको कर्णाली कलेज अफ हेल्थ साइन्समा बिफार्मा अध्ययनका लागि विश्वविद्यालयबाटै सबै काम सकेर कलेजमा सम्पर्कका लागि गइन् । तर उनलाई कलेजले तत्काल केही गर्न नसक्ने अब अर्को ब्याचसंग मिसाएर मात्र पढाउन सक्ने बताएपछि चकित परेको बताउँछिन् । आफ्ना समस्या लिएर आयोगसम्म पुग्दा पनि चित्त बुझ्दो जवाफ नपाएपछि मानसिक छटपटिमा आफू परेको बताइछिन् । उनी गएको कलेजमा सो विषयका लागि तीन जना विद्यार्थी छनोट भएका छन् । ‘

आयोगले कक्षा सञ्चालनका लागि समय तोकी सक्यो हामीलाई कलेजले अर्को ब्याचसंग मिसाएर पढाउने भन्यो ।’ उनले भनिन्, ‘यही विषय लिएर हामी आयोगमा पनि गयौं १९ गते यता केही गर्न नसक्ने भन्छ तनाव थपिएको छ ।’

छात्रवृत्तिका विद्यार्थीलाई मात्र पढाउन सकिन्नः कलेज

कान्तिपुर एकेडेमी अफ हेल्थ साइन्समा बिपिएचका लागि जम्मा सिट संख्या ४० जनाको तोकिएको छ । त्यसमा १० प्रतिशत छात्रवृत्ति प्रदान गर्दा ४ जनालाई निशुल्क एकेडेमीले पढाउनु पर्छ । अहिले सम्म तिनै छात्रवृत्तिका विद्यार्थी मात्र सम्पर्कमा आएको हुनाले भर्नाका लागि एकेडेमीले सार्वर्जनिक सूचना जारी गर्न सकेको छैन ।

भर्नाका समयावधि १७ गते सम्म छ । अयोगले १९ गतेदेखि कक्षा सञ्चालन गर्न निर्देशन दिइसकेको छ । अन्य विद्यार्थी भर्नाका लागि नआएमा उनीहलाई पढाउन नसक्ने हुँदा भर्नाका लागि विद्यार्थीलाई सूचना जारी नगरिएको प्रशासनका एक कर्मचारीले नाम नलेख्न भन्दै बताए । सबै कलेजको दुर्दशा एउटै छ । कलेजले सञ्चालन गर्दै आएका विषयमा आवश्यक विद्यार्थी नआउँदा अर्को वर्ष एकैपटक मर्ज गर्नुको विकल्प नभएको बताउँछन् ।

क्याम्पसले बद्मासी गर्न पाइँदैनः कोइराला

कलेजले पैसा आउँदैन भनेर डराएर कलेजले पढाउँदिन भनेको हो । यो क्याम्पसको बद्मासी हो । ब्याच मर्ज गरेर विद्यार्थीलाई मारमा पार्न नपाइने शिक्षाविद् प्राडा विद्यानाथ कोराइराला बताउँछन् । ‘यो वर्ष प्रवेश परीक्षा पास भएका विद्यार्थीले यही वर्ष पढ्न पाउनुपर्छ, जालझेल गर्नुहुँदैन ।’ उनी भन्छन्, ‘कलेजले विद्यार्थी कम भए के गर्ने भनेर पहिलानै सोच्नु पर्छ, विद्यार्थीलाई मारमा पार्न पाइँदैन, विनार्सत पढ्न पाउनुपर्छ ।’

सरकारसंग छलफल गर्नुपर्छः माथेमा

प्रवेश परीक्षा, नतिजा प्रकाशन, मेरिट लिष्ट लगायतका काम गर्दा आयोगलाई कम्तीमा पनि ६ महिना लाग्छ । अर्को ब्याचसंग मर्जगर्दा पहिलो प्रवेश परीक्षाको मान्यता रहन्छ कि रहँदैन ? भन्ने विषय प्रमुख विषय हो । आयोगले नतिजा सार्वजनिक गर्दैगर्दा नै थाहा थियो सबै विषयमा सिट अनुसारका विद्यार्थी पास भएका भनेर त्यसैले यो विषयमा सरकारले पहिला नै सोच्नु पथ्र्यो । समयमा बुद्धि नपुगेपछि यो अवस्था सिर्जना भएको शिक्षाविद् केदारभक्त माथेमा बताउँछन् । ‘निजी कलेजलाई दुई तीन जना विद्यार्थीलाई मात्र पढाउन गाह्रो हुन्छ त्यसैले सरकारसंग छलफल गरेर मात्र के गर्ने भन्ने विषयमा अघिढबढ्न उचित हुन्छ ।’ उनी भन्छन्, ‘आवश्यकताका आधारमा मात्र सिट संख्या तोकिनु पथ्र्यो त्यसो भएन त्यसैले ब्याच मर्जभन्दा पनि विकल्पको खोजी गर्नुपर्छ ।’

आयोगले निर्धारण गरेको सिट

एमबिबिएस र बिडिएस पढाई हुने २२ मेडिकल कलेजका लागि एमबिबिएस तर्फ विभिन्न कलेजलाई १८३५ सिट प्रदान गरेको छ । त्यस्तै स्वास्थ्यका अन्य विषय पढाइहुने ७६ कलेजलाई आयोगले सिट संख्या तोकेको हो । जस अन्तर्गत बिएससी नर्सिङ तर्फ ११०० सय, बिएससी एमएलटी तर्फ ४२५, बिएससी एमआइटी तर्फ ७१, बिएससी मेडिकल माइक्रोबायोलोजी तर्फ २०, बिएससी मेडिकल बायोकेमेस्ट्रीलाई २०, बिपिटी तर्फ १५०, बिफार्मा ९०२, बिपिएच १४२०, बिओप्टोमेट्री ६७, बिएनएस ९एम्आईडी० ७०, बिएनएस ११९५, बिडीएस ५६५, बिएएसएलपी ६, बिएएमएस ८०, परफ्यूजन टेक्नोलोजी तर्फ ५ सिट निर्धारण गरेको छ ।

उत्तीर्ण विद्यार्थी 

आयोगले गत साउन २१ गते सार्वजनिक गरेको नतिजामा सिट संख्या १४२० निर्धारण गरिएको बिपिएचको प्रवेश परीक्षामा ५६५ जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । त्यसैगरी ११०० सिट तोकिएको बिएससी नर्सिङमा ५०४ उत्तीर्ण भएका छन् । ९०२ सिट भएको बी फर्मामा ५४७, १५० सिट निर्धारण गरेको बिपीटीमा ११४ , ७१ सिट भएको बिएससी एमआइटीमा ३५ जना मात्रै उत्तीर्ण भएका छन् ।  त्यस्तै, ४२५ सिट तोकिएको बिएससी एमएलटीमा ११८जना मात्रै उत्तीर्ण भएका छन् ।९०२ सिट भएको बी फर्मामा ५४७, १५० सिट निर्धारण गरेको बिपिटीमा ११४ , ७१ सिट भएको बिएससी एमआइटीमा ३५ जना मात्रै उत्तीर्ण भएका छन् ।  त्यस्तै, ४२५ सिट तोकिएको बिएससी एमएलटीमा ११८जना मात्रै उत्तीर्ण भएका छन् ।

भर्नाको अवधि सकिएको छैन

सबै कलेजमा आयोगे पहिला नै सिट संख्या निर्धारण गरिसकेको छ । निर्धारित सिट अनुसार कुन कलेजमा कति विद्यार्थी गए भन्ने विषयमा सबै सूचना आइनसकेको आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरिले बताए । भर्नाका लागि समयवधि आगामी १७ गते सम्म तोकिएको छ । कुन कलेजमा कति विद्यार्थी जान्छन् त्यसको वास्तविक सिनारियो आएपछि मात्र केही भन्न सकिने उनले जानकारी दिए ।

A Levels MA
Thuprai - Books and E-books