Bachelors Portal

एनजी भएकालाई सधैँका लागि बाटो खुला गरिँदै

Managed Admission 2022

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा जतिसुकै विषयमा ननग्रेडेड (एनजी) प्राप्त गर्नेले मौका परीक्षामा सहभागी हुन पाउने गरी सधैँका लागि बाटो खुला गरिने भएको छ ।

लेटर ग्रेडिङ निर्देशिका संशोधनका लागि पाठ्यक्रम विकास केन्द्रले प्रस्ताव तयार गरेको छ । सो प्रस्तावमा एनजी प्राप्त गर्नेले मौका परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था राखिएको छ । यसबाट आगामी वर्षहरूमा समेत जतिसुकै विषयमा एनजी प्राप्त गरे पनि मौका परीक्षामा सहभागी हुने अवसर खुला हुनेछ । यसअघि एकपटकका लागि मौका परीक्षामा सहभागी हुन पाउने भनी शिक्षा मन्त्रालयको धारणा सार्वजनिक भएको थियो तर पछिल्लो प्रस्तावले एकपटकका लागि मात्र नभई आगामी वर्षहरुका लागि पनि बाटो खुला हुने भएको छ ।

पाठ्यक्रम विकास केन्द्रका उच्च सूत्रका अनुसार प्रस्ताव तयार पारिसकिएको र स्वीकृतिका लागि आजै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइँदैछ । शिक्षामन्त्रीले निर्देशिका स्वीकृत गर्नुपर्ने कानुनी व्यवस्था छ । 

२०७८ साल पुस ७ गते स्वीकृत भएको लेटर ग्रेडिङ निर्देशिका सोही वर्षको फागुन १८ गते पहिलो संशोधन भएको थियो । त्यस वर्ष पनि नयाँ व्यवस्थाअनुसार परीक्षा सञ्चालन गर्दा कोभिडले गर्दा विद्यार्थीको सिकाइ राम्रो नभएको भन्दै पाठ्यक्रम कार्यान्वयनसँगै लागू हुने गरी संशोधन गरिएको थियो । आज हुने भनिएको संशोधन दोस्रो हो । 

हालको व्यवस्थाअनुसार सैद्धान्तिकमा न्यूनतम ३५ र आन्तरिकमा न्यूनतम ४० प्रतिशत प्राप्त गरेकै हुनुपर्छ । सो प्राप्त नगर्ने परीक्षार्थीको ग्रेडसिटमा एनजी उल्लेख गर्ने व्यवस्था छ । निर्देशिकाले बढीमा दुई विषयसम्म एनजी उल्लेख भएकाले मौका परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको थियो । एनजी उल्लेख भएकाले तीनवटा परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था रहेको छ । 

बिहीबार सार्वजनिक भएको २०८० सालको एसइईको नतिजाअनुसार एक लाख १५ हजार ८३४ परीक्षार्थीले मौका परीक्षामा सम्मिलित हुन पाउने  थिए । तर बढीको एनजी आएकोले सबैलाई मौका परीक्षामा अवसर दिन निर्देशिका संशोधन गर्न लागिएको हो ।

Select college / campus