A Levels MA

निजी विद्यालयले स्थगित गरेको अनलाइन कक्षा आजबाट सुरु, ६० प्रतिशत विद्यार्थीको पहुँचमा वैकल्पिक शिक्षा

संस्थागत विद्यालयले साउन एक गतेदेखि स्थगित गरिएको अनलाइन कक्षा आजदेखि सुचारु भएको छ ।  सरकारले आफ्नो मागलाई वेवास्ता गरेको भन्दै स्थगित गरिएको अनलाइन कक्षा सरोकारवालको आग्रहमा आजदेखि सञ्चालनमा ल्याएको हो ।

निजी विद्यालयहरुलाई नेपाल अभिभावक संघ, राष्ट्रिय अभिभावक महासंघ इष्टु लगायतका सराकारवाला संस्थाले निजी विद्यालयलाई वैकल्पिक शिक्षण सिकाईका क्रियाकलाप (भर्चुवल, अनलाइन अफलाइन, दूर शिक्षा आदि) सञ्चालन गर्न संयुक्त रुपमा हिजो आग्रह गरेका हुन् ।

कले २०७७ चैत्र ११ गतेवाट जारी लकडाउनको अन्त्य गरेको र शिक्षण संस्थाहरूको विद्यार्थी भर्ना लगायतका कार्यहरू भदौ १ पछि गर्ने भनि आएको निर्णयलाई पुनर्विचारका लागि संयुक्त रुपमा अनुरोध गरिएको हुँदा आजदेखि निजी विद्यालयले वैकल्पिक सिकाइ क्रियाकलापका सम्पूर्ण कार्यक्रम सञ्चालनमा ल्याएको निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का सहअध्यक्ष डिके ढुङ्गानाले जानकारी दिए ।

‘हामीले सबै विद्यालयलाई श्रावण ८ गतेदेखि बैकल्पिक शिक्षण सिकाई क्रियाकलापहरू पुनः सञ्चालन गर्न गराउन सम्पूर्ण भनिसकेका छौं ।’ सहअध्यक्ष ढुङ्गाना भन्छन्, ‘हाम्रो उद्देश्य विद्यार्थीलाई समस्यामा पार्ने होइन हाम्रो समस्याको राज्यले सम्बोधन गरोस् भन्ने मात्र हो ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार नेपालमा ३५ हजार ७२० विद्यालय मध्ये ६ हजार ६८७ संस्थागत विद्यालय छन् । त्यसैगरी शैक्षिक सत्र २०७६ मा कक्षा १ देखि १२ सम्म ७० लाख २१ हजार ६२२ विद्यार्थी अध्ययनरत छन् । यी विद्यार्थी मध्ये करीब ३१ लाख विद्यार्थी निजी विद्यालयमा अध्ययनरत छन् ।

कुल विद्यार्थी मध्ये सहरी क्षेत्रका ९० प्रतिशत र बजार तथा ग्रामीण क्षेत्रका करिब ३० प्रतिशत विद्यार्थीले निजी विद्यालयले सञ्चालन गर्दै आएको अनलाइन कक्षामा सहभागिता जनाउँदै आएका थिए । ‘औसतमा हामी ६० प्रतिशत विद्यार्थीलाई वैकल्पिक माध्यमबाट पढाइ रहेका छौं ।’ सहअध्यक्ष ढुङ्गाना भन्छन्, ‘आजबाट विधिवत रुपमा सुरु गरिएको कक्षा पूर्ण रुपमा सञ्चालनमा आउन भने एकदुई दिन लाग्न सक्छ ।’

Thuprai - Books and E-books