अब कक्षा ९ मा मात्र रजिष्ट्रेसन

माध्यमिक तहका विद्यार्थीले अबदेखि कक्षा ९ मामात्र रजिष्ट्रेसन फाराम भरे पुग्ने भएको छ । यसअघिसम्म कक्षा ९ र ११ मा रजिष्ट्रेसन फारम भर्नुपर्ने वाध्यता थियो । कक्षा ९–१२ लाई माध्यमिक शिक्षाका रूपमा परिभाषित गरिएपछि एउटै तहमा दोहोरो रजिष्ट्रेसन फारम भर्नुपर्ने प्रवृत्तिका बारेमा सरोकारवालाबाट चर्काे विरोध हुँदै आएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले भने, “कक्षा ९ मा भरिएको रजिष्ट्रेसन फारमले कक्षा १२ सम्म काम गर्छ ।” बोर्डले यसबारेमा निर्णय गरिसकेको छ ।

उनले यिनै कुरा व्यवस्थापन गर्न यसपटक कक्षा ९ मा रजिष्ट्रेसन फाराम खुला गर्ने काम केही ढिला भएको बताए । विगतमा असोज\कात्तिकमा नै कक्षा ९ का लागि रजिष्ट्रेसन फाराम खुला गरिन्थ्यो । यसपटक आगामी फागुनको पहिलो सातामा रजिष्ट्रेसन फाराम खुला गर्ने योजना बनाइएको छ ।

बोर्डका अध्यक्ष डा. शर्माले विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउनुपर्ने प्रवृत्तिलाई पनि रोक्न नयाँ व्यवस्था गर्न लागिएको जानकारी दिए । “एसईईको नतिजा सार्वजनिक भइसकेको धेरै समयपछि पनि नाम, थर र जन्ममिति सच्याउन विद्यार्थीहरु धाइरहेका हुन्छन्” उनले भने, “अब त्यस्तो नहोस् भन्नका लागि विद्यार्थीलाई पर्याप्त समय दिनेछौँ । त्यसपछि पनि विद्यालयलाई पनि पर्याप्त समय दिइनेछ । त्यसो हुँदा नाम, थर र जन्ममिति गल्ती हुने प्रवृत्ति निकै कम हुनेछ ।”

उनका अनुसार विद्यार्थीलाई रजिष्ट्रेसन फाराम भर्नका लागि दुई महिनाको समयावधि दिइनेछ । त्यसपछि तीन महिनाको समयावधि विद्यालयलाई दिइनेछ । आगामी असारसम्ममा रजिष्ट्रेसन फाराम विद्यालयले राष्ट्रिय परीक्षा बोर्डमा बुझाइसक्नुपर्ने हुन्छ । “यति समय दिँदा पछि पुनः सच्याउनुपर्ने अवस्था सिर्जना हुनेछैन भन्ने विश्वास छ” बोर्डका अध्यक्ष डा. शर्माले भने, “नाम, थर र जन्ममिति सच्याउँदाको झन्झट विद्यार्थीले भोग्नु नपरोस् भन्ने हो । यसमा विद्यार्थी, अभिभावक र विद्यालय सचेत हुनु जरुरी छ ।” हाल एसईई सकिएको छ महिनाभित्र नाम, थर र जन्ममिति सच्याउन पाउने प्रावधान भए पनि ३०, ४० वर्षअघि एसएलसी परीक्षा दिएकाहरु पनि सच्याउन जाने गरेका छन् । हाल कक्षा ९ र ११ मा रजिष्ट्रेसन फारामवापत पाँच सय रुपियाँ लिने गरिएको छ । अब कक्षा ९ मा मात्र रजिष्ट्रेसन फाराम भर्दा विद्यार्थीलाई पाँच सय रुपियाँ बचत हुन्छ भने सरकारले कम्तीमा करिब २० करोड रुपियाँ राजश्व गुमाउनुपर्ने हुन्छ ।

 

Thuprai - Books and E-books