A Levels MA

लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड

लुम्बिनी वाणिज्य क्याम्पसलाई पुरानै ढाँचामा सञ्चालन गर्नुपर्ने माग राख्दै आएका विद्यार्थीहरुले आज क्याम्पसमा तोडफोड गरेका छन् ।

आफ्ना मागलाई दवावमूलक ढंगले कार्यान्वयन गराउने उद्देश्यका साथ गत साउन ८ गते क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका चार विद्यार्थी संगठनले आज क्याम्पसको लेखा र परीक्षा शाखामा तोडफोड गरेका हुन् ।

सत्ता साझेदार राजनैतिक दलका भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल, विप्लव निकट अखिल क्रान्तिकारी तथा अखिल छैठौंले संयुक्त रुपमा क्याम्पसको पुरानो भवनमा रहेका लेखा र परीक्षा शाखामा तोडफोड गरेका हुन् ।

क्याम्पसमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमबीएस कार्यक्रम हटाएर एमबीएस एफएमबीए बि एफ  कार्यक्रम सञ्चालन गरेको भन्दै आक्रमण गरेको विसंघ क्याम्पस समितिका उपसभापति अशोक गौतमले बताए ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमबीएस एफ र एमबीए एमएफ कार्यक्रम सञ्चालनमा ल्याएर विद्यार्थीलाई आर्थिक भार थपेको भन्दै सर्वसुलभ रुपमा विद्यार्थीले एमबीएस पढ्नपाउनु पर्ने विद्यार्थीहरु बताउँछन् ।

एमबीएस एफ र एमबीए एमएफ कार्यक्रम क्याम्पसले स्वायत्त ढंगले सञ्चालन गर्ने र शुल्क चार गुणा महँगो भएकाले गरीब तथा विपन्न वर्गका विद्यार्थीका लागि एमबीएस कार्यक्रमलाई नै निरन्तरता दिन माग गरिएको विद्यार्थीको दाबी छ ।

निजी क्याम्पसले एमबीएस कार्यक्रमलाई निरन्तरता दिएकाले उनीहरुलाई फाइदा पुर्याउने गरी हटाइएको विद्यार्थी गौतमको धारणा छ ।

‘क्याम्पसको गरीब विद्यार्थीलाई सुपथ शुल्कमा एमबीएस पढ्नबाट वञ्चित गरी निजीमा पठाउने वा महंगो शुल्कमा एमबीएस एफ र एमबीए बि एफ  पढ्न बाध्य पार्ने सुनियोजित चालबाजी भएको अर्का विद्यार्थी सागर बेल्बासेले बताए ।

विद्यार्थीहरुले त्रिविका पुराना पाठ्यक्रम चलाउन र नयाँ थप गरिएका पाठ्यक्रम बन्द गर्न क्याम्पस प्रशासनलाई दवाव दिंदै आएको क्याम्पस प्रशासनले जानकारी दियो ।

त्रिवि स्वायत्ततासम्बन्धी नियम, २०६२, राष्ट्रिय शिक्षा नीति, २०७६, प्रादेशिक शिक्षा ऐनले दिएको अधिकार प्रयोग गरी लुम्बिनी वाणिज्य क्याम्पस मानित विश्वविद्यालयको अवधारणा लिएर अघि बढेको हुँदा क्याम्पसले नयाँ कार्यक्रम भित्र्याएको क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले बताए । ‘राष्ट्र परिवर्तनका लागि स्थानीय परिवेशमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न खाँचो छ त्यसैले नयाँ कार्यक्रम ल्याएका हौं ।’ उनले भने, ‘क्याम्पस २०६६ मा तयार गरेको दीर्घकालीन सोच अनुसार मानित विश्वविद्यालयमा फड्को मार्ने मार्गमा हिडिसकेको छ, अब थप नयाँ पाँचवटा कार्यक्रम सञ्चालनमा ल्याउँदैछौं, नयाँ मार्गमा हिड्छौं, पुरानालाई प्रतिस्थापन गर्छौं ।’

Thuprai - Books and E-books