कानुन पढ्ने विद्यार्थी समसामयिक विषयमा पोख्त हुनुपर्नेः प्रमुख प्रजापति

भक्तपुर नगरपालिकाका प्रमुख एवम् ख्वप मावि र शारदा कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कानुन पढ्न चाहने र कानुन पढिरहेका विद्यार्थीहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा ज्ञान हासिल गरी समाज र देशको हितमा आफूले पढेको ज्ञान सही ढंगले प्रयोग गर्नुपर्ने धारण राखेका छन् ।

कानुन विषयको अध्ययन र यसको महत्व’ विषयक एकदिने अन्तरक्रिया कार्यक्रमलाई आज सम्बोधन गर्दै जुममार्फत उनले यस्ते धारणा राखेका हुन् ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित सो कलेजमा कानुन विषय लिई उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको सो कार्यक्रममा बोल्दै उनले भने, ‘सबै विषय अध्ययन गर्ने विद्यार्थीहरुको लागि कानुनको धेरै महत्व छ, सबै पेसामा पनि कानुनको महत्व उत्तिकै रछ ।’

उनले गलत बाटोमा लागेका व्यक्तिहरुलाई दण्ड सजायँमार्फत सही ठाउँमा ल्याउने काम पनि कानुनले गर्ने हुँदा देशको पक्षमा बोल्ने क्षमतावान अधिवक्ताहरुको खाँचो रहेको औंल्याए ।

शिक्षा क्षेत्रमा भक्तपुर नगरपालिकाको भूमिकाबारे प्रष्ट पार्दै प्रमुख प्रजापतिले नगरपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखी ६ वटा शिशुस्याहार र सातवटा शैक्षिक संस्थाहरु सञ्चालन गरी शिक्षाको माध्यमबाट समाजमा परिवर्तन ल्याउने उद्देश्यका साथ अगाडि बढिरहेको बताए ।

नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले सस्तो र गुणस्तरीय शिक्षाको अवसर देशैभरिका विद्यार्थीहरुलाई प्रदान गरिरहेको बताउदै ख्वप विश्वविद्यालय सञ्चालनको लागि आवश्यक तयारीमा जुटिरहेको जानकारी दिए ।

कार्यक्रममा ‘कानुन शिक्षाको भविष्य र महत्व’ बारे प्रष्ट पर्दौदै संविधानविद् अधिवक्ता डा.भिमार्जुन आचार्यले सबै विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई कानुनको महत्व अपरिहार्य भएको बताए । उनले एउटा व्यक्ति, संस्था र समाज सञ्चालनको लागि कानुनको धेरै ठूलो महत्व रहेकोमा जोड दिए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता सबिता भण्डारीले कानुनको अज्ञानता क्षम्य नहुने धारण व्यक्त गरिन् । कार्यक्रममा ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र कानुन विषयका विभागीय प्रमुख अनिता जधारीले ख्वप कलेज कलेजको स्थापनादेखि हालसम्मको शैक्षिक स्थितिबारे प्रकाश पारेकी थिइन् ।

Thuprai - Books and E-books