After SEE Portal

राजनीतिक दलले नै त्रिविलाई भद्रगोल बनाए, आम माफी माग्नुपर्छ

Bridge Course

त्रिभुवन विश्वविद्यालय ताला–घेरा बन्दीमा परेको लामो समय भयो । त्रिविका विभिन्न पदाधिकारी कार्यकक्षमा लागेका तालाका कारण त्रिविले प्रशासनिक काम शैक्षिक सत्र २०७८ देखि नै गर्न पाएको छैन । एक पक्षले ताला लगाउने अर्को पक्षले फोड्ने । अनि फेरी लगाउने कार्यले गर्दा त्रिवि थलिँदै गएको छ । सिंगो उच्च शिक्षाको ७८ पतिशत दायित्व बोकेको त्रिविलाई सत्ता साझेदार दलकै निकट विद्यार्थी समूह, शिक्षक कर्मचारी समूहले थला पार्दै लगेको विज्ञले गुनासो गरे । त्रिविमा पनि राजनीतिक दलमा जस्तै गुट देखा पर्न थालेको छ । त्रिविका विद्यार्थी तथा शिक्षक नै दुई समूहमा विभक्त छन् । एक समूहले पदाधिकारीको चर्को विरोध र अर्को पक्षले बचाउँ गर्दा समस्या झाङ्गिदै गएको छ ।

त्रिविका उत्पादनलाई  विज्ञताको प्रमाणपत्र दिएर पुनः सोही पाठ्यक्रमबाट प्रश्न सोद्दा १०० मा ५ जनाले पनि ५० नम्बर ल्याउन नसकेपछि शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्रका लागि लिइने परीक्षाको ढाँचा नै परिवर्तन गर्नु परेको तितो यथार्थ हामीसंगै छ । विश्वविद्यालय एकातिर दिनदिनै बेरोजगार युवा उत्पादन गर्ने कारखानाको रुपमा परिणत हुँदै गएको छ भने अर्को तर्फ विश्वविद्यालय राजनीतिक स्वार्थका कारण बन्दक बन्दै गइरहेको छ । एकातर्फ विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री नै छापामार शैलिमा त्रिविका कागजात नियन्त्रणमा लिनेलाई कारबाही गर्न गृहलाई आदेश दिन्छन् भने अर्को तर्फ गृहमन्त्री आफ्नै अराजक झुण्डलाई बचाउँ गर्न सुरक्षित अवतरणमा  जाने सोचले त्रिविका सहकुलपतिलाई समस्याको पोको जिम्मा लगाउने दाउमा गतिविधि सञ्चालन गरिरहेको सरोकारवालाको आरोप छ ।

त्रिविको हालको समस्या बारे अनविज्ञ भने कुलपति, सहकुलपति तथा गृहमन्त्रालय पनि होइनन । सबै विषयमा जानकार हुँदा हुँदै पनि भोलिको राजनीतिक भविष्य र कार्यकर्ताको अराजकतालाई राजनीतिक दलका नेतृत्वले टुलुटुलु हेर्न सिवाय केही गर्न नसक्ने अवस्था सिर्जना भएको छ । त्रिवि बदलिदो मौसम जस्तै छ । एकैछिनमा तालाबन्दी, एकैछिनमा तोडफोड, एकैछिनमा जुत्ताको माला लगाउन पुग्छन् त्रिवि सम्बद्ध  विद्यार्थीको एक झुण्ड । यस्तो गतिविधिले सिंगो शैक्षिक जगतलाई नै भद्रगोल बनाएको शिक्षाविद् प्राडा विद्यानाथ कोइराला बनाउँछन् । ‘दलले मान्छे विभाजन गरे, विभाजित मानसिकता बोकेका विद्यार्थीले नाम र दामका लागि विश्वविद्यालयमा अराजक गतिविधि गर्न थाले ।’ उनले भने, ‘यो समस्या राजनीतिक हो नेतृत्व बसेर छलफल गरेर समस्याको समाधान गर्नुको विकल्प छैन अन्यथा शैक्षिक जगत नै भद्रगोल दिशामा मोडिन्छ ।’

राजनीतिक दलले विद्यार्थीमा ज्ञार्नाजन गर्ने सिप प्रदान गर्नु पर्ने यसको सट्टो तोडफोड र नियन्त्रणको शिक्षा दलले प्रदान गर्दा त्रिविमा कहिल्यौ समाधान नहुने समस्या जन्मिएको छ । त्रिविको समस्या दलकै नेतृत्वले जन्माएको हो । राजनीतिक दलका नेतृत्व आम माफी मागेर  विद्यार्थीलाई तोडफोड तालाबन्दी, घेराबन्दी होइन कृषिमा, स्वास्थ्य, वनमा के गर्दा के गर्दा नाम र दाम कमिन्छ ? त्यो विषयमा सोच्न लगाउनु पर्ने प्राडा कोइरालाको धारणा छ । ‘विद्यार्थीलाई आफूले भाषण गर्ने नारा तय गर्न विश्वविद्यालयमा तालाबन्दी, घेराबन्दी गर्न लगाउनुभन्दा व्यवहारिक सिप कसरी सिक्छन् त्यो प्रशक्षिण दलले दिन जरुरी छ ।’ प्राडा कोइराला भन्छन्, ‘विद्यार्थीको काम पढ्ने हो, काट्ने, कुट्ने काम बन्द हुनुपर्यो यसकालागि दलले माफी माग्दै पर्छ ।’

पूर्व उपकुलपति प्राडा कमलकृष्ण जोशी उच्च शिक्षामा अनावश्यक हस्तक्षेप गर्न नहुने बताउँछन् । राजनीतिक आस्थाको आधारमा एउटा पार्टीले नियुक्ति गर्ने अर्कोले त्यसको विरोध गर्ने सिलसिला जारी नहुँदा सम्म त्रिविको समस्यामा सुधार नहुनेमा पूर्व उपकुलपति प्राडा जोशीले जोड दिए ।

‘अन्य संस्था जस्तो राजनीतिक नियुक्ति गर्ने संस्था नभएको तर अहिले सम्म हस्तक्षेपका आधारमा त्रिवि सञ्चालन भएको हुँदा समस्या ब्युजिरहेको छ ।’ उनले भने, ‘हस्तक्षेप बन्द गर्नुपर्छ, प्राज्ञिक रुपमा सञ्चालन गर्न सुरु गर्नुपर्छ ।’

त्रिविमा कार्यरत प्राध्यापकहरू भने समस्याको पक्ष–विपक्षमा विभाजित बनेको देखिएका छन् । त्रिविमा नेविसंघले गत असार २७ गतेदेखि विभिन्न पादधिकारी कार्यकक्षमा ताला लगाएको छ । कार्यकारी परिषद् बैठकको दस्ताबेज बैठक स्थलबाटै नियन्त्रणमा लिएको छ ।

त्रिविका प्राध्यापक संघ–संगठनहरूले आआफ्नै दल निकट कित्ता रोजेर प्रतिक्रिया दिँदै आएका छन् । माओवादी निकट प्राध्यापकहरूले बन्द र नियन्त्रणले विश्वविद्यालय अस्तव्यस्त भएको भन्दै आएका छन् ।

काङ्ग्रेस निकट प्राध्यापकहरू मौकाको पर्खाइमा बसे जस्तै पदाधिकारी काम गर्न असफल भएको भन्दै विज्ञप्ति प्रकाशन गर्दै आएका छन् ।

नेपाल राष्ट्रिय प्राध्यापक संगठनले विज्ञप्ति जारी गर्दै त्रिविका वर्तमान पदाधिकारीले राजनीतिक नेतृत्वको संरक्षकत्वमा विश्वविद्यालयलाई बन्धक बनाएको भनेका छन् ।

 ‘विश्वविद्यालयका कुनै पनि गतिविधि शैक्षिक गुणस्तर अभिवृद्धिमा केन्द्रित छैनन्, नीतिगत भ्रष्टाचारलाई बढावा दिँदै अपारदर्शी गतिविधि सञ्चालित छ,’ विज्ञप्तिमा भनिएको छ, ‘शैक्षिक क्यालेन्डर लागू हुनुपर्ने, विश्वविद्यालय सभाले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने, परीक्षा व्यवस्थित गर्नुपर्ने, परीक्षामा भएको लापरबाहीको छानबिन गरी कारबाही गर्नुपर्नेलगायतका समस्या समाधान गर्न त्रिवि नेतृत्व असफल भएको छ ।’

संघले विश्वविद्यालयको भौतिक, प्रशासनिक, प्राज्ञिकलगायत पक्ष सुधार गर्न बुझाएको ३३ बुँदे मागको समेत बेवास्ता गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

एमाले निकट प्राध्यापकले भने विद्यार्थी संगठनका नाममा समूहगत रूपमा गरिएको आपराधिक क्रियाकलापले विश्वविद्यालयको शैक्षिक गरिमा गुम्दै गएको आरोप लगाउँदै आएका छन् ।

A Levels MA
Thuprai - Books and E-books