After SEE Portal

नाराबाजीका बीच त्रिविमा पत्रकार सम्मेलन

Bridge Course

‘सर नमस्ते, आजदेखि त्रिभुवन विश्वविद्यालय नआउनुस् है । आजदेखि हाम्रो शान्तिपूर्ण आन्दोलन अशान्तिपूर्ण हुनेछ । नत्र हामी जिम्मेवार हुनेछैनौँ’ त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटालाई मोबाइल फोनमा आएको म्यासेज । त्रिविले आज विहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो म्यासेज सुनाए ।

“हामी विद्यार्थी हुँदा उपकुलपतिलाई वर्षमा दुई पटकमात्र हेर्न पाउँथ्र्याैँ” उनले भने, “अब त विद्यार्थीले मोबाइलमै धम्कीपूर्ण सन्देश पठाउन थाले ।”

लगातार २९२ दिनसम्म त्रिवि पदाधिकारीको कार्यकक्षमा लगाइएको तालाबन्दीलाई अनेरास्ववियुले खोलेपछि पुनः गत असार २७ गतेबाट तालाबन्दी जारी छ । पत्रकार सम्मेलनमा त्रिवि उपकुलपतिले पटक पटक नेपाल विद्यार्थी सङ्घको नाम लिँदै सो सङ्गठनका ‘जत्था’हरुले तालाबन्दी गरेको गुनासो पोखिरहे ।

उनले नेविसङ्घले उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेको, कालो ब्यानर टाँगेको, कुर्सी जलाएको बताउँदै भने, “उनीहरुको देखाउने एउटा र भित्र अर्काे माग हुने रहेछ । माइन्युट पनि खोसेर लिएर गए । प्रधानमन्त्री शेरबहादुर देउवालाई यस बारेमा जानकारी गरायौँ । उहाँले ताला फोडेर काम गर्नुस् भन्नुहुन्छ तर हामी आफैँले ताला फोड्ने कुरा आउँदैन । गृह मन्त्रालयलाई पटक पटक जानकारी दिएका छौँ । तर सहयोग पाएका छैनौँ ।”

उनले एक विभागीय प्रमुखलाई चन्दा नदिइए ज्यान मार्ने धम्की दिइएको समेत दावी गरे । ती विभागीय प्रमुखले पदबाट राजीनामासमेत दिएको बताए । समाजशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख नियुक्त गरेको विरोधमा उपप्रध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुने गरी कुटेको बताए । पत्रकार सम्मेलनमा उपस्थित उपप्राध्यापक चलाउनेले आफूलाई कुट्ने समाजशास्त्रका विद्यार्थी नभई बाहिरबाट ल्याइएकाहरु थिए भने ।

कीर्तिपुरस्थित त्रिवि स्मृतिभवनमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलन सुरक्षाकर्मीको घेरामा गरिएको थियो । पत्रकार सम्मेलनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएका थिए । पत्रकार सम्मेलन हुँदै गर्दा विद्यार्थीहरुको एक समूहले नाराबाजी गर्नुका साथै ढुङ्गा प्रहार गरेका थिए । सो क्रममा एक प्रहरी अधिकृतको टाउकोमा ढुङ्गा लागि घाइते भएका थिए । पत्रकार सम्मेलन हुँदै गर्दा त्रिविका उपकुलपतिले पत्रकारहरुलाई भवन बाहिरको अवस्था तनावपूर्ण भएकाले केही बेर बाहिर नजाने अनुरोध गरेका थिए ।

A Levels MA
Thuprai - Books and E-books