After SEE Portal

एसईईका परीक्षार्थीलाई निःशुल्क सेनेटरी प्याड, कलम र मास्क

Bridge Course

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रवेशिका परीक्षा (एसईई)का परीक्षार्थीहरुका लागि सेनिटरी प्याड, कलम र मास्कको व्यवस्था गरिने भएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइले सो व्यवस्था गरेको हो । परीक्षाका बेला विद्यार्थीलाई मानसिक तनाव नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरेको एकाइले जनाएको छ ।

एकाइ प्रमुख कृष्णचन्द्र पोखरेलले परीक्षा केन्द्रलाई बालमैत्रीपूर्ण बनाउने उद्देश्यले न्यूनतम आवश्यकताका साधन उपलब्ध गराउन लागिएको बताए । उनका अनुसार महिनावारी भएका छात्रालाई निःशुल्क प्याड, रुघा खोकी लागेका विद्यार्थीलाई मास्क र लेख्दालेख्दै कलमको मसी सकिएमा वा बिग्रिएमा कलम उपलब्ध गराउने व्यवस्था गरिँदैछ ।

एकाइले प्याडका लागि स्थानीय जागृति बाल तथा युवा सरोकार नेपालसँग आग्रह गरेपछि ४० हजार रुपियाँ बराबरको महिनावारी प्याड प्राप्त गरेको छ । हरेक छात्रालाई सरदर दुईवटा पुग्ने गरी महिनावारी प्याड व्यवस्था गरिएको छ ।

त्यस्तै पुस्तक तथा स्टेसनरी महासंघ नवलपुरले १५ हजार रुपियाँ बराबरको कलम र रोटरी क्लब कावासोतीले २० हजार रुपियाँ बराबरको मास्क उपलब्ध गराएको छ । एकाइ प्रमुख पोखरेलले कुल परीक्षार्थीको ३८ प्रतिशतलाई पुग्ने गरी कलम र आठ प्रतिशतलाई पुग्ने गरी मास्कको व्यवस्था गरिएको जानकारी दिए । "बजारमा मास्क धेरै खोजी गर्यौँ । तर उपलब्ध हुन सकेन । सबै परीक्षार्थीलाई अनिवार्यरूपमा मास्क लगाउन भनेका छौँ । कसैकसैले बिर्सिएको वा किन्न नसकेको अवस्था पनि रहन्छ । उनीहरुका लागि परीक्षा केन्द्रमा नै मास्क उपलब्ध हुने छ" उनले भने ।

चैत ६ गतेबाट सञ्चालन हुने यस वर्षको एसईई परीक्षामा नवलपुर केन्द्रमा २५ परीक्षा केन्द्र कायम गरिएको छ । उत्तिनै संख्यामा केन्द्राध्यक्ष, ४४ जना सहायक केन्द्राध्यक्ष, ३३० जना परीक्षा सहायक, ६६ जना कार्यालय सहयोगी १३३ र सुरक्षाकर्मी २५० जना परिचालित गरिने भएको छ । नियमिततर्फका छ हजार ४६५ र एक्जाम्टेडतर्फका ११० गरी कुल छ हजार ५७५ जना परीक्षार्थी रहनेछन् । तीमध्ये छात्रा तीन हजार ३३६ रहेका छन् । 

 

A Levels MA
Thuprai - Books and E-books