बारबर्दिया नगरपालिकाका शिक्षा प्रमुखलाई पाँच प्रश्न

टेकप्रसाद पाण्डे

शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख

बारबर्दिया नगरपालिका, बर्दिया

१. सङ्घीयताको कार्यान्वयनपछि शिक्षा क्षेत्रलाई कसरी मूल्याङ्कन गर्नु भएको छ ?

देश विकासको मूल आधार शिक्षा हो । शिक्षाको विकास विना सम्वृद्धि सम्भव हुँदैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश र गतिलाई ध्यान दिँदै शिक्षालाई गति दिन आवश्यक छ । सङ्घीयताको कार्यान्वयनपछि जुन आशाले शिक्षामा विकासको अपेक्षा थियो सोअनुसार गति लिन सकिरहेको छैन । तिनै तहका सरकारको शिक्षामा निर्वाह गर्नुपर्ने भूमिका संविधानमा व्यवस्था भएअनुसार स्पष्ट पार्न सकिएको छैन । विद्यालय तहको शिक्षा व्यवस्थापनको मूल कानुन शिक्षा ऐन बन्न सकिरहेको छैन जसबाट विद्यालय तहका शिक्षा व्यवस्थापनका धेरै पक्ष अलमलिएका छन् । विद्यालय तहको शिक्षाको प्रमुख पक्ष शिक्षकको सेवा कुन तहमा रहने स्पष्ट छैन । शिक्षकको पेशागत विकासको समय सापेक्षरुपमा गति दिन योजना छैनन् । समग्रमा शिक्षा निर्वाहमुखी ढङ्गले चलिरहेको अनुभूति छ ।

२. शिक्षालाई हाक्न सबैभन्दा समस्या कहाँ छ ?

विद्यालय तहको शिक्षालाई समयअनुसार गति दिन नसक्नुको मुल कारण केन्द्रिकृत शासन शैलीको प्रयोगले निरन्तरता पाउनु हो । सङ्घीय शासनको मोडेलमा शिक्षा व्यवस्थापनलाई कार्यान्वयनमा ल्याउन खोजिएको छैन । तिनै तहको सरकारको कार्य क्षेत्र फरक फरक भनिए पनि तल्लो तहबाट गर्नुपर्ने काम केन्द्रबाटै हुने गरेको देखिन्छ । उदहारणको लागि विद्यालय भवन निर्माणको कोटा केन्द्र, प्रदेश र स्थानीय तीनै तहबाट वितरण गर्ने चलन छ । आवश्यकता र प्रथामिकता देख्ने तहको स्थानीय तहलाई मात्र हुनु पथ्र्यो । विद्यालयको भौतिक सुधारका पक्ष हेर्ने जिम्मेवारी स्थानीय तहको हुनु पर्दछ । समयमै शिक्षा ऐन आउन नसक्नु पनि शिक्षा विकासको गति नलिने अर्को प्रमुख कारण रहेको छ ।

३. यस अवधिमा यहाँले गर्नुभएको नयाँ वा फरक कार्यहरु के के होलान् ?

बारबर्दिया नगरपालिका बर्दिया जिल्लाको ग्रामीण वस्तीको नगरपालिका हो । यस नगरपालिकालाई निःशुल्क तथा अनिवार्य आधारभुत शिक्षा सुनिश्चितता भएको पहिलो नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका सबै विद्यालयमा नगरपालिकाले आन्तरिक दरबन्दी मिलान गरी तहगत स्थायी शिक्षकलाई प्रधानाध्यापकमा जिम्मेवारी दिइएको छ । प्राविधिक शिक्षाको विकासलाई जोड दिन नगरपालिकाबाट प्राविधिक शिक्षालय स्थापना र सञ्चालन गरिएको छ । विद्यालयहरुमा विद्यार्थी सङ्ख्याको आधारमा स्वीकृत दरबन्दी अति न्यून भएको कारणबाट नगरपालिकाबाट ११३ जना नगर शिक्षकको व्यवस्था गरिएको छ । विद्यालयमा शिक्षण सिकाइलाई सूचना र प्राविधिमैत्री बनाउन आवश्यक स्रोत साधनको व्यवस्था गरिएको छ । असाहय बालबालिकालाई शैक्षिक सुनिश्चितताको लागि असाहय बालबालिका संरक्षण केन्द्र सञ्चालन गरिएको छ ।

४. पालिका जनप्रतिनिधि र कर्मचारी संयन्त्रबीच शिक्षालाई अगाडि बढाउनका लागि कसरी सहकार्य गर्नु भएको छ ?

स्थानीय तहमा काम गर्ने कर्मचारीहरु जनप्रतिनिधिहरुसँग प्रत्यक्ष सम्पर्क र समन्वयमा रहिरहनु पर्ने हुन्छ । स्थानीय तहमा नीति तथा कार्यक्रम निर्माण तथा कार्यान्वयनमा जनप्रतिनिधिसँग प्रत्यक्ष समन्वय भइरहेको हुन्छ । शिक्षाका स्थानीय समस्य तथा चुनौतीलाई सामना गर्नु पनि जनप्रतिनिधिसँग समन्वय हुन आवश्यक छ । बारबर्दिया नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच राम्रो समन्वय रहेको छ । त्यसै कारण यस नगरपालिकाले केही राम्रा असल अभ्यासहरु गर्दै शिक्षा विकासमा अघि बढिरहेको छ ।

५. शिक्षा विकास तथा समन्वय एकाइको औचित्य देख्नु भएको छ ?

शिक्षा विकास तथा समन्वय एकाइको अहिलेको कार्यक्षेत्र शुद्ध परीक्षा र शिक्षक नियुक्ति बढुवा सरुवासम्बन्धी काम मात्रलाई यो कार्यालय आवश्यक छैन । त्यो कार्यालयलाई राख्ने नै हो भने शिक्षक तालिम तथा क्षमता अभिवृद्धिका कार्य थपिनु आवश्यक छ जुन अहिले सीमित मात्रामा प्रदेशले चलाइरहेको छ ।

Thuprai - Books and E-books